नेभिगेसन मेनु

इन्जिनियरिङमा वृद्धि भएको शुल्क रद्द
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-08 12:21

thumb (2)

काठमाडौँ — इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले त्रिभुवन विश्वविद्यालयको निर्देशनमा वृद्धि गरेको शिक्षण शुल्क रद्द गरेको छ । विद्यार्थी आन्दोलन चर्केपछि त्रिवि कार्यकारी परिषद्ले विद्यार्थीसँग छलफल गरेर शुल्क फिर्ता लिन पहल गर्ने सहमति गरेको थियो ।

उपकुलपति कार्यालयको निर्देशनमा शुल्क पुनरावलोकन समिति गठन गरिएको आईओई डिन कार्यालयले जनाएको छ । शुल्क पुनरावलोकन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय समिति गठन गरिएको डिन शशीधरराम जोशीले जनाए । पुल्चोक क्याम्पसका सहप्राध्यापक हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन भएको हो । समितिमा प्राध्यापक, कर्मचारी र विद्यार्थी प्रतिनिधि सदस्य छन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियु सभापति विराज अर्यालले समितिमा बस्न अस्वीकार गरेका छन् । शुल्क वृद्धिका उद्देश्यले समिति गठन गरिएकाले साक्षी नबस्ने उनले बताए ।

उपकुलपति धर्मकान्त बाँस्कोटालगायत त्रिवि पदाधिकारीले नेविसंघ, अखिल क्रान्तिकारीलगायत ५ विद्यार्थी संगठन र प्रतिपक्षी अनेरास्ववियुका विद्यार्थीसँग शुल्क वृद्धिको विषयमा छुट्टाछुट्टै सहमति गरेका थिए । सर्वपक्षीय समिति बनाएर पुनरावलोकन गर्ने र त्यसपछि मात्र आगामी शैक्षिक सत्रको भर्ना आह्वान गर्ने सहमति भएको छ । त्यसको कारण प्रवेश परीक्षाको कार्यक्रम प्रभावित बनेको अर्यालले बताए । भदौ १९ यताको प्रवेश परीक्षाको कार्यक्रम डिन कार्यालयले स्थगित गरेको छ । शुल्क कायम गरेर मात्र विद्यार्थी भर्ना लिन उचित हुने आईओईका पदाधिकारीको भनाइ छ ।

प्रवेश परीक्षा ढिला गर्दा विद्यार्थी विदेश र अन्य विश्वविद्यालयमा भर्ना हुन जाने उनले बताए । ‘सकभर विद्यार्थी आईओईमा पढ्न चाहन्छन्, त्यहाँ नपाए मात्र अन्य कलेजमा जाने हुन्,’ उनले भने, ‘आईओईमै प्रवेश परीक्षा र भर्ना ढिलो हुँदा पछि विद्यार्थी नपाउने हुन सक्छ, अन्यत्र भर्ना खुलिसकेको छ ।’ शुल्क कायम गर्न समितिले बुधबारबाट काम थालेकाले प्रवेश परीक्षा कहिले हुने निश्चित नभएको डिन कार्यालयले जनाएको छ । ५ आंगिक र १० निजी क्याम्पसमा करिब ४ हजार २३ भर्ना कोटाका लागि १२ हजार विद्यार्थीले प्रवेश परीक्षा दिने अनुमान छ ।

भदौ १३ मा त्रिवि पदाधिकारीले ५ विद्यार्थी संगठन र १७ गते अनेरास्ववियुका विद्यार्थीसँग सहमति गरेका थिए । सहमतिपछि विद्यार्थी आन्दोलन रोकिएको छ भने प्रवेश परीक्षाबाहेकका अन्य परीक्षाहरू सुचारु हुन थालेका छन् । आईओईले बीईका १२ विषयको अध्ययन शुल्क ३ लाख १८ हजारबाट बढाएर ७ लाख ७७ हजार पुर्‍याउने निर्णय गरेको थियो । साउन २५ को निर्णयअनुसार शुल्क वृद्धि गरिएको जनाएको छ । अधिकांश विद्यार्थी संगठन शुल्क वृद्धिको विरोधमा अन्दोलित बनेपछि त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले फिर्ता लिन निर्देशन दिएका थिए । आईओईका पदाधिकारीले भने शुल्क वृद्धि

नभए सामूहिक राजीनामा दिने चेतावनी कुलपति र उपकुलपतिलाई दिँदै आएका छन् । ७ लाख ७७ शुल्कबाट केही घटाउन सकिने उनीहरूको भनाइ छ ।

निजी कलेज सञ्चालक रहेका डिन कार्यालयका पदाधिकारीले आंगिक कलेजको शुल्क वृद्धि गर्ने निर्णय गरेको विद्यार्थीले दाबी गर्दै आएका छन् । आंगिक कलेजको शुल्क वृद्धि भए निजीमा पनि बढाउन पाइने र विद्यार्थी थोरै हुने विषयमा निजीमा आंगिकभन्दा थोरै शुल्क राखेर विद्यार्थी आकर्षण गर्ने योजना बनाइएको विद्यार्थीको दाबी छ । ०५४ सालमा शुल्क तोक्दा वार्षिक रूपमा १० प्रतिशतका दरले वृद्धि गर्दै लैजाने निर्णय भए पनि त्यसलाई कार्यान्वयन गर्न नसकेको डिन कार्यालयले एकैपटक दोब्बरभन्दा बढीले अध्ययन शुल्क बढाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर