नेभिगेसन मेनु

सुदूरपश्चिममा लागुऔषध प्रयोग भयावह
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-03 14:09

drugs2023-02-03-07-50-05

सुदूरपश्चिममा लागुऔषधको प्रयोग भयावह रूपमा बढ्न थालेपछि त्यसलाई रोक्न प्रहरीले स्कुले विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ । यस क्रममा प्रहरीले विद्यालयमै गएर १० देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थीलाई लागुऔषधविरुद्ध प्रशिक्षण दिन थालेको छ । 

धनगढीमा मात्र केही दिनयता एक दर्जन विद्यालयका करिब पाँच हजार विद्यार्थीलाई लागुऔषधविरुद्धको प्रशिक्षण दिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रशिक्षणमार्फत विद्यार्थीलाई लागुऔषधबारे सचेत गराउने कार्य प्रदेशका नौवटै जिल्लामा सुरु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्याम चौधरीले बताए । नागरिकलाई सचेत गराएर लागुऔषधको प्रयोग र कारोबारलाई रोक्न प्रदेश प्रहरी कार्यालयले चालू आर्थिक वर्षदेखि समुदाय तथा सरोकारवालाको सहभागितामा लागुऔषधविरुद्धको महाअभियान नै सुरु गरेको हो । अभियानअन्तर्गत विद्यालयमा प्रशिक्षण दिन थालिएको हो । 

‘लागुऔषधका मुद्दा र पक्राउ परेकाको तथ्यांक केलाउँदा अधिकांश प्रयोगकर्ता १६ देखि २० वर्ष उमेर समूहका छन्,’ प्रहरी उपरीक्षक चौधरीले नयाँ पत्रिकासँग भने, ‘त्यसैले यो उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर प्रदेशभरि नै विद्यालयमा प्रशिक्षण दिन थालेका हौँ ।’ लागुऔषधको प्रयोगले समाजमा आपराधिक घटना कसरी भइरहेका छन्, यसको प्रयोगले व्यक्ति, परिवार र समाजलाई कसरी क्षति भइरहेको छ भन्नेबारे प्रशिक्षणमा जानकारी दिने गरिएको उनले बताए । त्यस्तै, युवाहरू कसरी लागुऔषधको दुव्र्यसनीमा फसिरहेका छन् र यसबाट कसरी बच्ने भन्नेबारे पनि प्रशिक्षणमार्फत विद्यार्थीलाई सचेत गराउने गरिएको चौधरीले बताए । लागुऔषधविरुद्धको अभियानका प्रदेशभरिका सबै प्रहरी युनिट परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयको दाबी छ ।

प्रहरी एक्लैले रोक्न सक्ने अवस्था छैन : डिआइजी भरत बोहरा, सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

खुला सिमाना नै लागुऔषध नियन्त्रणको मुख्य चुनौती बनेको छ । यस्तै, बेरोजगारी र चेतनाको कमीका कारण पनि प्रयोगकर्ता बढेका छन् । त्यसैले प्रहरी एक्लैले मात्र लागुऔषधको प्रयोग रोक्न सक्ने अवस्था छैन, अभिभावक, समाजलगायत सरोकारवाला सबैको सहयोग चाहिएको छ ।

एक वर्षमै ८५६ जना पक्राउ

सुदूरपश्चिममा लागुऔषधको प्रयोग भयावह रूपमा फैलिएको तथ्यांकहरूले देखाएका छन् । तीन वर्षको अवधिमै लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या करिब तीन गुणाले बढेको छ । प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ मा प्रदेशभरि लागुऔषधसम्बन्धी दुई सय ५३ वटा मुद्दामा तीन सय ९४ जना पक्राउ परेका थिए । गत आर्थिक वर्षमा यससम्बन्धी पाँच सय ४० मुद्दा अदालतमा दर्ता भएका छन् भने आठ सय ५६ जना पक्राउ परेका छन् । 

