नेभिगेसन मेनु

केकियस म्याक्सिमस अर्थात् इलन मस्क
सम्पादक:南亚网络电视
समय:2025-01-02 13:25

elon musk

एस् ए टी भी १८ पौष,काठमाडौंः संसारकै धनी व्यक्ति इलन मस्कले अहिले उनकै सामाजिक सञ्जाल कम्पनी एक्समा नाम परिवर्तन गरेर चर्चामा आएका छन्। उनले नाम परिवर्तन गरेको खबरलाई संसारभरका मिडियाले समाचार बनाए। सामाजिक सञ्जालमा आफ्नो नाम परिवर्तन गर्दासमेत समाचार बन्ने भनेपछि उनी कति चासो राखिने व्यक्ति रहेछन् भन्ने पनि थाहा हुन्छ। उनले एक्समा आफ्नो नाम ‘केकियस म्याक्सिमस’ बनाएका छन्। उनले आफ्नो नाम परिवर्तन गरेसँगै धेरै किसिमका अनुमान भइरहेका छन्।

केहीले यसलाई मिम (इन्टरनेट व्यंग्य)को पेपे द फ्रगमा आधारित पात्रको नाम अँगालेको भनिरहेका छन्। केहीले भने क्रिप्टोकरेन्सी मिमको डिजिटल मुद्रा भनिरहेका छन्। केहीले डिजिटल मुद्रालाई पैरवी गरेको भन्दै त्यसको मूल्य बेपत्तासँग बढाइरहेका छन्।

नामको अर्थ खोज्दै बिबिसीले केकियसको ‘केक’ ल्याटिनीकरण हो भनेको छ। यो शब्दको अर्थ लगभग ‘हाँसो उठाउनु’ सँग मिल्दोजुल्दो छ। यस्ता नाउँ कम्प्युटर गेमरहरूले राख्ने गर्छन्। प्राचीन मिश्रबासीहरूले ‘केक’लाई अन्धकारको देउता मान्थे। भ्यागुते टाउके भगवान् ‘केक’लाई इन्टरनेट मिममा भरपूर प्रयोग गरिन्छ। केहीले भने ‘म्याक्सिमस’लाई हलिउडको बहुचर्चित हिट फिल्म ‘ग्ल्याडिएटर’मा रसेल क्रोद्वारा अभिनित पात्र ‘म्याक्सिमस डेसिमस मेरिडियस’सँग पनि जोड्छन्। इलन मस्कको नयाँ प्रोफाइल पिक्चरले रोमन सैन्य पोशाकमा पेपेलाई देखाइरहेको छ। पेपेले गेमिङ सामग्रीजस्तो केही समातेको बुझिन्छ।

हामीले च्याटजिपिटीलाई सोध्यौं, इलन मस्कले नयाँ नाम राख्नुको अर्थ के हो ? उसले जवाफमा भन्यो - केकियस म्याक्सिमस ल्याटिन शब्दले बनेको छ। यो एउटा काल्पनिक नाम हो। ‘केक’बाट यो शब्द बनेको हो र इन्टरनेट संस्कृतिमा निकै प्रयोग हुने गर्छ, खासगरी मिमहरूमा। यस्तै ल्याटिन भाषामा म्याक्सिमस भनेको सबैभन्दा ठूलो वा सर्वोत्कृष्ट हो। त्यसैले ‘केकियस म्याक्सिमस’लाई ‘सबैभन्दा ठूलो वा सर्वोत्कृष्ट ‘केक’का रूपमा अनुवाद गर्न सकिन्छ।

यो त च्याटजिपिटीको कुरा भयो तर एउटा कुरा भने मान्नै पर्छ। इलनले जे गर्छन्, त्यसले संसारभरका युवालाई तरंगित बनाउँछ। उनको एउटा हर्कतले संसारका विभिन्न व्यापारलाई प्रभावित तुल्याइदिन्छन्। त्यसैले उनका हरेक गतिविधिमा संसारको आँखा टिकिरहेको हुन्छ।

एक्स, टेस्ला, स्पेसएक्स, न्युरालिंकजस्ता कम्पनीका सञ्चालक इलन मस्क संसारकै धनी व्यक्ति हुन्। एक्समा आफ्ना धारणा बेवाक् रूपमा पोख्ने हुनाले उनी विवादास्पद पनि मानिन्छन्। कृत्रिम बुद्धिमता तीव्र रूपमा अघि बढाउने र त्यसलाई स्थापित गर्ने प्रयासमा उनी लागेको केही वर्ष बितिसकेको छ। उनको चर्चा यतिले त भइरहेको छँदै थियो, हद त उनले डोनाल्ड ट्रम्पको पक्षमा चुनावी नतिजा पार्न भूमिका खेलेर पनि पार गरिदिए।

५३ वर्षीय इलन मस्क शृंखलाबद्ध कम्पनी संस्थापकका रूपमा उदाएका हुन्। उनको जन्म दक्षिण अफ्रिकाको प्रिटोरियामा भएको थियो। उनले सानै उमेरदेखि नै घरेलु चकलेट बनाउने र तिनलाई बेच्ने प्रतिभा देखाइरहेका बेला अकस्मात १२ वर्षको उमेरमा पहिलो कम्प्युटर गेम बनाए।

बाल्यकालमा नै उनका अभिभावकको सम्बन्ध विच्छेद, विद्यालयमा उनीमाथि भएका अत्याचार र खास किसिमको रोग ‘आस्पर्जर सिन्ड्रोम’का कारण उनी बुद्धुजस्तो देखिन्थे तर प्रतिभाका कारण उनले चाँडै स्कुले अध्ययन पूरा गरे भने क्यानडामा उनले कलेज पढे। आफ्नो व्यावसायिकताको सपना अमेरिकाले पूरा गर्ने ठानी उनी अमेरिका गए।

अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयमा उनले अर्थशास्त्र र भौतिकशास्त्र अध्ययन गरे। यो एउटा प्रख्यात कलेज थियो। यही कलेजमा उनले पहिलो पत्नी जस्टिन मस्कलाई फेला पारेका थिए। उनी आफूलाई ‘अल्फा मेल’ ठान्थे। अल्फा मेल यस्तो व्यक्ति हो, जसमा उसले कसैको मुखबाट पनि ‘नाइँ’ शब्द सुन्न सक्तैन। उनले जस्टिनसँग झगडा हुँदा सधैं यही भनेर फकाउन खोज्थे।

उनी कलेज पढ्दै गर्दा सन् १९९० को दशकमा ‘डटकम बूम’ भइरहेको थियो। यही क्रममा उनले दुई वटा प्रविधिसम्बन्धी स्टार्टअप सुरु गरे। यसमा एउटा वेब सफ्टवेयर कम्पनी थियो भने अर्को अनलाइन बैंकिङ कम्पनी थियो। पछि अनलाइन पेमेन्ट कम्पनी पेपालमा परिणत भयो। यो कम्पनीको लोकप्रियतासँगै उनले सन् २००२ मा डेढ अर्ब डलरमा बेचिदिए।

यसपछि उनले शृंखलाबद्ध अन्य कम्पनीहरू पनि सुरु गरे। त्यसमध्ये संसारले भविष्यमा पेट्रोलकार चढ्न छोड्छ भन्ने घोषणा गर्दै विद्युतीय कार कम्पनी टेस्ला स्थापना गरेका थिए। यो सुन्दा धेरैले हाँसोमा उडाएका थिए। उनले रकेट कम्पनी स्पेस एक्स स्थापना गर्दा पनि धेरै मान्छे हाँसेका थिए। अहिले स्पेस एक्स नासाको विकल्प कम्पनीका रूपमा उदाइरहेको छ।

त्यसो त उनले संसारकै धनी मानिसको श्रेय यत्तिकै पाएका भने होइनन्। बीचमा उनका कम्पनीहरू टाट पल्टिने अवस्थामा थिए। सन् २०२२ मा ट्विटर किन्दा पनि उनी झन्डै टाट पल्टिएका थिए। ट्विटरलाई त यति खतरा मोले कि नाम नै परिवर्तन गरेर एक्स राखे।

यो नाउँ कसैले पनि स्वीकार्ने छैन, प्रयोगकर्ताहरू बिच्किने छन् भन्ने धेरैको आशंका थियो तर त्यसका विपरीत ट्विटर छाड्नेहरूको संख्या निकै कम नै रह्यो। ट्विटरका संस्थापकहरूले ब्ल्यु स्काइसमेत स्थापना गरे तर ट्विटरको सफलता हात पार्न अझै सकेका छैनन्। त्यसो त एक्सको हालत पनि उति राम्रो छैन। उनले ४४ अर्ब डलरमा किनेको यो कम्पनीको अहिलेको बजार मूल्य आधाभन्दा बढीले घटेर १९ अर्बमा झरेको छ।

उनी भविष्यद्रष्टा नै थिए भन्ने अर्को एउटा उदाहरण ओपनएआईमा गरेको लगानीबाट पनि प्रस्टिन्छ। ओपनएआईले जारी गरेको कम्पनी च्याटजिपिटीले बजारमा आउनेबित्तिकै तहल्का मच्चाएको थियो। सन् २०१८ मा यो कम्पनी सुरु गर्दा यसलाई सित्तैमा सर्वसाधारणमाझ जारी गरिने बताइएको थियो तर यसका प्रमुख कार्यकारी साम अल्टम्यानले यसलाई व्यावसायीकरण गरिदिए।

एउटा कम्पनी सधैं सित्तैमा ज्ञान बाँडेर अघि बढ्न सक्तैन, यसलाई जोगाउन केही आम्दानीको स्रोत चाहिन्छ भन्ने विश्वासमा अल्टम्यानले ग्राहक बनाउन थालेको कुरा मस्कलाई चित्त बुझेको थिएन। यही विषयमा यिनीहरूबीच मतभिन्नता भएपछि मस्कले ओपनएआई कम्पनी त्यागेका थिए। त्याग्ने मात्र होइन कि उनले कम्पनी र प्रमुख कार्यकारी अल्टम्यानलाई समेत मुद्दा हाले। उनको भनाइ थियो, कम्पनीको मूल मन्त्र गैरनाफामूलक कम्पनीबाट नाफामूलकमा परिणत गरियो, कम्पनी स्थापना गर्दा यस्तो उद्देश्य थिएन।

मस्कबारे पहिलो पटक सन् २०१५ मा एस्ली भान्सले जीवनी निकालेका थिए। भान्सको धारणामा मस्क झगडालु चरित्रका र अहंकारी व्यक्ति हुन्। केहीले त उनलाई पागल प्रतिभा नै भन्छन्। बोल्न हिच्किचाउने र अप्ठेरो अवस्थामा नाच्ने व्यक्तिका रूपमा पनि केहीले चिन्छन्। उनलाई ट्विटरमा निकै पटक ट्रोल गरिए पनि उनी त्यसलाई खासै भाउ दिँदैनन्। कहिलेकाहीँ त ट्विटरमा ससाना कुरामा झगडा गरिरहेका हुन्छन्।

उनी महिलाबारे उति गम्भीर छैनन् भन्ने कुरा त तीन पटक नै बिहे सम्बन्धविच्छेदमा टुंगिएबाट पनि बुझिन्छ। त्यसैले मस्कले २०२२ को टेड टकमा भनेका थिए, ‘तपाईंले मेरा नराम्रा कुराको सूची बनाउन थाल्नुभयो भने म संसारकै सबैभन्दा पापीमध्ये एक देखिन्छु तर जब तपाईंले मैले गरेका राम्रा कामहरूसँग मेरा खराबी तुलना गर्न थाल्नुहुन्छ, त्यो बेला मैले संसारका लागि भलो नै बढी गरेको पाउनु हुन्छ।’

मस्कको जिन्दगी विरोधाभाषमा चलिरहेको छ। उनी संसारकै धनी व्यक्ति भए पनि उनको निजी घर छैन। कम्पनी घाटामा जाँदा आफ्नो महँगो घर बेचेर भए पनि उनले जोगाएका थिए। ब्लुमबर्ग बिजनेसको अर्बपतिहरूको सूचीमा उनी सबैभन्दा धनीको एक नम्बरमा छन्।

उनको सम्पत्ति अहिले ४०० अर्ब रहेको अनुमान छ। अहिले टेस्ला कम्पनीको सेयर मूल्य बढेसँगै उनको सम्पत्ति बढेको थियो। टेस्लामा उनको १३ प्रतिशतभन्दा बढी सेयर छ। सन् २०२४ भरि मस्कले आफूले कम्पनीबाट ५६ बिलियन डलर तलब प्याकेज पाउनुपर्ने दाबी गरिरहेका थिए तर अदालतले उनको सो दाबीलाई अस्वीकार गरिदियो।

न्यायाधीश क्याथलिन म्याककोर्मिकले तलबलाई अकल्पनीय रकम भनेर अस्वीकार गरेकी थिइन्। उनको तर्क थियो, मस्कले कम्पनीका बोर्ड र सर्वसाधारण सेयर ७५ प्रतिशत लगानीकर्तालाई प्रभावित पारेर यो रकम लिन खोजिरहेका छन्।

मस्कले डिजिटल मुद्रा पनि चलाउने गर्छन्। उनले धेरै वटा ससाना कम्पनीमा लगानी गरिरहेका छन् । उनको भविष्यमुखी कम्पनी न्युरालिंक पनि अहिले चर्चामा छ। निकै समयदेखि इन्टरनेट सेवा प्रदायक स्टारलिंक पनि चलाइरहेका छन्। यो स्टारलिंकले उपग्रहबाट इन्टरनेट सेवा प्रदान गर्ने गर्छ। यो कम्पनीका कारण नै युक्रेनले आफ्नो युद्धलाई यति लामो समयसम्म टिकाउन सफल भएको विश्लेषण गरिन्छ।

उनी जति सफल व्यवसायी हुन्, उति नै विवादास्पद व्यक्ति पनि हुन्। कोभिड १९ का बेलामा अमेरिकाभरि लकडाउनको घोषणा गर्दा उनले ‘फाँसीवादी’ निर्णय भनेका थिए। त्यस्तै उनले क्यालिफोर्नियामा बढी नै नियन्त्रणमुखी नियमहरू भएको र उच्च करका दरको विरोध गर्दै टेक्सस राज्यमा सरेका थिए।

उनी भन्छन्, ‘म निजी फाइदाका लागि व्यवसाय चलाउँदिनँ। यो त परोपकार हो। टेस्लाले जलवायु परिवर्तनमा सकारात्मक भूमिका खेल्छ। एआईले पुर्‍याउने क्षति रोक्न सुपरबुद्धि भएको एआई बनाउन खोजिरहेको छु।’

मस्कका एक दर्जन सन्तान छन्। तीमध्ये ६ वटा उनकी पहिलो पत्नीबाट जन्मिएका छन्। तीन सन्तान क्यानडेली गायिका ग्रिम्सबाट जन्माएका छन्। बाँकी तीन जना सिवोन जिलिसबाट जन्माएका छन्। जिलिसले जुम्ल्याहा सन्तान जन्माएपछि उनले ट्विट गर्दै लेखेका थिए, ‘घट्दो जनसंख्याबाट उब्जने संकट निवारणका लागि सक्दो प्रयास गरेको छु।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर