बेलडाँगी/झापा — वर्ष ७० का डमलाप्रसाद अधिकारी बेलडाँगी शरणार्थी शिविर, सेक्टर ३ को ३१४ नम्बर झुप्रोमा एक्लै छन् । भदौरे झरी चुहिएर ओसिलो बनेको झुप्रोको छेउकुना खोतल्दै लिएर आए, झापा जिल्ला अदालतमा श्रीमतीले गराएको एकतर्फी सम्बन्धविच्छेदको कागजात ।
‘कहिले चन्द्रगढी जिल्ला प्रशासन, कहिले जिल्ला अदालत धाइरहेका रहेछन्, यसैका लागि रहेछ भन्ने पछि पो थाहा भयो,’ डमलाप्रसादले सुनाए । पूर्वी नेपालका शरणार्थी शिविरहरूमा रहेका भुटानी शरणार्थीको पुनर्बसोबासको क्रम सुरु भएपछि डमलाप्रसादका २ छोरा र १ छोरी पहिल्यै अमेरिका गइसकेका थिए । श्रीमती र कान्छी छोरीले भने बाबुसँगै शिविरमा बस्ने, कहींकतै नजाने भनेका थिए । तर, २०१६ फेब्रुअरी २ मा हँडिया बुधबारेमा आफन्तको विवाहमा जाने भनी निस्केका उनीहरू फेरि फर्केर शिविर आएनन् ।
‘घरपरिवार भएको मान्छे मेरो एकतर्फी सम्बन्धविच्छेद कसरी हुन्छ ? यूएनएचआरसीले खटाएका वकिलले अनेक प्रक्रिया पुर्याएर ‘डिभोर्सर्’ गरिदिएका रहेछन्,’ श्रीमती र छोरी ‘बेपत्ता’ भएपछि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् (यूएनएचआरसी), आप्रवासन संगठन (आईओएम) र स्थानीय प्रहरीमा सोधखोज गरेपछि मात्रै उनले थाहा पाएका रहेछन्, श्रीमती र कान्छी छोरी पनि अमेरिका गएको । उनी भन्छन्, ‘विवाह र परिवार भनेको विश्वासको सम्बन्ध हो, तर आफ्नै श्रीमती अविश्वासी निस्किएपछि मैले फेरि हत्ते हालिनँ ।’ श्रीमतीले बनाएको एकतर्फी सम्बन्धविच्छेदको कागज मात्रै नभई १८ वर्षकी कान्छी छोरीलाई पनि नक्कली ‘डिभोर्स पेपर’ बनाएरै अमेरिका लगिएको रहेछ ।
श्रीमती र छोरी ‘बेपत्ता’ भएपछि डमलाप्रसादले दमक, झापास्थित आईओएम कार्यालयमा शिविरमा ल्याइपाऊँ’ भनी निवेदन दिएका थिए । तर, त्यसको कहींकतै सुनुवाइ भएन । डमलाप्रसादले पछि मात्रै थाहा पाए, शिविरका थुप्रै महिला, पुरुष यसैगरी सम्बन्धविच्छेदको जालसाजी कागज बनाएर अमेरिका उडेका रहेछन् । यसो गर्नमा यूएनएचसीआर र आईओएमको पनि पूरापूर मिलेमतो हुने उनी बताउँछन् । २००७ देखि झन्डै १० वर्षसम्म पुनर्बसोबासमा गएका १ लाख १३ हजार शरणार्थीको सूचीसमेत यूएनएचआरसीले कसैलाई दिएको छैन । सूची हुँदा नक्कली र सक्कली शरणार्थीको पत्तो लाग्न सक्ने थियो । ‘अहिले पो नेता र राज्यले गरेको नक्कली शरणार्थीको कथा आयो त । तर, यो शिविरभित्र यस्ता नक्कली काण्ड कति छन् कति ?,’ उनले सुनाए ।
अमेरिकाको पेन्सिल्भेनिया राज्यमा बस्ने श्रीमती र छोराछोरीले यदाकदा फोन गर्छन् तर कुनै परायासँग कुरा गरेजस्तो मात्रै । त्यसो त डमलाप्रसादलाई श्रीमती छोराछोरीको करकापमा विदेशी मुलुकमा आश्रित भएकी लाग्छ । ‘श्रीमतीलाई मात्रै दोष लगाउनुको पनि अर्थ छैन’ यही बोक्रे सम्बन्धका कारण उनी साह्रोगाह्रो पर्दा पनि सहयोग नमाग्ने गरेको र उनीहरूले पनि त्यसबारे वास्ता नगरेको उनी सुनाउँछन् ।
साक्षर मात्रै रहेका उनी जीवनको उत्तरार्धमा एकल जीवन बिताउनुपर्दा पनि खासै गुनासो गर्न रुचाउँदैनन् । आखिर गुनासो सुनिदिने–बुझिदिने पनि को नै छ र ?
दक्षिणी भुटानको गेलेफुबाट सन् १९९१ मा लखेटिएर तल फुन्चोलिङ—जयगाउँ आएका डमलाप्रसादले त्यसको एक वर्षपछि मात्रै गेलेफुबाट परिवार झिकाएर गोलधाप शरणार्थी शिविर आएका थिए । यता आएपछि सुरुमा गोलधाप शिविरमा ६ महिना र पछिल्लो ३० वर्ष यही बेलडाँगी शिविरमा बसेका छन् उनी । शिविरमा डमलाप्रसादजस्ता एक्लाहरूको संख्या निकै छ । पुरुष र महिला सरावरी एकल छन् । कोही सल्लाहले र कोही छलछाममा डिभोर्स गराइएका । बेलडाँगी शरणार्थी बस्ती व्यवस्थापन समितिका नवनिर्वाचित सचिव सन्चहाङ सुब्बाका अनुसार, यस्ता एकल व्यक्तिको संख्या निकै भए पनि यकिन तथ्यांक भने २ महिनाभित्रमा निकालिने बताए । यसमा एकल पुरुष वा महिला, विकलांक बालबच्चा, वृद्धवृद्धासहितको अलग तथ्यांक आउँदै छ । बेलडागी र पथरी शरणार्थी शिविरमा गरेर अहिले ६ हजार ३ सय ५० भुटानी छन् ।
श्रीमतीको खुबै याद आएपछि एकपटक उनी यूएनएचसीआर कार्यालय पनि पुगेका थिए । तर त्यहाँका कर्मचारीले ‘डिभोर्स गरेकी श्रीमतीको हक खोज्दा थुनाउला’ भनेपछि उनी चुप लागेर शिविर फिरे । ‘मलाई अब त्यो डिभोर्स कागजमा सही गर्ने वकिल को रहेछ जान्ने इच्छा छ । र, सोध्न मन छ, तिमीलाई जीवनमा कति पैसा भए पुग्छ होला ?,’ उनी भन्छन् ।
बाँसको टाट्नाले बेरेको पुरानो झुप्रोभित्र आफूलाई छाडी जाने श्रीमती र छोराछोरीको फोटो पनि उनले राखेका रहेनछन् । ‘त्यो तस्बिर त झनै पिरोल्ने कुरा हो । स–शरीर छेउमै राखेर दुःखसुख बाढिरहँदा त केही भएन,’ डमलाप्रसाद भन्छन्, ‘अब किन चेपारो गर्नु र ?’ गत शनिबार साँझ डमलाप्रसादको झुप्रोमा पुग्दा उनी भिन्डी टिप्न बारीमा थिए । ७० वर्षको वृद्ध उमेरमा एक्लिएका डमलाप्रसाद एकान्तमै हाँसखुस नै रहे जस्तो देखाउँथे ।
‘मनमा पीडा, व्यथा त कति छन् कति नि । तर, आफू रोयो भने दुनियाँ हाँस्छ, त्यही भएर पनि म रुन चाहन्नँ ।’ डमलाप्रसादले कवि कटुवालका बारेमा त सुनेका थिएनन् होला पक्कै, तर उनको हाउभाउ र परित्यक्त मिजास हेर्दा भने सम्झना हुन्थ्यो– यो जिन्दगी खै के जिन्दगी !