नेभिगेसन मेनु

युवा विदेश पलायनले कृषिमा महिला र प्रौढ बढी
सम्पादक:南亚网络电视
लेखक:कान्तिपुर
समय:2023-09-08 12:14

thumb

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ‘राष्ट्रिय कृषि गणना–०७८’ अनुसार पछिल्लो १० वर्षमा कृषिमा लाग्ने महिलाको संख्या १३ प्रतिशतले बढेको छ भने पुरुषको संख्या घटेको छ । उमेर समूहका हिसाबले ५४ वर्षमुनिका किसानको संलग्नता पनि घट्दै गएको छ ।

कृषिमा युवाको संख्या घट्नुको कारण रोजगार र अध्ययनको सिलसिलामा विदेशिनु रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी तोयम रायाको दाबी छ । ‘५० लाखभन्दा बढी नेपाली विदेशमा छन् । तीमध्ये २६ लाख श्रम स्वीकृति लिएका छन्,’ रायाले भने, ‘युवाहरू विदेशिएपछि त्यसको असर कृषिमा देखिएको हो ।’ युवा जनशक्ति विदेशिएसँगै कृषि क्षेत्रमा महिला र प्रौढहरूको संख्या बढ्नु बाध्यात्मक परिस्थिति रहेको विश्लेषण छ ।

विदेश अध्ययनका लागि गत वर्षमात्रै १ लाख १० हजार २ सय १७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका थिए । जसमा अध्ययनका लागि नेपालबाट १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । अध्ययनसँगै काम गर्दा गतिलो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेशिने क्रम बढेको हो । वैदेशिक अध्ययन जस्तै वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिनेको संख्या पनि उच्च छ । गत वर्ष मात्रै वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै बढी अर्थात् ७ लाख ४० हजार थियो । अघिल्लो आर्थिक वर्षमा करिब ६ लाख ३० हजारले श्रम स्वीकृति लिएका थिए । अध्ययन र श्रमका लागि विदेशिएपछि त्यसको प्रत्यक्ष प्रभाव कृषिमा परेको जानकार बताउँछन् ।

मुलुकमा ५० प्रतिशतभन्दा बढी टुक्रे जग्गा भएकाले किसान परिवार बढेको र कृषियोग्य जमिन घटेको कृषिविज्ञ कृष्ण पौडेलले जनाए । जमिनको कित्ताकाट र किसान परिवार बढेको देखिएको हो । ‘बुढापाकाले मात्रै खेती गरिरहेका छन्, नयाँ पुस्ता यसतर्फ आकर्षित हुन सकेको छैन,’ उनले भने, ‘उनीहरूलाई कसरी कृषिमा आकर्षित गर्ने भन्नेबारे योजना बनाउन यो कृषि गणनाले सघाउँदैन ।’ २०६८ को कृषि गणनाअनुसार २५ वर्षभन्दा मुनि उमेर समूहका मुख्य किसानको हिस्सा ३.१ प्रतिशत थियो भने ०७८ सम्म आइपुग्दा यो उमेरका मुख्य किसानको हिस्सा २.६ प्रतिशतमा झरेको छ । एक दशकमा २५ देखि ३४ वर्ष उमेर समूहका कृषकहरू १६.१ प्रतिशतबाट घटेर १४.९ प्रतिशतमा झरेको छ । ३५ देखि ४४ वर्ष उमेर समूहका किसानको संख्या पनि घटेको गणनाले देखाउँछ । ०६८ को गणनामा यो उमेर समूहका किसानको हिस्सा २६.७ प्रतिशत थियो भने त्यसको १० वर्षमा १ प्रतिशत घटेको छ । ४५ देखि ५४ वर्ष उमेर समूहका पनि २५.१ प्रतिशतबाट २४.८ प्रतिशतमा घटे पनि ५५ देखि ६४ उमेर समूहका किसानको संख्या भने दस वर्षको अवधिमा १७.६ प्रतिशतबाट बढेर १८.३ प्रतिशतमा पुगेको छ । ६५ वर्षभन्दा बढी उमेरका मुख्य किसान पनि ११.४ प्रतिशतबाट बढेर १३.७ प्रतिशत पुगेको छ ।

कृषि गणना ०६८ अनुसार मुख्य किसानमा महिलाको हिस्सा १९ प्रतिशत मात्रै थियो । १० वर्षमा यो संख्या पनि बढेर ३२ प्रतिशत अर्थात् ३ लाख ३८ हजारमा पुगेको छ । महिला र प्रौढ कृषकको संख्यामा बढोत्तरी भए पनि कृषिमा उपयोग गरिएको जग्गा भने घटेको तथ्यांकले देखाएको छ । राष्ट्रिय कृषि गणना ०७८ अनुसार मुलुकमा अहिले २२ लाख हेक्टर जग्गामा मात्रै कृषि कार्य भइरहेको छ । विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको हो । हिमाली क्षेत्रमा ०.२ प्रतिशत किसान परिवार बढ्दा कृषियोग्य जमिन २१.७ प्रतिशतले घटेको छ भने पहाडमा किसान परिवार ७.७ प्रतिशतले बढे पनि कृषि हुने जग्गा १२ प्रतिशतले घटेको देखिएको छ । तराईमा किसान परिवार ९.४ प्रतिशतले बढ्दा कृषि हुने जमिन भने ११ प्रतिशतले घटेको छ । अस्थायी बाँझो जग्गा पनि ०६८ को ३० हजार हेक्टरभन्दा १० वर्षमा दोब्बरले बढेर ६० हजार हेक्टरमा पुगेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम ठकुरी कृषि गणनाबारे अध्ययन गरेपछि मात्रै प्रतिक्रिया दिने भन्दै पन्छिइन् । कृषिमा आबद्ध परिवार बढे पनि कृषियोग्य जग्गा घटेको र बाँझो जग्गा बढेकामा मन्त्रालयले अध्ययन गरेर कार्यक्रम बनाइरहेको उनको भनाइ छ । पछिल्लो १० वर्षको अन्तरालमा पशुपालन गर्ने किसान परिवारको संख्या भने ५१ हजार १ सय ५७ ले बढेर ३४ लाख ५ हजार १४ पुगेको छ ।

कृषि गणना ०७८ अनुसार नेपालमा गाईगोरुको संख्या ४६ लाख, राँगाभैंसी २९ लाख, बाख्रा/खसी/बोका/च्यांग्रा १ करोड ४२ लाख, सुँगुर/बंगुर/बँदेल १४ लाख र कुखुराको संख्या ४ करोड ५१ लाख रहेको तथ्यांकले देखाएको छ । उन्नत गाई र भैंसीको संख्यामा भने उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ । यस्तै १० हजार ३ सय ७५ किसान परिवारले झन्डै ५ सय ९८ हेक्टर जग्गामा पुष्प/नर्सरी खेती गरेको देखिएको छ । कृषि गणना ०७८ अनुसार ४ लाख ८३ हजार २ सय ८ अर्थात् ११.७ प्रतिशत परिवारले कृषि प्रयोजनका लागि ऋण लिएको बताएका छन् । ०६८ को गणनामा यस्तो ऋण लिएका किसान ८ लाख ३५ हजार ९ सय २१ अर्थात् २१.८ प्रतिशत थिए ।

कृषि गणना ०७८ अनुसार मुलुकमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ किसान परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो गणनाअनुसार भने ३८ लाख ३१ हजार ९३ परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेका थिए । नेपालमा ६२ प्रतिशत परिवार कृषिमा रहेको उल्लेख छ । अघिल्लो कृषि गणनाअनुसार यस्ता किसान परिवार ७१ प्रतिशत थिए । किसान परिवारको १२ लाख ९ हजार २ सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको उल्लेख छ । जुन ५४.५ प्रतिशत हो । अघिल्लो गणनामा यो ५२ प्रतिशत मात्र थियो । बाह्रै महिना सिँचाइ उपयोग भएको जग्गाको क्षेत्रफल ७२.७ प्रतिशत छ ।

विगतका गणनामा जस्तै यस पटक पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली लगाइएको पाइएको छ । कुल २५ लाख ८६ हजार १ सय ८३ हेक्टर जग्गामा खाद्यान्न बाली लगाएको कृषि गणनामा उल्लेख छ । १ लाख ९९ हजार ८ सय ४४ हेक्टरमा कोसे/दाल, १ लाख ८० हजार १ सय ४१ हेक्टरमा तेल, १ लाख ७ हजार ४ सय २४ हेक्टरमा तरकारी, १ लाख ४ हजार ७ सय ३७ हेक्टरमा कन्दमूल, ५ लाख ६ लाख ८ सय ९३ हेक्टरमा मसला र ४४ हजार ६ सय ९ हेक्टरमा नगदे बाली लगाइएको पाइएको छ । १२ लाख १६ हजार ३ सय ८७ हेक्टरमा धान बाली लगाइएको कृषि गणना ०७८ मा उल्लेख छ । कृषिका लागि ट्र्याक्टर प्रयोग गर्ने किसानको संख्या बढेको देखाएको छ भने फलामे हलोको प्रयोग घट्दै गएको देखिएको छ ।

कृषि गणना ०७८ अनुसार ४.४ प्रतिशत किसानले कृषि बिमा गरेका छन् । यसरी बिमा गरेकामध्ये सबैभन्दा बढी ८४.४ प्रतिशत परिवारले पशुपालनका लागि बिमा गरेको देखिएको छ । यस गणनाअनुसार ३ लाख ८ हजार ५ सय १२ अर्थात् ७.५ प्रतिशत किसानले सरकारी अनुदान पाएको कृषि गणनामा उल्लेख छ । सबैभन्दा बढी रासायनिक मल खरिदमा अनुदान पाएका हुन् ।

मुलुकका ६८.८ प्रतिशत किसानले घरायसी उपभोगका लागि मात्रै कृषि कार्य गर्ने गणनाले देखाएको छ । सबै कृषि उत्पादन बिक्रीका लागि १.१ प्रतिशतले मात्र खेती गर्छन् । घरायसी उपभोगसहित बिक्रीका लागि उत्पादन गर्ने २४.७ प्रतिशत छन् । कुल किसानमध्ये २६ प्रतिशतले कृषिका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि गरेका छन् । अघिल्लो वर्ष यो १६ प्रतिशत थियो । आम्दानीको मुख्य स्रोत कृषिकार्यलाई बनाउनेको संख्या ७०.४ प्रतिशत छ । जुन अघिल्लो गणनामा ८३.१ प्रतिशत थियो । कुल किसानमध्ये ४५ प्रतिशतलाई मात्र आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभर खान पुग्ने बताएका छन् । अघिल्लो वर्ष यस्तो ४० प्रतिशत थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर