काठमाडौं — जेन–जी विद्रोहको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार प्रधानमन्क्रीमा नियुत्त भएकी छन् । पहिलो महिला प्रधानन्यायाधीश कार्कीले पहिलो कार्यकारी प्रमुखको इतिहास पनि रचेकी छन् ।
कार्की ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । प्रधानमन्क्रीमा नियुत्ति भएलगत्तै उनको सिफारिसमा शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा आगामी २१ फागुनमा निर्वाचन गर्न मिति तोकिएको छ ।
सोमबार सुरु भएको जेन–जी आन्दोलनको दबाबले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । प्रतिनिधिसभा विघटन गरेर अन्तरिम सरकार गठन गर्नुपर्ने मुख्य माग अघि सारेको जेन–जीका प्रतिनिधि र सरोकारवाला पक्षबीच भएको चरणबद्ध छलफलबाट कार्कीलाई प्रधानमन्त्री बनाउने टुंगो लागेको हो ।
कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा राष्ट्रपति पौडेल र जेन–जीका प्रतिनिधिबीच बिहीबारै वार्ता सुरु भएको थियो । कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा बेलैमा सहमति जुटे पनि संसद् विघटनबारे दुवै पक्षले लामो समय अडान राखे । रातभरमा सहमति नजुटेपछि शुक्रबार बिहान करिब ३ बजे वार्ता स्थगन गरिएको थियो ।