नेभिगेसन मेनु

बेइजिङतिर लम्कँदै ब्राजिल
सम्पादक:南亚网络电视
समय:2023-04-04 12:56

thumb

काठमाडौँ — ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई निमोनिया नभएको भए उनी चीन भ्रमण गरेर स्वदेश फर्किसकेका हुन्थे । तर भ्रमणको पूर्वसन्ध्यामा निमोनिया भएपछि बेइजिङ भ्रमण स्थगित भयो र नयाँ भ्रमणको मिति सार्वजनिक गरियो ।

सबै कुरा ठिकठाक भए अब ७७ वर्षीय लुला चैत २८ देखि वैशाख १ सम्म बेइजिङमा हुनेछन् । विश्वमा अहिले अमेरिका र चीनको प्रतिस्पर्धा चलिरहेका बेला चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा ब्राजिलका राष्ट्रपति लुलाको बेइजिङमा हुन लागेको भ्रमणलाई लिएर चर्चा हुन थालेको छ ।

दोस्रो पटक दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र बलियो मुलुकको नेतृत्व गरेका लुला वर्कर्स पार्टीका हुन् । वर्कर्स पार्टी अर्थात् मजदुरहरूको दलका नेता । उनको पार्टीलाई सेन्ट्रल लेफ्ट भनिन्छ । अमेरिकी नेतृत्वको पश्चिमा शक्तिहरूभन्दा उक्त पार्टीको झुकाव चिनियाँ नेतृत्वको कम्युनिस्टमा देखिन्छ । यही पार्टीबाट जितेर सन् २००३ देखि सन् २०१० सम्म दुई कार्यकाल लुला राष्ट्रपति भएका थिए । सन् २०१० देखि सन् २०१४ सम्म उनले आफ्नै पार्टीकी नेतृ डिल्मा रुसेफलाई राष्ट्रपति बनाएका थिए ।

स्टिल फ्याक्ट्रीमा काम गर्दै मजदुर आन्दोलनमा लागेका लुला पछि मुलुककै नेतृत्व गर्न आइपुगे ।

अघिल्लो कार्यकाल ८ वर्ष आफू र त्यसपछि ४ वर्ष आफ्नै वर्कर्स पार्टीले सरकार चलाएको थियो । करिब २१ करोडभन्दा बढी जनसंख्या भएको मुलुकमा राजनीतिक अस्थिरता, भ्रष्टाचार र अपराधलाई नियन्त्रण गर्न नसकेपछि लुलाको पार्टी र सरकार अलोकप्रिय बन्यो । तर सन् २०१९ को जनवरीदेखि सन् २०२२ को अन्त्यसम्म सरकारको नेतृत्व गरेको दक्षिणपन्थी दल सोसल लिभरल पार्टी र राष्ट्रपति जइर बोल्सोनारोले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिन नसकेको तथा कोभिड–१९ को दौरान उचित सतर्कता अपनाउन नसकेपछि फेरि वर्कर्स पार्टी सरकारमा आउने मौका पायो ।

बोल्सोनारोको गलत निर्णय र क्रियाकलापका कारण सत्ताको नेतृत्व गरेको १२ वर्षपछि फेरि लुला गत जनवरीमा फेरि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न आइपुगे । पश्चिमा मुलुकसँग नजिक रहेका बोल्सोनारोले कोभिड महामारीलाई सहजै लिए । उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जस्तै महामारीलाई मजाक बनाए र हजारौं जनताको ज्यान गयो । पछि आफैंलाई कोभिड संक्रमण भएपछि मात्रै उनले खोप लगाएका थिए ।

ब्राजिल क्षेत्रफलको हिसाबमा विश्वको पाँचौं ठूलो मुलुक हो । चिली र इक्वेडरबाहेक ब्राजिलको हरेक दक्षिण अमेरिकी मुलुकसँग सीमा जोडिएको छ । पोर्चुगलको उपनिवेश मुलुक ब्राजिलको दक्षिणमा उरुग्वे, दक्षिण–पश्चिममा अर्जेन्टिना, पाराग्वे र बोलिभिया, पश्चिममा पेरु, उत्तर–पश्चिमा कोलम्बिया तथा उत्तरमा भेनेजुएला, गुयना, सुरिनाम र फ्रेन्च गुयाना छन् । ब्राजिल अब विश्वको आठौं ठूलो अर्थतन्त्रको देश भएको छ । प्राकृतिक स्रोत र साधनले धनी ब्राजिल ब्रिक्सको सदस्य मुलुक हो । ब्रिक्समा उदाउँदा ठूला अर्थतन्त्र भएका मुलुक चीन, भारत, रुस, दक्षिण अफ्रिका र ब्राजिल छन् । अन्तरसरकारी संस्था ब्रिक्स अघि बढेकामा पश्चिमाहरूले मन पराएका छैनन् । जुन हिसाबमा ब्रिक्सले काम गरी अघि बढ्नुपर्ने हो त्यो हुन पनि सकेको छैन । किनकि ब्रिक्सका दुई सदस्य मुलुक भारत र चीनबीच सुमधुर सम्बन्ध छैन । चीनले ब्रिक्सलाई जोड दिँदै सन् २०१४ मा न्यु डेभलपमेन्ट बैंकको स्थापना गरिएको थियो ।

ब्राजिलका लागि नेपालका पूर्वराजदूत प्रद्युम्नविक्रम शाह ब्राजिलमा अमेरिका र चीनको द्विपक्षीय प्रतिस्पर्धा भइरहेको मान्छन् । ‘एकातर्फ अमेरिकी प्रभाव बढ्दो छ भने अर्कोतर्फ ब्रिक्समार्फत चीनले आफ्नो प्रभाव बनाउन चाहेको देखिन्छ,’ उनले भने, ‘ब्रिक्सको अर्थतन्त्र जोड्यो भने अमेरिकाको भन्दा बढी हुन्छ । सन् २०४० सम्ममा ब्रिक्स नै संसारको सबैभन्दा ठूलो अर्थतन्त्र हुन्छ । यसका अन्य सदस्य भारत र रुसको पनि अर्थतन्त्र बढ्दो छ ।’

भूराजनीतिक जानकार तथा अवकाशप्राप्त उपरथी पूर्ण सिलवालले ल्याटिन अमेरिकाका केही मुलुक पछिल्लो समय चीनसँग नजिक भइरहेका र त्यसमा ब्राजिल पनि एक रहेको बताए । ‘अमेरिकासँग बोर्डर जोडिएको मेक्सिको पनि ब्रिक्समा आउने हल्ला चलिरहेकै छ । विश्वमा विभिन्न ध्रुवीकरण भइरहेका बेला होन्डुरसले पनि चीनसँग सम्बन्ध बढायो । अहिले विश्वभर कुन गठबन्धनमा लाग्ने भन्ने भइरहेको छ,’ उनले भने, ‘ब्राजिल ब्रिक्समा पहिलेदेखि नै थियो । राष्ट्रपति लुलाले अहिले भ्रमण गर्नुचाहिँ ब्राजिलले चीनसँग सम्बन्ध प्रगाढ बनाउन लागेको हो कि जस्तो देखिन्छ ।’

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पुनःसंरचना गरेर थप केही मुलुकलाई स्थायी सदस्यता दिने भन्ने चर्चा चलिरहेको छ । यसमा चार मुलुकले दाबी गरिरहेका छन् । त्यसमा ब्राजिल, भारत, जापान र जर्मनी पर्छन् । त्यसका साथै अफ्रिकी महादेशबाट पनि सुरक्षा परिषद्को स्थायी सदस्य हुनुपर्ने आवाज उठिरहेको छ । पूर्वराजदूत शाह भने नेपालले ब्राजिलसहित चार मुलुक र थप अफ्रिकी मुलुक पनि हुनुपर्ने कुरालाई जोड दिएको बताउँछन् । राष्ट्रपति लुलाको चीन भ्रमण तयारीलाई वर्कर्स पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सहकार्य मान्न सकिने उनको भनाइ छ । सन् २०१० को जनवरीदेखि २०१४ अप्रिलसम्म राजधानी ब्रासिलियामा राजदूत भएर बसेका शाहका अनुसार चीनसँग ब्राजिलको व्यापार घाटा छैन, यसर्थ पनि सम्बन्ध सुमधुर छ । ‘चीनले ब्राजिलबाट कच्चा पदार्थ लान्छ र सामान बनाएर निर्यात गर्छ,’ उनले भने ।

ब्राजिल संसारमा सबैभन्दा बढी पानी भएको मुलुक हो । अमेजन जंगल र यही जंगलबाट बग्ने ठूलो नदी अमेजन यहीं पर्छ । ब्राजिलले मुलुकभित्र मात्र होइन, दक्षिण अमेरिकाका अन्य मुलुकमा समेत हाइड्रोपावर निर्माणलाई तीव्रता दिएको छ । कुनै समय ब्राजिलले पनि नेपालमा हाइड्रोमा लगानी गर्न चाहेको थियो तर त्यो सम्भव हुन सकेन । ब्राजिलको ब्रास पावर कम्पनी अरुण तल्लो निर्माणका लागि आएको थियो । लाइसेन्स पनि पायो । ‘पछि नेपाल सरकारले ब्राजिललाई उक्त हाइड्रो निर्माण गर्नबाट वञ्चित गरिदियो,’ पूर्वराजदूत शाहले भने, ‘ब्राजिलले आफ्नो देशमा मात्र होइन, दक्षिण अमेरिकाका अन्य मुलुक चिली, अर्जेन्टिनालगायत मुलुकमा हाइड्रो निर्माण गरिरहेको छ । ब्राजिलियन कम्पनी नेपालमा आएको भए हामीले त्यसबाट सिक्न सक्थ्यौं ।’

चीनको राष्ट्रपतिमा तेस्रो पटक निर्वाचित भएपछि सीले रुसको भ्रमण गरिसकेका छन् भने आफ्नै सक्रियतामा पश्चिम एसियाका दुई पुराना शत्रु मुलुकहरू इरान र साउदी अरबबीचको सम्बन्धलाई जोडिदिएका छन् । पश्चिम एसियाका शान्ति यात्रामा योगदान र रुस जानुअघि युक्रेन–रुस युद्धको १२ बुँदे प्रस्ताव लिएर सीले अमेरिकी प्रभावलाई कमजोर गर्न खोजेका छन् । सी सत्तामा आएपछि आक्रामक विदेश नीति अपनाइरहेको बेइजिङले ब्राजिलका राष्ट्रपति लुलाको यो भ्रमणमा कस्तो सम्झौता गर्छ भन्ने चासोको विषय बनेको छ ।

पछिल्लो समय अमेरिकी डलरलाई पाखा लगाएर रुस–चीन, चीन–ब्राजिल, चीन–इरानलगायतले युआनलाई अघि बढाउन थालेका छन् । यसले सोभियत संघको पतनपछि बनेको एकल ध्रुवपछि बहुध्रुवीय विश्व बन्न पुगेको छ । अमेरिकी डलरलाई छाडेर अन्य मुलुकका मुद्रालाई ‘डि–डलराइजेसन’ गर्न खोजिएको छ । लुलाको यो भ्रमणमा यस विषयमा थप गृहकार्य हुने अनुमान गरिएको छ । बदलिँदो भूराजनीतिक अवस्थामा ब्राजिलले चीनसँगको सम्बन्धलाई बढाउँदै आफ्नो फाइदाका लागि गृहकार्य गरिरहेको छ ।

अर्का भूराजनीतिक जानकार तथा अवकाश प्राप्त उपरथी विनोज बस्न्यात ब्राजिलका राष्ट्रपति लुलाको भ्रमण मात्र नभएर चीनले पश्चिम एसियामा इरान र साउदीबीचको समस्या समाधान तथा पश्चिमाले इजरायलका लागि उक्त क्षेत्रमा बनाएको सुरक्षा वातावरणमा फरक देखिएको बताउँछन् । ‘चीनले अब सांघाई कोअपरेसन अर्गनाइजेसनमा पश्चिम एसियाको साउदीलाई पनि भित्र्याएको छ । साथमा सीले रुसको भ्रमण गरेर मिलेर अघि बढ्ने सहमति गरिसकेका छन् । अर्कोतर्फ रुस, ब्राजिल र चीन मिलेर आएमा भारत पनि त्यो समूहमा जानका लागि बाध्य हुन सक्छ,’ उनले भने, ‘अब उनीहरूले अमेरिकी डलरबिना नै विश्वमा व्यापार गर्ने अभियान चलाइरहेका छन् । डलर प्रयोग नभएर अन्य वैकल्पिक मुद्रा आएमा विश्व व्यवस्था र हालसम्मको आर्थिक व्यवस्थामा ठूलो धक्का हुन जान्छ ।’

नेपाल साइनो

नेपाल र ब्राजिलबीचको हवाई दूरी १५ हजार २ सय ३८ किलोमिटर छ । फरक महादेश र लामो दूरीका बाबजुद नेपाल र ब्राजिलबीच सन् १९७६ फेब्रुअरी ७ मा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । तर दूतावास खोल्न भने लामो समय लाग्यो । नेपालले सन् २०१० को जनवरी २१ मा ब्रासिलियामा दूतावास खोलेको थियो । ब्रासिलिया पुग्ने पहिलो राजदूत शाह नै हुन् । उनले सन् २०१० मा ओहदाको प्रमाणपत्र बुझाउँदा लुला नै राष्ट्रपति थिए । स्पेनी भाषा बुझ्ने लुलासामु स्पेनी भाषामै शाहले छोटो कुराकानीमा भनेका थिए, ‘म यति टाढाबाट यहाँ आएको छु । अब तपाईं पनि नेपालमा दूतावास खोल्नुहोस् ।’ त्यसपछि ब्राजिलले नेपालमा सन् २०११ सेप्टेम्बर ३० मा दूतावास खोल्यो । शाहकै कार्यकालमा नेपाल र ब्राजिलबीच तीन क्षेत्रमा सम्झौता भयो । सन् २०११ मा प्राविधिक सहयोग, कूटनीतिक र आधिकारिक राहदानीकर्तालाई भिसा छुट तथा द्विपक्षीय परामर्श संयन्त्रको स्थापनासम्बन्धी सम्झौता भए ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई सन् २०१२ जुन २० देखि २२ सम्म रियो दि जेनेरियोमा आयोजना भएको दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन रियो प्लस २० मा सहभागी हुन ब्राजिल पुगेका थिए । सोही वर्ष जनवरीमा नेपाल र ब्राजिलका परराष्ट्र मन्त्रालयबीच ब्रासिलियामा भएको द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा सहभागी हुन तत्कालीन परराष्ट्र सचिव शंकरदास वैरागी ब्राजिल पुगेका थिए । यस्तै, ब्राजिलको विदेश मन्त्रालयका एसियाली मामिलाका उपमहासचिव मारिया एडिलेउजा फेन्टेनेले रेइसले सन् २०१२ अप्रिल १ देखि ३ सम्म नेपाल भ्रमण गरेकी थिइन् ।

ब्राजिलका संघीय सांसद क्रिस्टोभम बुवार्क मार्च २०१५ मा बाल अधिकार सम्मेलनमा सहभागी हुन नेपाल आएका थिए । त्यसअघि सन् १९९२ को जुन ३ देखि १४ सम्म रियो दि जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुगेका थिए । यस्तै, तत्कालीन स्वास्थ्यमन्त्री शरतसिंह भण्डारीले सन् २००२ जनवरी २९ देखि ३१ सम्म ब्राजिलको भ्रमण गरेका थिए भने तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले २०११ अगस्ट १३ मा ब्राजिलको भ्रमण गरेका थिए ।

ब्राजिलबाट हामीले जति फाइदा लिनुपर्ने हो त्यो लिन नसकेको पूर्वराजदूत शाहको भनाइ छ । उनले ऊर्जा क्षेत्रमा नेपालले ब्राजिलबाट सिक्न र लिन सक्ने सहयोग लिन नसकेको बताए । ‘मेरो कार्यकालमा ब्राजिलबाट कुखुराको मासु सस्तोमा निर्यात गर्न लागेको थिएँ तर नेपालका ह्याचरी व्यवसायीले विरोध गरेपछि त्यो काम छाडिदिएँ,’ उनले भने, ‘ब्राजिल हरेक हिसाबमा धनी मुलुक हो, व्यवस्थापन राम्ररी नभएको मात्र हो । नेपालले ब्राजिलसँगको सम्बन्धलाई थप मजबुत बनाउनुपर्छ । किनकि अब ब्राजिल अन्तर्राष्ट्रिय रूपमा पनि थप बलियो हुँदै छ ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर