नेभिगेसन मेनु

क्रोएसिया सपना : गन्तव्य न रोजगारी
सम्पादक:南亚网络电视
समय:2023-04-06 13:36

thumb

खाडीको तातो मौसममा वर्षौं बिताएर मनग्गे पैसा कमाउने लोभमा युरोपको क्रोएसिया हान्निएका नेपाली यतिखेर थप मारमा छन् । कतार, दुबई, मलेसिया र साउदी अरबमा कमाएको ५–७ लाख खर्चेर युरोपमा सुख पाउने, दाम कमाउने भन्दै आएका नेपालीले झन् सास्ती ब्यहोर्नुपरेको छ । ती नेपाली क्रोएसिया आएर फेरि अवैध बाटो हुँदै पोर्चुगल भागिरहेका छन् । 

नेपाली, भारतीय, पाकिस्तानी र बंगाली दलालहरूलाई लाखौं तिरेर भाग्ने क्रममा कतिको अंगभंग भएको छ । केहीले पटक–पटक जेलनेल भोगेका छन् । कतिपयको हातमा दाम त के पासपोर्टसम्म छैन । दाम कमाउन भन्दै आएका कतिपयले काम गर्न भनेर आएको कम्पनीको सम्पर्कमा समेत नपुगी विमानस्थलबाटै फरार हुनुपरेको छ । क्रोएसियाको पहाडी जिल्ला माकारास्कामा काम गर्दै आएका धरानका प्रताप तामाङसहित २४ जनाको टोली सन् २०११ को फेब्रुअरीमा क्रोएसिया आएको थियो । तर, तीन जनाबाहेक क्रोएसियाबाट ती अन्य मुलुक मूलतः पोर्चुगलतिर भागिसकेका छन् ।

‘हामी २४ जना थियौं । तीन जना छौं, बाँकी भागिसके,’ तामाङ भन्छन् । उनको भनाइमा नेपाल वा खाडीबाट ल्याउँदा एजेन्टले भनेको काम नदिने, फरक काम लगाउने गर्छन् । नजानेको काम गर्नुपर्दा कम्पनीले कि निकाला गरिदिन्छ कि भने मानसिक यातना र तनाव दिन्छ । त्यस्ता कतिपय नेपाली त्यही तनाव सहन नसकेर पनि अरू देशतिर भाग्छन् । क्रोएसिया आएका आधाभन्दा बढी पोर्चुगलमै पुगेका छन् ।

सबैभन्दा ठूलो उद्देश्य रातो पासपोर्ट बनाउने भनेर जान्छन् । क्रोएसियाबाट पोर्चुगल गएकाहरूले दुई तीन महिना काम गरे । बाँकी समय बसेको बस्यै भए । कमाउन आएका तिनले उल्टो नेपालबाट खर्च मगाउँदै बस्ने खाने गर्नुपर्‍यो । ‘पोर्चुगलको कार्ड बनाएर भविष्य बनाउने भन्दै गए साथीहरू । वर्तमान नै बिगारेर भविष्य कहिले बनाउने ? मान्छेको कम बिजोग छ पोर्चुगलमा ? वर्तमान नै बिग्रिएपछि भविष्य कहीं बन्छ ?,’ प्रताप तामाङ भन्छन् ।

क्रोएसिया आइपुग्ने अधिकांश नेपालीले गर्ने काम भवन निर्माण, बेकरी, होटेल रेस्टुरेन्ट, चाउचाउ कारखाना, प्याकिङ र खेती किसानीमा हुन् । अहिले साउदी अरब, कतार बसेका नेपाली धेरै आइरहेका छन् । उता काम गरेको दुई/चार लाख पनि हुन्छ तीसित । साउदी, कतारमा काम गरेको पैसा झार्ने कोसिस गर्छ दलालले । युरोप छिर्न मात्रै पाए हुन्छ भनेर लोभ्याउँछन् । पाँच–सात वर्ष खाडी बसेपछि एक पटक युरोप जाउँ न त, हेरौं । पैसो पनि कमाइ भन्ने हुन्छ तिनलाई । छिर्न मात्रै पाए हुन्छ भनेर दलाल–एजेन्टहरूले लोभ्याइदिन्छन् । ‘अरबमा दिक्क भएका हुन्छन् नेपालीहरू । युरोप हो नि, युरोप छिर्न पाए सबै थोक मिल्छ भन्ने हुन्छ,’ तामाङ भन्छन्, ‘दलालले बोलेको सम्झिन्छु । यस्तो मिठो भलादमी बोल्छ कि यो भिसा पनि किन छिटो आउँदैन, आइहालेर, गइहाल्न पाए हुन्थ्यो नि भन्ने बनाउँछ ।’

क्रोएसिया आएर पोर्चुगल पुगेकी म्याग्दीकी केशरी मानन्धरको भनाइ पनि तामाङसित मिल्दो छ । उनको भनाइमा कतिपय नेपाली त क्रोएसिया आउनासाथ आएको कम्पनीमा मुखसमेत नदेखाई अर्को देशतिर भागिहाल्छन् । क्रोएसिया आएको तीन दिनमा काम सुरु हुने भए त्यो पहिले नै बुझ्छन् । त्यो तीन दिनमै अन्त सम्पर्क गरेर हिँडिहाल्छन् । यहाँ आएपछि बल्ल सिजनल रैछ भन्ने थाहा पाउँछन् । किनकि क्रोएसिया ल्याउँदा भिसामा छाप मात्रै हुन्छ । एग्रिमेन्ट गराउने बेला एजेन्टले काम गर्ने घण्टा, तलब, समय सबै देखाउँदैन ।

क्रोएसिया आएपछि त कम्पनीले भन्छ । क्रोएसियाबाट भिसाका लागि सिफारिस पठाउने र नेपालको एजेन्टबीच कुरा भएर देखाउँदैनन् । ‘उताको नेपालीले क्रोएसिया गएपछि केही न केही उपाय लागिहाल्छ भन्ने सोच्छन् । आउने नेपाली पनि उड्न पाए हुन्थ्यो भन्ने सोच्छन् र कति घण्टा काम, बस्ने कहाँ, अधिकार के हो र बिमा छ कि छैन केही सोच्दैनन् । खालि उड्न पाए हुन्थ्यो भन्ने सोच्छन् । यता आएपछि दुःख भोग्नुपर्छ,’ मानन्धर भन्छिन् ।

क्रोएसियाको दूतावास नेपालमा नभएकाले भिसाको प्रक्रियाका लागि दिल्लीस्थित दूतावास धाउनुपर्छ । आफ्नै तरिकाले भारतमा भिसा लिन गए सबै प्रक्रिया पूरा गर्दा पाँच लाख पनि लाग्दैन । तर अहिले नेपाली एजेन्टले १०/११ लाखसम्म लिने गरेका छन् । गोरखाको अजिरकोटका एक युवक क्रोएसियाको राजधानी जाग्रिभबाट ४० किमि परको जेरिनामा काम गर्छन् । उनी करिब आठ महिनाअघि क्रोएसिया आएका हुन् । आएपछि क्रोएसियाको मेनपावरका नेपाली एजेन्टले कबुलअनुसारको काम दिएनन् । रकम बुझाउँदा मासिक एक हजार युरो तलब भनेर ल्याए पनि क्रोएसिया आइसकेपछि कम्पनीले घण्टाको दरमा काम लगायो ।

‘मलाई मासिक न्यूनतम एक हजार युरो तलब हुन्छ भनेर एनआरएनए क्रोएसियाका एक जना पदाधिकारीले ल्याए । यहाँ आएपछि घण्टाको हिसाबले काम गर्नुपर्छ भने । अन्त जाउँ भाषा र परमिट थिएन । भनेको नमाने नेपाल फिर्ता पठाइदिन्छ भनेपछि बाध्यताले काम गरिरहेको छु,’ उनले भने, ‘खाडीमा हन्डर ठक्कर खाएको हुन्छ । आठ घण्टाको दरले सातै दिन काम गरिहाल्छन् नि भनेर पेल्छन् ।’

कलकारखानाका लागि औजारहरूको फिटिङ गर्ने कम्पनीमा कार्यरत उनीसित धेरै त फिलिपिनी, मलाय, बंगाली, भारतीय छन्, जो कतार, दुबई, साउदीबाटै आएका हुन् । उनीहरूले भने नेपालीहरूले झैं दलाल र एजेन्टलाई लाखौं तिरेका छैनन् । ती मेडिकल टेस्ट, टिकटको खर्च न्यूनतम मात्रै तिरेर आउने गरेका छन् । त्यसका लागि बढीमा एक लाख रुपैयाँ पनि खर्च हुन्न । तर नेपालीहरूले भने दुबईबाट न्यूनतम सात लाख घटी आउन सक्ने अवस्था छैन । नेपालीहरूले क्रोएसियामा फिलिपिनी, भारतीय, बंगालीसित एकै ठाउँमा एउटै काम गर्छन् । तलब समान दिइन्छ । काम एकै प्रकारको, एकै ठाउँमा, एउटै तलब हुँदा उनीहरूले फ्रिमा आउने तर नेपालीले भने ६/७ लाख तिरेर आउनुपर्ने अवस्था रहेको उनको दुखेसो छ ।

‘हामी जति आउँछौं नेपालीको माध्यमबाट आउँछौं । नेपालीले नेपालीलाई ठग्छ, अरूलाई ठग्न सक्दैन । त्यो पैसा लाग्दैन तर पनि तिरिरहेका छन् । एजेन्सीलाई तिर्नुपर्ने, वर्क परमिट, बिमा जस्ता अनेक नाममा ठग्छन्,’ उनी भन्छन् । क्रोएसिया, युक्रेन, सर्बिया र रोमानिया जस्ता मुलुकले नेपाली कामदार लिन लागेपछि अहिले दुबईमा पनि नेपालका मेनपावर जस्तै छरपस्ट भएका छन् नेपालीका कन्सल्टेन्सी । तिनको काम क्रोएसियाका एजेन्सीसित कनेक्सन गर्ने, कमिसन दिएर नेपाली ओसार्ने हो ।

नेपालका तर्फबाट क्रोएसियाको पर्यटन सद्भावना राजदूत हरिबहादुर तामाङ कोरोनाकालभरि लगभग दुई वर्ष युरोपका सानाठूला सबै देश बन्द हुँदा क्रोएसिया खुला रहेकाले आकर्षण बढेको र धेरै मानिस थुप्रिएको बताउँछन् । क्रोएसियामा नेपालीहरू आउन थालेको भने सन् २०१८ तिरबाटै हो । यो क्रम बढ्दै गएको छ । तामाङ अहिले पनि भारतको नयाँदिल्लीस्थित क्रोएसियाको दूतावासमा ४–५ हजार नेपालीको भिसा आवेदन परेको अनुमान गर्छन् । ‘नेपालीहरू क्रोएसिया आएको आएकै छन्,’ उनले भने ।

क्रोएसिया जाने नेपालीहरू ठगिनुको एउटा प्रमुख कारण प्रहरीको रिपोर्ट पनि हो । क्रोएसिया आउन चाहने व्यक्ति कहीँकतै आपराधिक घटनामा संलग्न छैन भन्ने नेपाल प्रहरीको रिपोर्ट बनाउनुपर्छ । त्यसलाई नेपालको कन्सुलरमा छाप लगाएपछि दिल्लीस्थित नेपाली दूतावासमा लगेर फेरि छाप लगाउनुपर्छ । त्यही रिपोर्ट एजेन्सीलाई दिँदा काम भइरहेकोमा सन् २०२१ को फेब्रुअरीदेखि त्यसलाई फेरि क्रोएसिया दूतावासमा छाप लगाउनुपर्ने नियम लगाइएपछि नेपालीलाई थप झन्झटिलो र खर्चिलोसमेत बन्यो । यसैको फाइदा एजेन्ट र दलालहरूले उठाउन थाले ।

त्यो काम दिल्लीसित नेपाली दूतावासले एकै दिन गरिदिए पनि क्रोएसिया दूतावासले लामो समय लगाइदिन्छ । प्रहरी रिपोर्ट नै कहिलेकाहीं डेढदेखि तीन महिनासम्म लाग्ने भएकाले एजेन्टहरूले खाडी मुलुकका कामदार तान्न थालेका हुन् । खाडीका कामदारहरूको हकमा भने तिनको पुरानै कागजले काम गर्छ । युक्रेन, क्रोएसिया, सर्बियालगायत देशमा अदक्ष कामदारहरू आउने गरेकाले पनि नेपाली थप समस्यामा पर्ने गरेका हुन् । पर्यटन सद्भावना दूत तामाङ कहिल्यै नदेखेको, कहिल्यै नगरेको काम कहिल्यै नसुनेको भाषामा सिकेर एकदमै छिटो र राम्रोसित गर्नुपर्ने हुनाले पनि नेपालीहरूलाई क्रोएसियामा समस्या हुने गरेको बताउँछन् ।

‘नेपालीले हलो नजोते पनि अरूले पर जोतिराखेको, रूख ढालिराखेको, दाउरा चिरिराखेको, दुवाली छेकिराखेको, माछा मारिराखेको देखिराखेको हुन्छ नि । तर युरोपमा कहिल्यै नसुनेको, नगरेको, कहिल्यै नगएको ठाउँमा, कहिल्यै नसुनेको भाषा सिकेर छिटो र राम्रो गर्नुपर्‍यो,’ तामाङ भन्छन्, ‘भाषाको समस्याले मान्छेलाई काम लगाउन इरिटेड (रिस उठ्ने) भइराखेको हुन्छ । इरिटेड भएपछि कम्पनीले निकालिदिन्छ ।’

उनको अनुभवमा नेपालीले नजानेको काम पनि जानेको छु भन्दै ढाँटेर आउँछन् । ‘काम सुरु गरेपछि चल्ला भनेर कामचलाउ ‘सिभी’ (व्यक्तिगत विवरण कागजात) बनाउँछन् । काम सिकाउँदा सिकाउँदै कम्पनी तनावमा पर्छ र कामबाटै हटाइदिन्छ,’ उनले भने, ‘त्यसपछि जाने विकल्प के त ? बंगाली, पाकिस्तानी, नेपाली, अफगानी एजेन्टमार्फत इटाली, स्पेन र खासगरी पोर्चुगलतिर २०/२५ घण्टा जंगल, पहाड र हिउँको बाटो हिँडेर बाटो लाग्छन् ।’

तामाङका अनुसार दलालले पोर्चुगल पुर्‍याउने बाटाहरू अनेकौं हुन्छन् । क्रोएसियाबाट इटाली लैजाने करिब २७ वटा बाटा थिए र तिनमा सीमा सुरक्षाकर्मीको निगरानी, अवस्था हेरेर फेरिफेरि लैजाने गर्छन् । रोमानिया, सर्बिया, क्रोएसियालगायत मुलुकबाट पोर्चुगल जानेहरूलाई प्रायः हंगेरी, अस्ट्रिया, फ्रान्स, इटाली, स्पेन, स्विट्जरल्यान्ड आदि देशको सहज बाटो खोजेर लैजाने गरेका छन् ।

त्यसरी जोखिम लिएर हिँड्दा बीच बाटोमा बिरामी पर्ने र कतिपयको त ज्यानसमेत गएको छ । कतिपय त्यस्ता नेपालीलाई क्रोएसियाका नेपालीले उद्धारसमेत गरेका छन् । ‘करिब ६ महिना पहिले एक जना नेपाली महिला त्यसैगरी लुकिछिपी अर्को देश जाने क्रममा बीच बाटोमा पुगेपछि जंगलमा हिउँ पर्‍यो । उनी बाटोमै बिरामी परिन् । स्लोभेनियामा उनको मृत्यु नै भयो,’ तामाङले सुनाए ।

विशेषगरी क्रोएसियालाई ट्रान्जिट बनाएर अहिले धेरै नेपाली आइरहेका छन् । यहाँ आएकामध्ये अधिकांश अन्यत्रै लागे पनि यहाँ अहिले पनि करिब १५ हजार नेपाली रहेको उनको भनाइ छ । नेपालका एजेन्ट र दलालहरूले भाषा र कामका बारेमा राम्रो जानकारी नै नदिई ल्याउने गरेकाले पनि नेपालीको बिजोग हुने गरेको हो । भाषा र सीप नजानेकालाई कम्पनीले निकालिदिएपछि उपाय नहुँदा धेरै नेपाली पोर्चुगल जान्छन् ।

कतिपय भने कोही न कोही गाउँले, आफन्त वा चिनजानमार्फत सर्बिया, क्रोएसिया वा कुनै न कुनै युरोपेली मुलुक छिर्ने जुक्ति मात्रै सोच्छन् । त्यस्ता नेपालीले क्रोएसियालाई ट्रान्जिट बनाउँछन् । एयरपोर्टबाटै सेटिङ मिलाएर क्रोएसियाको कम्पनीमा उपस्थिति नै नजनाइकनै एयरपोर्टबाटै भाग्छन् । कतिपयलाई भने एजेन्टहरूले नै ढाँटेर ल्याई काममा लगाउँछन् । एजेन्टहरूले पैसा धेरै लिएर तलब हजार युरोसम्म हुन्छ भनेर पठाउँछन् । पठाउँदाको सर्त पूरा गर्दैनन् । धेरै पैसा तिरेकोले पोर्चुगल गए धेरै पाइन्छ, कार्ड पनि बन्छ भन्ने लोभमा पोर्चुगल जाने गर्छन् ।

थुप्रै नेपालीहरू क्रोएसियामा ‘सिजनल काम’ मा आउँछन् । दलालहरूले भिसाको अवधिबारे भने खुलस्त पार्दैनन् । सिजनल भिसाको अवधि जम्मा १ सय ८० दिन हुन्छ । आउँदा आउँदै २०/३० दिन गइसक्छ । यहाँको कम्पनीले जति समय बाँकी छ त्यत्ति समयको मात्रै परमिट बनाइदिन्छ । सिजनल काममा आएर अवधि सकिएपछि कहाँ जाने ? उता तिरेर आएको लगानीसमेत उठाउन सकेका हुँदैनन् । ती क्रोएसियाबाट अन्यत्र भाग्छन् ।

कतिपय एजेन्टले भने १२/१३ लाखमा सिधा पोर्चुगल लगिदिने भनेर पनि ल्याउने गरेका छन् । क्रोएसियामा अर्को समस्या के छ भने यदि कुनै कम्पनीको जागिर मन परेन वा कामबाट निकाला गरिदिएमा नयाँ जागिर खोज्न एजेन्सीमार्फत नै जानुपर्छ । अर्को ठाउँमा काम गर्नुअघि पुरानो कम्पनीबाट कन्ट्र्याक्ट रद्द गराउनुपर्छ । नयाँ जागिर खोज्न काम छाडेको प्रमाणपत्र चाहिन्छ । नयाँ जागिरका लागि एजेन्सीले ५ सय देखि ७ सय युरोसम्म लिन्छन् । पोर्चुगलमा भने रेसिडेन्सी कार्ड पाएपछि काम खोज्न आफैंले पाइन्छ ।

‘ओहो एजेन्सीलाई ६/७ सय युरो दिनुपर्ने रैछ । अर्को ६ सय थपे त पोर्चुगल नै पुगिन्छ भनेर पनि मान्छे हानिन्छन् । तर, उता पुगेपछि झन् दुःख पाइरहेका छन्,’ तामाङ भन्छन् । नेपालीहरू कतिसम्म सोझा छन् भने कतिपयलाई त नक्सा हेर्न पनि आउँदैन । तिनले क्रोएसिया, रोमानिया र सर्बियाबाट पोर्चुगल पुगेको नक्साकै लागि पनि दलालहरूलाई २ सय ५० युरोसम्म तिर्ने गर्छन् ।

‘दलालले यसरी यसरी आउनु भनेर पोर्चुगलबाट मोबाइलबाटै नक्सा ट्रान्सफर गर्छ । त्यही नक्सा हेरेर नेपालीहरू जंगलजंगलै जान्छन् । दलालको कमाइ नै त्यही हो,’ प्रताप तामाङ भन्छन् । नेपाल र क्रोएसियाबीच श्रम सम्झौता छैन । त्यसले गर्दा नेपाली एजेन्टहरूले व्यक्तिगत सम्झौता गर्छन् । केही बिग्रियो भने प्रक्रिया सबै व्यक्तिगत रूपमा गरेकाले व्यक्ति स्वयं जिम्मेवार भन्ने कागज बनाउँछन् ।

नेपाली कामदारहरूलाई अवैध तरिकाले युरोप भित्र्याउने प्रक्रियालाई सरकारले नियमन गर्न नचाहेको भने होइन । सद्भावना दूत हरिबहादुर तामाङलगायतको ‘क्रोएसियामा नेपालीलाई समस्या पर्‍यो’ भनेर दिएको सुझावपछि किसान श्रेष्ठ श्रममन्त्री हुँदा व्यक्तिगत (निजात्मक) रूपमा आउन रोक्का गरिदिएका थिए । तर, त्यो निर्णय एक डेढ महिना पनि टिक्न सकेन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर