
चाइना टेलिकम चोङवेइ कम्प्युटिङ हबको सर्भर कक्षमा कर्मचारीहरूले उपकरण मर्मत गर्दै। फोटो: छन शियाओशङ।
निङ्सियाको चोङवेइमा, गोबी मरुभूमिमा सौर्य ऊर्जाका विशाल प्यानलहरूको लामो पङ्क्ति फैलिएको छ। यहाँ उत्पादन हुने निरन्तर स्वच्छ विद्युत् हरित विद्युत् प्रत्यक्ष आपूर्ति विशेष लाइनमार्फत सिधै डाटा केन्द्रका सर्भर कक्षहरूमा पठाइन्छ।
चीनको तोङसु सिसुआन परियोजनाको महत्वपूर्ण परियोजना तथा निङ्सियामा पहिलो पटक ग्रिडमा जडान गरिएको “स्रोत–सञ्जाल–लोड–भण्डारण” एकीकृत परियोजनाको रूपमा, चाइना ताथाङ कर्पोरेशनको चोङवेइ क्लाउड आधार डाटा केन्द्रका लागि २० लाख किलोवाट नवीकरणीय ऊर्जाको हरित विद्युत् आपूर्ति परियोजना यहाँ कार्यान्वयन गरिएको छ। यसमध्ये ५ लाख किलोवाट क्षमताको सौर्य “स्रोत–सञ्जाल–लोड–भण्डारण” परियोजना गत वर्षको अप्रिलमा पूर्ण क्षमतासहित ग्रिडमा जडान भइसकेको छ र हालैबाट डाटा केन्द्रलाई औपचारिक रूपमा विद्युत् आपूर्ति सुरु गरिएको छ। बाँकी १५ लाख किलोवाट क्षमताको पवन ऊर्जा परियोजना यस वर्ष जुनसम्म पूर्ण क्षमतामा ग्रिडमा जडान गर्ने योजना रहेको छ। परियोजना पूर्ण रूपमा सम्पन्न भएपछि हरेक वर्ष करिब ४.१४ अर्ब किलोवाट घण्टा स्वच्छ विद्युत् आपूर्ति हुनेछ, जसले करिब ३३ लाख टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन मद्दत गर्नेछ।
“कृत्रिम बुद्धिमत्ताको अन्तिम सीमा भनेको विद्युत् हो” भन्ने लोकप्रिय भनाइ पछाडि, पछिल्ला वर्षहरूमा कृत्रिम बुद्धिमत्ताले ल्याएको विद्युत् मागको “घाताङ्कीय” वृद्धि लुकेको छ। कम्प्युटिङ क्षमता डिजिटल अर्थतन्त्रको मुख्य उत्पादनशक्ति बनिसकेको छ र यसले प्रविधि नवप्रवर्तन तथा औद्योगिक रूपान्तरणलाई अघि बढाउने महत्वपूर्ण शक्ति बनेको छ। चोङवेइले ऊर्जा स्रोतसम्बन्धी आफ्ना प्राकृतिक लाभहरूलाई प्रभावकारी रूपमा उपयोग गर्दै “कम्प्युटिङ–ऊर्जा समन्वय” को नयाँ मोडेलमार्फत डाटा केन्द्रहरूलाई गुणस्तरीय र कम लागतको हरित विद्युत् उपलब्ध गराउँदै आएको छ, जसले नवीकरणीय ऊर्जा उद्योग र डिजिटल अर्थतन्त्रबीच गहिरो एकीकरणलाई प्रोत्साहित गरेको छ।
चाइना टेलिकमको चोङवेइ कम्प्युटिङ हबको सर्भर कक्षमा ३० हजार कार्डयुक्त बहुविध संरचनाको बुद्धिमान कम्प्युटिङ क्लस्टर तीव्र गतिमा सञ्चालन भइरहेको छ। सुसज्जित रूपमा राखिएका सर्भर क्याबिनेटहरूमा सूचक बत्तीहरू ताराजस्तै चम्किरहेका छन्, जसले देशभरिबाट आउने विशाल डाटा अनुरोधहरूलाई वास्तविक समयमा प्रशोधन गरिरहेका छन्।

निङ्सिया चोङवेइ सहरको शापोतौ जिल्लामा अवस्थित टेङ्गर मरुभूमि नवीकरणीय ऊर्जा आधार। फोटो: चोउ श्युफङ।
पछिल्ला वर्षहरूमा निङ्सियाले अत्यन्त ठूलो क्लस्टरयुक्त बुद्धिमान कम्प्युटिङ केन्द्रहरूको विकासलाई तीव्र बनाएको छ, जसले अझ ठूलो ब्यान्डविथ, अझ व्यापक जडान उपलब्ध गराएको छ। निङ्सिया स्वायत्त क्षेत्र डाटा केन्द्रका उपनिर्देशक खुवाइ हुईका अनुसार, “निङ्सिया देशभरिका आठ कम्प्युटिङ नेटवर्क हबमध्ये एक हो र पाँच राष्ट्रिय नयाँ प्रकारका इन्टरनेट एक्सचेन्ज केन्द्रमध्ये पनि एक हो। सन् २०२५ को अन्त्यसम्म निङ्सियामा १० वटा विशाल डाटा केन्द्र पार्क निर्माण भइसकेका छन्, र देशका शीर्ष दस कम्प्युटिङ सेवा प्रदायकमध्ये छ वटा यहाँ स्थापना भएका छन्।”
चोङवेइ निङ्सियाको कम्प्युटिङ उद्योगको मुख्य केन्द्र हो। चोङवेइ सहर डाटा ब्युरोका उपनिर्देशक रण थाओका अनुसार, सन् २०२५ को अन्त्यसम्म चोङवेइमा २ लाख ३० हजार सर्भर र्याक सञ्चालनमा आएका छन् र १ लाख ८६ हजार कम्प्युटिङ कार्ड जडान गरिएको छ। यहाँको कम्प्युटिङ क्षमता १ लाख ३० हजार P पुगेको छ (१ पP लगभग प्रति सेकेन्ड १००० ट्रिलियन गणनाको बराबर)।
उच्च ऊर्जा खपत हुने उद्योगको रूपमा कम्प्युटिङ उद्योगमा ऊर्जा खपत र कार्बन उत्सर्जनको समस्या क्रमशः बढ्दो छ। उद्योगको विस्तार र हरित रूपान्तरणबीच सन्तुलन कायम गर्नु ठूलो चुनौती बनेको छ। पछिल्ला वर्षहरूमा चीनले विभिन्न नीतिहरू ल्याउँदै कम्प्युटिङ पूर्वाधारलाई नवीकरणीय ऊर्जासँग एकीकृत विकास गर्न स्पष्ट निर्देशन दिएको छ।
पश्चिमोत्तर भित्री भूभागमा अवस्थित चोङवेइसँग कम्प्युटिङ उद्योग विकासका धेरै फाइदाहरू छन्। स्थानको दृष्टिले, चोङवेइ देशका प्रमुख सहरहरूबाट २००० किलोमिटर भित्र पर्छ र यो राष्ट्रिय अप्टिकल फाइबर सञ्जालको उत्कृष्ट नोडहरूमध्ये एक हो। जलवायुका हिसाबले, यहाँ वार्षिक औसत तापक्रम केवल ८.८ डिग्री सेल्सियस छ र वार्षिक औसत सापेक्ष आर्द्रता ५७ प्रतिशत मात्र छ। त्यसैले यहाँ शीतलन र आर्द्रता नियन्त्रणको लागत कम हुन्छ, जसले पूर्ण प्राकृतिक हावा शीतलनयुक्त डाटा केन्द्र निर्माणका लागि प्रथम श्रेणीको क्षेत्र बनाउँछ।
यससँगै अझ महत्वपूर्ण कुरा के हो भने, निङ्सियामा नवीकरणीय ऊर्जाको जडान क्षमता ६० प्रतिशतभन्दा बढी पुगेको छ र यसको उपयोग दर ९४ प्रतिशतसम्म छ, जसले डाटा केन्द्रहरूका लागि प्रशस्त हरित विद्युत् स्रोत उपलब्ध गराउँछ। यस हरित उर्जालाई स्थिर, कुशल र कम लागतमा कम्प्युटिङ सुविधासम्म पुर्याउने उपाय नै “वाट” लाई “बिट” मा रूपान्तरण गर्ने प्रमुख कुञ्जी हो।

निङ्सिया चोङवेइ सहरको चोङनिङ काउन्टीमा अवस्थित ±८०० किलोभोल्ट चोङनिङ कनभर्टर स्टेशन। फोटो: झोउ श्युफङ।
पछिल्ला वर्षहरूमा निङ्सियाले विद्युत् उत्पादन, प्रसारण सञ्जाल र ऊर्जा भण्डारणसम्बन्धी पूर्वाधारहरूको एकीकृत निर्माणलाई सक्रिय रूपमा अघि बढाउँदै हरित विद्युत् आपूर्तिका नयाँ मोडेलहरूको खोजी गरेको छ।
निङ्सिया स्वायत्त क्षेत्र विकास तथा सुधार आयोगका डाटा व्यवस्थापन विभागका निर्देशक चाङ कुओफिङका अनुसार, “हामीले चोङवेइमा डाटा केन्द्रका लागि हरित विद्युत् पार्क निर्माणको अग्रसर योजना बनाएका छौँ। ‘सौर्य प्रत्यक्ष जडान + पवन ऊर्जा कारोबार + विद्युत् सञ्जाल आरक्षित क्षमता’ को समेकित आपूर्ति मोडेल अपनाएर कम्प्युटिङ उद्योगको हरित र न्यून कार्बन विकासलाई प्रोत्साहित गरिएको छ।”
चीन सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको अनुमानअनुसार डाटा केन्द्र सञ्चालनको कुल लागतमा ६० देखि ७० प्रतिशतसम्म हिस्सा विद्युत् खर्च हुन्छ। त्यसैले चीनले पछिल्ला वर्षहरूमा कम्प्युटिङ स्रोत र ऊर्जा स्रोतको समय तथा स्थानअनुसार मिलान हुने ढाँचामा विकास गर्न विभिन्न नीतिहरू लागू गरेको छ।
कम्प्युटिङ र ऊर्जा समन्वयमा आधारित हरित विद्युत् आपूर्ति सम्बन्धी नवीन व्यावसायिक मोडेलका कारण चोङवेइ अहिले लगानीकर्ताहरूका लागि आकर्षक केन्द्र बन्दै गएको छ।
रन थाओका अनुसार, “सन् २०२३ यता चोङवेइको कम्प्युटिङ उद्योगमा सर्भर र्याक संख्या र कम्प्युटिङ क्षमता हरेक वर्ष दोब्बर दरले बढिरहेको छ, जसले यसको समग्र प्रतिस्पर्धात्मकता तीव्र रूपमा वृद्धि गरेको छ। यहाँ लगानी गर्ने कम्पनीहरूका लागि विद्युत् आपूर्ति अत्यन्त महत्वपूर्ण कारक बनेको छ।”
चाङ कुओफिङको विचारमा, यस परीयोजनाको कार्यान्वयनले पश्चिमी क्षेत्रको ऊर्जा र स्रोतसम्पन्नतालाई पूर्ण रूपमा ध्यानमा राखेको छ। “डाटा केन्द्रहरूलाई यहाँ स्थापना गर्नु हरित तथा न्यून कार्बन विकासका लागि लाभदायक हुन्छ र यसले हरित तथा कम लागतको कम्प्युटिङ सेवा उपलब्ध गराउँछ। हामीले कम्प्युटिङ पूर्वाधार निर्माणको समयतालिका र गतिलाई राम्रोसँग व्यवस्थापन गर्दै क्रमबद्ध रूपमा परियोजनाहरू सञ्चालनमा ल्याउनुपर्छ,” उनले बताए।






