
तेहरान । हालैका दिनमा आकाशिएको महँगी विरुद्ध इरानी जनता सडकमा उत्रिएका छन् । यी विरोध प्रदर्शनहरू इरानका धेरै सहरहरूमा भइरहेका बताइएको छ ।
बीबीसी फारसी सेवाका अनुसार इरानका विभिन्न सहरहरूमा राती विरोध प्रदर्शन भएका तस्बिरहरू बाहिराएका छन् । कुह दश्तमा सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न हिंसात्मक गतिविधि गरेको बताएका छन् ।
कुह दश्तमा एक जनाको मृत्यु भएको र १३ जना घाइते भएको लोरेस्तानका अधिकारीहरूले बताएका छन् । कुह दश्तबाट बाहिर आएका तस्बिरहरूले प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाएको देखाउँछ ।
यसैबिच, तेहरानको बेहेश्ती विश्वविद्यालयमा बालिकाहरूको छात्रावास अगाडि एक छात्रालाई पक्राउ गरिएको छ । बीबीसी फारसी सेवाका अनुसार बुधबार साँझ परेसँगै केही इरानी सहरहरूमा छिटपुट विरोध प्रदर्शनहरू भएका थिए । हमादान, कुह दश्त, जेनेभेह, डोरुड र अलिगुदार्ज सहरहरूमा पनि विरोध प्रदर्शनको आयोजना गरिएको थियो।





