नेभिगेसन मेनु

रुसमा कम्तीमा ४५ जना सवार विमान दुर्घटना
सम्पादक:南亚网络电视
समय:2025-07-24 18:18


russian airliness

एस् ए टी भी ०८ साउन २०८२, काठमाडौंः रुसको सुदूर-पूर्वी अमुर क्षेत्रको एक दुर्गम स्थानमा करिब ४५ जना सवार एक यात्रुवाहक विमान बिहीबार दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार, दुर्घटनामा कोही पनि जीवित रहेको तत्काल कुनै सङ्केत देखिएको छैन।

अंगारा एयरलाइन्सद्वारा सञ्चालित दुई-प्रोपेल्लर भएको एन्टोनोभ-२४ विमान ब्लागोभेशचेन्स्क शहरबाट टिन्डा शहरका लागि उडेको थियो। स्थानीय समयअनुसार दिउँसो करिब १:०० बजे विमान राडारबाट हराएको थियो।

एक उद्धार हेलिकप्टरले पछि टिन्डाबाट करिब १६ किलोमिटर टाढाको घना जङ्गलले ढाकिएको पहाडी भेगमा विमानको जलिरहेको भग्नावशेष फेला पारेको हो। रुसी अन्वेषकहरूले सार्वजनिक गरेको भिडियोमा घना जङ्गल क्षेत्रमा विमानको भग्नावशेषबाट धुवाँको मुस्लो निस्किरहेको देखिन्छ।

हेलिकप्टरमा रहेका उद्धारकर्मीहरूले कोही पनि जीवित रहेको प्रमाण नदेखेको स्थानीय उद्धारकर्ताले बताएका छन्। अमुर क्षेत्रको नागरिक रक्षा एजेन्सीले घटनास्थलमा स्थलगत टोली पठाइएको जनाएको छ।

‘अहिले २५ जनाको टोली र पाँचवटा उपकरण पठाइएको छ भने चारवटा विमान चालक दलसहित तयारी अवस्थामा राखिएको छ,’ एजेन्सीले भनेको छ।

जङ्गल र कठिन भू-भागका कारण घटनास्थलमा पुग्न उद्धारकर्मीलाई कठिनाइ भएको एक उद्धारकर्मीले सरकारी समाचार एजेन्सी तासलाई बताएका छन्।

क्षेत्रीय गभर्नर भासिली ओर्लोभका अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए। जसमा पाँच जना बालबालिका पनि थिए। तास समाचार एजेन्सीले भने ४० यात्रु र ६ जना चालक दलका सदस्य रहेको उल्लेख गरेको छ।

रुसको सुदूर-पूर्वी यातायात अभियोजकको कार्यालयका अनुसार, टिन्डा विमानस्थलमा अवतरणका लागि दोस्रो पटक प्रयास गर्दा विमान दुर्घटनामा परेको हो। ‘टिन्डा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दोस्रो पटक घुमेको थियो, त्यसपछि सम्पर्क टुटेको हो,’ कार्यालयले भनेको छ।

दुर्घटनाको कारणबारे तत्काल केही खुलाइएको छैन र घटनाको अनुसन्धान भइरहेको छ।

तास समाचार एजेन्सीले उक्त विमान करिब ५० वर्ष पुरानो भएको रिपोर्ट गरेको छ। ‘सन् २०२१ मा, विमानको उडान योग्यता प्रमाणपत्र २०३६ सम्मका लागि नवीकरण गरिएको थियो,’ एजेन्सीले एक स्रोतलाई उद्धृत गर्दै लेखेको छ।

एन्टोनोभ-२४ सोभियत-डिजाइनको एक लोकप्रिय विमान हो। जुन सन् १९५९ मा पहिलोपटक सेवामा आएको थियो।

पछिल्ला वर्षहरूमा रुसले पुराना सोभियत विमानहरूलाई आधुनिक जेटमा परिणत गर्ने प्रयास गरे पनि दुर्गम क्षेत्रहरूमा अझै पनि पुराना विमानहरू व्यापक रूपमा प्रयोग हुँदै आएका छन्। जसकारण दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर