काठमाडौं– भदौ २३ मा काठमाडौं र विभिन्न सहरमा भएको जेन–जी आन्दोलनका क्रममा शुक्रबार साँझसम्म ५१ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रवक्ता विनोद घिमिरेले देशभर ३८ सर्वसाधारण, ३ प्रहरी, १ भारतीय नागरिक, ५ जना सुधारगृहमा राखिएका बालबालिका र ४ जना कैदीबन्दी गरी ५१ जनाको मृत्यु भएको पुष्टि गरे ।
जसमा २३ भदौको जेन–जी आन्दोलनमा २१ र भोलिपल्ट २४ को प्रदर्शनमा १८ जनाको मृत्यु भएको हो । प्रहरी, सुधारगृहका बालबालिका र कारागारका कैदीबन्दीको पनि २४ कै प्रदर्शनमा बाहिर निस्कन खोज्ने क्रममा मृत्यु भएको हो ।
मृतकमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । काठमाडौंका विभिन्न अस्पतालमा भएका सबै मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्यायाइएको प्रहरीले जनाएको छ । शुक्रबारबाट पोस्टमार्टम सुरु भएको अस्पतालले जनाएको छ । काठमाडौं उपत्यकामा अन्य अस्पतालमा पनि शवहरू रहेको हुन सक्ने अनुमान छ । पोस्टमार्टमपछि आफन्तले शव बुझेर दाहसंस्कारसमेत गर्न थालेका छन् ।
अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले प्रहरीबाट पोस्टमार्टम गर्नु भनी सिफारिसपत्र आएपछि काम थालिएको बताए । यसअघि शव अस्पतालमा पुगे पनि घटना मुचुल्का नहुँदा पोस्टमार्टम रोकिएको थियो । काठमाडौं प्रहरी परिसरले पोस्टमार्टम गर्न मृतकका परिवारलाई सिफारिस दिएको र त्यसैका आधारमा काम अघि बढाइएको डा. चौधरीले बताए ।
एउटा शवको भने पहिचान नखुलेको अस्पतालले जनाएको छ । ३६ मध्ये २ महिला र अरू पुरुषका शव हुन् । मृतक अधिकांश ३० वर्षमुनिका रहेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाबाहिरका शवहरू पनि सम्बन्धित जिल्लाकै अस्पतालमा पोस्टमार्टम हुने प्रहरीले जनाएको छ ।
२३ भदौमा बानेश्वर संसद् भवनअघि प्रहरीले गोली चलाउँदा मारिनेहरू अधिकांशको टाउको र छातीमा गोली लागेको भेटिएको पोस्टमार्टममा
संलग्न चिकित्सकहरूले बताए ।
प्रहरीले जेन–जी आन्दोलनमा अत्यधिक बल प्रयोग गर्दा युवाहरूको मृत्यु भएको आक्रोशमा भोलिपल्ट प्रदर्शनसँगै सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी भएको थियो । काठमाडौंलगायत देशका विभिन्न कारागारबाट कैदीबन्दी भाग्ने क्रममा बाल सुधारगृह बाँकेमा ५ जना बालबालिका, धादिङ र रामेछाप कारागारका २÷२ जना कैदीबन्दीको मृत्यु भएको प्रहरीले जनाएको छ ।