
काठमाडौँ, फागुन ८ गते । बेलायतमा राजाका भाइ एन्ड्रयु माउन्टव्याटन विन्डसर पक्राउ पर्नुभएको छ । बेलायतको प्रहरीले बिहीबार उहाँलाई पक्राउ गरेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कमा विन्डसरलाई पक्राउ गरिएको हो । लन्डनको पश्चिमी क्षेत्र हेर्ने थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार विन्डसरले सन् २०१० मा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने भनेर दोषी ठहरिएका यौन अपराधी जेफ्री एप्स्टिनलाई व्यापारिक प्रतिवेदन पठाएको भन्ने उजुरीको मूल्याङ्कन गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
एप्स्टिनका बारेमा अमेरिकामा जारी अनुसन्धानसँग सम्बन्धित लाखौँ पृष्ठका कागजात सार्वजनिक भएपछि यससम्बन्धी मूल्याङ्कन सुरु गरिएको छ । बेलायती कानुन अनुसार प्रहरीले विन्डसरको नाम सार्वजनिक गरेको छैन । प्रहरीले सार्वजनिक गरेको वक्तव्यमा विस्तृत मूल्याङ्कनपछि सार्वजनिक पदमा रहँदा गरिएको भनिएको दुराचारको यस आरोपमाथि अहिले अनुसन्धान सुरु गरिएको र यस कथित अपराधको अनुसन्धान गर्न साझेदारसँग काम गरिरहँदा अनुसन्धानको अखण्डता र निष्पक्षतालाई जोगाउनु महत्वपूर्ण रहेको कुरा उल्लेख गरिएको छ । ६६ वर्षीय विन्डसरले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आउनुभएको छ ।
युनलाई आजीवन कारावास
यसैबिच दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई देशद्रोहको षड्यन्त्र रचेको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको छ । ६५ वर्षीय युनले सन् २०२४ को डिसेम्बर ३ मा सैन्य शासन लागु गर्ने असफल प्रयास गर्नुभएको थियो । त्यतिबेला राष्ट्रपतिका रूपमा उहाँले घोषणा गरेको सैन्य कानुन केवल छ घण्टा टिकेको थियो । सियोलस्थित अदालतमा बिहीबार भएको अन्तिम सुनुवाइपछि उहाँविरुद्ध आजीवन कारावासको फैसला सुनाइएको हो जसले देशको लोकतान्त्रिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । युनले सन् २०२४ डिसेम्बर ३ मा सैन्य कानुन घोषणा गर्दै संसद्लाई घेरा हाल्न सेना पठाउनुभएको थियो ।





