पर्सा — कास्की पोखराको रूपा तालमा पालिएका सिपीबाट उत्पादित मोती सबैभन्दा चम्किलो र ठूलो आकारमा पाइएको छ । चार मिटर मात्र गहिराइ रहेको रूपाको पानीमा ‘फाइटोप्लाङ्कटन’ तत्त्व बढी रहेको र त्यो सिपीको आहारासमेत रहेकाले हुर्कन बढी मद्दत गरेको अनुसन्धाता बताउँछन् ।
‘सिपीले फाइटोप्लाङ्कटन तत्त्व पानीबाट छानीछानी खान्छ,’ मत्स्य अनुसन्धान केन्द्र पोखराका वरिष्ठ वैज्ञानिक डा. मोहम्मद इकवाल हुसैनले भने ।
‘यो तत्त्व नपाइने जलाशयमा युरिया, डीएपी र कम्पोस्ट मल हालेर पनि फाइटोप्लाङ्कटन उब्जाएर सिपीको आहारा बढाउन सकिन्छ,’ डा. हुसैनले भने । रूपासहित पोखराका फेवा र बेगनास तालमा ‘फ्रेस वाटर पर्ल फार्मिङ डेभलपेन्ट युजिङ लोकल बाई भल्भ’ कार्यक्रम सात वर्षदेखि सञ्चालनमा छ । तीमध्ये रूपामा सबैभन्दा राम्रो नतिजा आएको हो ।
सामुद्रिक सिपीहरू आकारमा ठूलो हुने भएकाले तिनमा प्राकृतिक रूपमा एकैसाथ धेरै मोती भेटिन्छ । नेपालको सन्दर्भमा तुलनात्मक रूपमा साना सिपी पाइन्छन् । यहाँ एउटा सिपीबाट अधिकतम २ वटासम्म मोती उत्पादन गर्न सकिने हुसैन बताउँछन् । सिपीको शरीरमा किसानले आफूले चाहेको मोतीको आकारको ससाना मूर्ति वा अन्य आकारका वस्तु प्रत्यारोपण गरेपछि सिपीले १२ देखि १८ महिनाको अवधिमा त्यसै आकारको मोती उत्पादन गर्छ । सिपीले आफ्नो शरीरमा प्रवेश गराइएको मूर्ति आकारको वस्तुमा क्याल्सियम कार्बोनेट तत्त्व थुपारेर मोती बनाउँछ । सिपीको शरीरमा प्रत्यारोपण गरिने मूर्ति आकारका वस्तु पनि सिपीकै खोलको धूलोबाट उत्पादन गर्न सकिन्छ । त्यसलाई विभिन्न आकार दिन चाहिने सामग्री सहजै बजारमा उपलब्ध हुने हुसैनले बताए ।
वैज्ञानिकका अनुसार सरदर १ हेक्टर जलाशयमा २० हजारवटा सिपी पाल्न सकिन्छ । गाउँघरका खोलानाला तथा जलाशयबाट सहजै सिपी संकलन गर्न सकिने हुसैनले बताए । ‘लेमिलिडेन्स मार्जिनालिस जातको सिपीबाट मोती उत्पादन बढी सफल हुन्छ र यो जातको सिपी नेपालमा सहजै उपलब्ध हुन्छ,’ उनले भने ।
मत्स्यपालक किसानलाई सिपीपालनमा पनि आकर्षित गर्न क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेश कार्यालय परवानीपुरमा बुधबारदेखि सिपीबाट मोतीको उत्पादन परीक्षण थालिएको छ । मत्स्य अनुसन्धान केन्द्र पोखराले कृषि अनुसन्धान निर्देशनालय परवानीपुरसँगको सहकार्यमा निर्देशनालयका प्राविधिक र किसानलाई तालिम दिएको हो । वरिष्ठ वैज्ञानिक हुसैनले स्थलगत रूपमै सिपीपालनको विधिबारे प्रशिक्षण दिएका थिए । कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीमा कार्यक्रम सकेर परवानीपुर र नेपालगन्ज निर्देशनालयमा पनि सञ्चालन गर्ने योजना रहेको हुसैनले बताए ।
कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक डा. विश्वेश्वरप्रसाद यादवले सिपीपालनबाट मत्स्य किसानले दोहोरो लाभ लिन सक्ने बताए । यो किसानको हितमा रहेकाले मधेशका सबै किसानमा विस्तार गर्न आफूले सक्दो प्रयास गर्ने उनको भनाइ छ । पर्सा भिष्वाका अगुवा मत्स्यपालक अरुण कुशवाहाले आफूजस्ता किसानका लागि सिपीपालन तालिम लाभदायी रहेको बताए । धेरै लगानी नहुने र राम्रो प्रतिफल पाइने भएकाले निकट भविष्यमै सिपीपालन सुरु गर्ने उनको लक्ष्य छ ।