नेभिगेसन मेनु

हिंसाग्रस्त सुडानको खार्तुममा २१ नेपाली, उद्धारमा कठिनाइ
सम्पादक:南亚网络电视
समय:2023-04-26 12:33

230420124512-sudan-unrest-230420

गत २ वैशाखदेखि सेना र अर्धसैनिक बलबीच भिडन्त हुँदै आएको सुडानको खार्तुममा २१ नेपाली भेटिएका छन् । रोजगारीका सिलसिलामा त्यहाँ पुगेका उनीहरूले उद्धारका लागि आग्रह गरेका छन् । विभिन्न कम्पनी र फ्याक्ट्रीमा काम गर्ने सिलसिलामा उनीहरू सुडान पुगेका हुन् ।

सोमबारसम्म १९ जना सम्पर्कमा आएकोमा मंगलबार थप दुई इजिप्टको कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका हुन् । संयुक्त राष्ट्रसंघीय मिसनमा काम गर्ने ६ जना सुरक्षा अधिकारी तथा राष्ट्रसंघीय नियोगमा काम गर्ने नेपालीबाहेक २१ जनाको सूची दूतावासले तयार गरेको छ । राष्ट्रसंघले आफ्ना कर्मचारी रहेका नेपालीलाई उद्धार थालेको छ । 

सुडान मामिलासमेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल भन्छन्–

अहिलेसम्म २१ नेपाली सम्पर्कमा आउनुभएको छ । उहाँहरूले सुरक्षित अवस्थामा छौँ भन्ने जानकारी दिनुभएको छ । नेपाली कार्यरत रहेका कम्पनीका जिम्मेवार अधिकारीसँग हामी सम्पर्कमा छौँ । नेपालीलाई पोर्ट सुडानसम्म पुर्‍याइदिन आग्रह गरेका छौँ । पोर्ट सुडानबाट साउदी अरब लैजान भिसा सहजीकरणका लागि साउदी अरबले सहयोग गर्ने वचन दिएको छ ।

‘अहिलेसम्म २१ नेपाली सम्पर्कमा हुनुहुन्छ । उहाँहरूले सुरक्षित अवस्थामा छौँ भन्ने जानकारी दिनुभएको छ,’ सुडान मामिलासमेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले टेलिफोनमा भने । चार समूहमा बाँडिएर रहेका उनीहरूले बाहिर निस्किने चाहना व्यक्त गरेको र उद्धारका लागि सबै प्रकारको प्रयास भइरहेको लम्सालले बताए । 

‘नेपाली कार्यरत रहेका कम्पनीका जिम्मेवार अधिकारीसँग हामी सम्पर्कमा छौँ । नेपालीलाई पोर्ट सुडानसम्म पुर्‍याइदिन आग्रह गरेका छौँ,’ राजदूत लम्सालले भने । सुडानको द्वन्द्वग्रस्त खार्तुमबाट पोर्ट सुडानको दूरी आठ सय ३५ किलोमिटर छ । सुरक्षालगायतका कारण त्यहाँसम्म पुग्न बसमा करिब ३६ घन्टा लाग्ने गरेको छ । 

पोर्ट सुडानसँग साउदी अरबको जेद्दा जोडिएको छ । नेपालीलाई पोर्ट सुडानबाट जेद्दा जाने व्यवस्थाका लागि नेपालले साउदी अरेबियासँग पनि कुराकानी गरेको छ । ‘पोर्ट सुडानबाट साउदी अरब लैजान भिसा सहजीकरणका लागि साउदी अरबले सहयोग गर्ने वचन दिएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने।

सेनाले ‘कु’ गरेर सत्ता हातमा लिएपछि सुडान अशान्त छ । सेना र अर्धसैनिक बलबीच विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै दुवै पक्ष आपसी हिंसामा उत्रेका छन् । त्यहाँको द्वन्द्वको असर दक्षिण सुडानमा पनि पर्न सक्ने आकलन भइरहेको छ । दक्षिण सुडानमा एक हजार सात सय ५८ नेपाली सैनिक संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयले विकसित जटिल सुरक्षा अवस्थालाई लिएर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि उच्च सतर्कताका साथ सबै पक्षसँग समन्वय गरी आवश्यक प्रयास जारी राखेको जनाएको छ । सुडानमै रहेका नेपालीलाई संयमित रहन र अत्यावश्यक काममा बाहेक बाहिर हिँडडुल नगर्न आग्रह गरेको छ । 

नेपाली सुरक्षा अधिकारी बाहिरिए

खार्तुमस्थित युनाइटेड नेसन्स इन्टिग्रेटेड ट्रान्जिसन एसिस्टेन्स मिसन इन सुडान (युनिटाम्स)मा स्टाफका रूपमा कार्यरत नेपाली सुरक्षाकर्मी त्यहाँबाट बाहिरिएका छन् । सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीका अनुसार युनिटाम्स मिसनअन्तर्गत सुडानको अल जनिनामा कार्यरत एकजना प्रमुख सेनानी र दुईजना प्रहरी निरीक्षक सोमबार बिहान खार्तुमबाट चाड पुगेका छन् । 

त्यस्तै, खार्तुमबाट दुईजना प्रहरी निरीक्षक पोर्ट सुडान पुगेका छन् । एकजना प्रमुख सेनानी न्यालाला भन्ने ठाउँबाट दक्षिण सुडान पुगेका छन् । ‘संयुक्त राष्ट्रसंघको योजनाअनुसार ६ नेपाली सुरक्षा अधिकारीहरू सुरक्षित ठाउँमा पुग्नुभएको छ,’ प्रवक्ता भण्डारीले भने । सुडानको खार्तुममा नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरीका एकजना स्टाफका रूपमा कार्यरत थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर