एस् ए टी भी २२ वैशाख, काठमाडौंः पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको कुरा पुनः पुष्टि गरेका छन्।
जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टद्वाराआयोजित फोटो प्रदर्शनी कार्यक्रममा बोल्दै माननीय देउवाले नेपालको पूर्वाधार विकासमा मित्रराष्ट्र चीनको सकारात्मक प्रभावलाई उल्लेख गर्दै, दुई राष्ट्रबीच कूटनीतिक सम्बन्ध स्थापनाअघि नै सम्बन्ध बलियो रहेको बताएका छन्। उनले भृकुटी, अरनिको, बुद्धभद्र र स्युआन चाङ जस्ता साझा ऐतिहासिक व्यक्तित्वहरूले दुई देशलाई जोडेको स्मरण गराए।
‘मैत्री सम्बन्धको विरासत: क्यामेराको दृष्टिमा ७० वर्षको नेपाल-चीन सम्बन्ध’ शीर्षक रहेको फोटो प्रदर्शनीमा, विगत ७० वर्षको आपसी समझदारी, उच्चस्तरीय नेतृत्वको भ्रमण र मित्र राष्ट्रहरूको सौहार्दतालाई झल्काउने तस्वीरहरू प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा चीनका नेपालका लागि राजदूत महामहिम छन् सोङ, नेपाली कांग्रेसका नेता तथा सांसद डा. शशांक कोइराला, वरिष्ठ नेता तथा सांसद शेखर कोइरालाजस्ता विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
प्रदर्शनीमा पूर्वप्रधानमन्त्री स्व.वीपी कोइरालाको जनवादी गणतन्त्र चीन भ्रमण,स्व. गिरिजाप्रसाद कोइरालाको भ्रमण लगायतका ऐतिहासिक क्षणहरू समेटिएका थिए। यी तस्वीरहरूले दुई राष्ट्रबीचको सम्बन्ध केवल हिमालको उचाइले मात्र नभइ साझा मानवताको गहिरो बन्धनले जोडिएको छ भन्ने प्रमाणित गर्छन्। राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण तथा अन्य महत्वपूर्ण घटनाहरू पनि प्रदर्शनीमा समेटिएका थिए।
कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दुई सुन्दर छिमेकी राष्ट्रबीचको ७० औं वार्षिकोत्सवको सराहना गरे। उनले चिनियाँ सरकारको तर्फबाट नेपालको विकासका लागि गुणस्तरीय सहयोग प्रदान गरिने आश्वासन पनि दिए। उनले भने,“तस्वीरहरूले समय र सम्झनालाई सजाएर राख्छन्।” साथै, उनले क्षेत्रीय शान्ति र विकासमा सकारात्मक योगदान पुर्याएकोमा नेपाली कांग्रेस र अन्य नेपाली राजनीतिक दलप्रति आभार प्रकट गरे।
जीपी कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टकी अध्यक्ष सुजाता कोइरालाले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सरोकारवाला प्रति आभार व्यक्त गर्दै खुशी प्रकट गरिन्। उनले प्रविधि र जनस्तर आदानप्रदानमा लगानी गरेर आपसी विश्वास, शान्ति र समृद्धिको बाटो निर्माण गर्नु पर्ने धारणा राखिन्।
शेखर कोइरालाजस्ता नेताहरूले पनि दुई राष्ट्रबीचको बलियो सम्बन्ध र आपसी संवाद मार्फत सम्वन्धलाई अझ उचाइमा पुर्याउन सकिने बताए।
प्रदर्शनीले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको उत्सव सफलतापूर्वक सम्पन्न गर्दै दुई राष्ट्रको साझा इतिहासलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।