आर्थिक वर्ष ०७७/७८ मा लागुऔषधसम्बन्धी मुद्दामा पाँच सय ६३ जना पक्राउ पर्नुका साथै तीन सय ५३ वटा मुद्दा दर्ता भएका थिए । पक्राउ पर्नेमध्ये अधिकांश १६ देखि २० वर्ष उमेर समूहका रहेका प्रहरी उपरीक्षक चौधरीले जानकारी दिए । प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ता महिलाको संख्या पनि बढ्दो छ । गत वर्ष मात्र यो मुद्दामा ६६ जना महिला पक्राउ परेका थिए । 

धनगढी, टीकापुर, महेन्द्रनगरलगायत भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुरका बजारहरूमा लागुऔषध प्रयोगको अवस्था अझ बढी विकराल छ । लागुऔषधसम्बन्धी गत आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये कैलालीका मात्र तीन सय ८४ छन् । यो अवधिमा कञ्चनपुरमा एक सय ५९ मुद्दा दर्ता भएका प्रहरीले जनाएको छ । कैलाली र कञ्चनपुरमा बढी भए पनि लागुऔषधसम्बन्धी मुद्दाहरू सबै जिल्लामा रहेका प्रहरीले जनाएको छ । पछिल्लो समय लागुऔषधविरुद्ध प्रहरी आक्रामक देखिएपछि कैलाली, कञ्चनपुरका सीमावर्ती बजारबाट प्रयोगकर्ता र कारोबारी दैनिकजसो पक्राउ पर्न थालेका छन् ।

कारोबार रोक्न खुला सीमा चुनौती

प्रहरीका अनुसार प्रदेशमा सबैभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) प्रयोग हुने गरेको पाइएको छ । जुन भारतबाट आयात हुन्छ । भारतसँगको खुला सिमाना लागुऔषधको प्रयोग र कारोबार रोक्न चुनौतीका रूपमा रहेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी भरत बोहराले भारतसँगको खुला सिमानाका कारण लागुऔषधको कारोबार रोक्न चुनौती रहेको बताए । ‘खुला सिमाना नै लागुऔषध नियन्त्रणको मुख्य चुनौती हो, बेरोजगारी र चेतनाको कमीका कारण पनि प्रयोगकर्ता बढेका छन्,’ डिआइजी बोहराले भने, ‘प्रहरी एक्लैले मात्र लागुऔषधको प्रयोग रोक्न सक्ने अवस्था छैन, अभिभावक, समाजलगायत सरोकारवाला सबैको सहयोग चाहिएको छ ।’ 

सुदूरपश्चिममा लागुऔषधका प्रयोगकर्ता र कारोबार निकै बढेपछि कार्ययोजना बनाएरै यसविरुद्ध प्रहरीले कार्यक्रम गरिरहेको उनले जानकारी दिए । अहिले १० देखि १२ कक्षाका विद्यार्थीलाई सचेत गराउने कार्य प्रदेशभरि नै चलिरहेको उनले बताए । ‘७ देखि १० कक्षासम्मका विद्यार्थीलाई पनि लागूऔषधबारे सचेत गराउने योजना छ,’ उनले भने ।

लागुऔषध प्रयोगले अपराध बढेको निष्कर्ष

चोरी, बलात्कारजस्ता आपराधिक घटना बढ्नुको मुख्य कारण लागुऔषध भएको प्रहरीको निष्कर्ष छ । चोरी, बलात्कार, हिंसा, सवारी दुर्घटनाजस्ता अधिकांश घटनाका अभियुक्त लागुऔषध प्रयोगकर्ता हुने गरेको प्रहरी उपरीक्षक चौधरीले बताए । प्रदेश प्रहरी कार्यालयले धनगढी उपमहानगरको सहकार्यमा लागुऔषध प्रयोगकर्ता राख्न धनगढीको फूलबारीमा सुधारगृह सञ्चालनको तयारी गरेको छ । ‘अहिले पक्राउ पर्नेहरू धेरैजसो कारोबारी हुन्, अब प्रयोगकर्तालाई पनि सुधारगृहमा राख्छौँ,’ डिआइजी बोहराले भने । लागुऔषधको जालो भत्काउन विद्यार्थी मात्र नभई समुदायलाई सचेत गराउने कार्यक्रम पनि प्रहरीले चलाइरहेको उनले बताए । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर