नेभिगेसन मेनु

रोजगारी सिर्जनाको प्रयत्न गरेका छौँ
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-08-24 12:58

Untitled-1 (1)

व्यास तनहुँ जिल्लाको सबैभन्दा जेठो र ठुलो नगरपालिका हो। सेती र मादी नदीको पवित्र सङ्गम तटमा अवस्थित महर्षि वेदव्यास र पराशरको तपोभूमिमा रहेको यो नगरपालिकाको कार्यालय तनहुँको सदरमुकाम दमौलीमा छ। बहुदलीय प्रजातन्त्र पुनस्र्थापनापश्चात् साबिक दमौली र स्याम्घा गाविसका केही क्षेत्र समेटेर २०४८ साल चैतमा व्यास नामकरण गरी घोषणा गरिएको हो। २०७१ सालमा पोखरीभन्ज्याङ गाविस यस नगरपालिकामा गाभिएको थियो। व्यास नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट वैकुण्ठ न्यौपाने दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। नगर प्रमुख न्यौपानेसँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी : 

तपाईंको कार्यकालमा हालसम्म भएका मुख्य उपलब्धि के हुन् ? 

‘विविधतायुक्त गाउँ सहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नारा हामीले तय गरेका छौँ। सोही आधारमा कृषि, पर्यटन, शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी काम अघि वढाएका छौँ। प्रशासनिक भवन र वडा कार्यालय निर्माण, खानेपानी र सडकलाई प्राथमिकतामा राखी काम अघि बढाइएको छ। व्यास पराशर क्षेत्र, पुलि-याङ, तनहुँसुर, प्रतिमाङ, गलेखामकोट, कर्लुङकोट आदिको पर्यटन प्रवर्धनका काम गरिएको छ। बैरेनी जग्गा विकास आयोजना, नारेश्वर ताल निर्माण, १०८ फिट व्यासको मूर्ति निर्माण, मादी नदी एकीकृत विकास परियोजनालगायतको क्षेत्रमा काम भइरहेको छ। 

पहिलो र दोस्रो कार्यकालमा फरक अनुभव भएको छ ? 

पहिलो कार्यकालमा कोभिडको प्रभावले दुई वर्ष कामले गति लिन सकेन, दोस्रो कार्यकालमा आर्थिक मन्दीले प्रभाव पारेकाले अपेक्षित उपलब्धि देखाउन कठिन भएको छ। धेरै अधुरा योजना छन्। विकासमा पछाडि परेको वर्गलाई विकासको मूलप्रवाहमा ल्याउन कठिनाइ भएको छ। सङ्घ सरकारले दोस्रो कार्यकालको पहिलो वर्षमा करिब १२ करोड रुपियाँ विनियोजित समानीकरण र राजस्व बाँडफाँटको रकम उपलब्ध गराएन। 

आन्तरिक आयमा पनि झन्डै १० करोड रुपियाँ कमी भयो। सङ्घले वाचा गरेका समपूरक र विशेष योजनाको रकम भुक्तानी गरेको छैन। गत आव २०७९/८० को करिब १४ करोड रुपियाँको भुक्तानी दिन बाँकी छ। दोस्रो कार्यकालमा नगरवासीको अपेक्षा ज्यादा छ। आर्थिक अवस्था कमजोर भएको छ। 

सदरमुकाम दमौलीमा सुविधासम्पन्न अस्पताल अझै बन्न सकेन भन्ने गुनासो छ नि ? 

दोस्रो कार्यकालका लागि मैले अधुरा योजना पूरा गर्ने र विकासमा पछि परेको वर्गलाई विकासको मूलप्रवाहमा ल्याउने प्रयास गरेको छु। बजेट कम भएकाले उपलब्धि देखिएको छैन। दमौलीमा भएको अस्पताल गण्डकी प्रदेश सरकार अन्तर्गतको हो। नगरपालिकालाई त्यसमा खासै दायित्व र भूमिका दिइएको छैन। अस्पताल व्यवस्थापन समितिमा राजनीतिक आधारमा मनोनयन गर्ने प्रवृत्तिले अस्पतालको विकासमा प्रगति हुन सकेको छैन। अस्पताललाई स्तरीकण गर्न जग्गाको कमी छ। प्रदेश अन्तर्गतकै अस्पताल, अस्पतालसँग जोडिएका जग्गा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश सरकारमातहत नै छन्। प्रदेश सरकारको इच्छाशक्ति नभएका कारण अस्पतालको स्तरीकरण हुन सकेको छैन। नगरपालिकाले अलग अस्पतालका लागि व्यास नगरपालिका–११ स्थित बाघेचौर प्रस्ताव गरेका छौँ। 

बेरोजगारीको सम्बोधनका लागि कस्ता योजना छन् ? 

बेरोजगारी देशकै समस्या हो। आर्थिक मन्दीले उद्योग कलकारखानाले गति लिन सकेको छैन। कृषि व्यवसायमा रोजगारी सिर्जना गर्ने प्रयास भइरहेको छ। नगरपालिकाको क्षमताभित्र मात्रै रोजगारीको प्रत्याभूति गर्ने तागत हुँदैन। हामी कृषि, पर्यटन, शिक्षा क्षेत्रमा रोजगारी सिर्जना गर्ने प्रयत्न गरिरहेका छौँ। 

कृषि क्षेत्रको विकासका लागि काम भएको हो ? 

कृषिलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ। कृषि ऋण र बैङ्कको नीतिगत कारणले गर्दा समस्या आएको छ। नगर प्रमुखको अध्यक्षतामा कृषि व्यवसाय प्रवर्धन समिति गठन गरी सङ्घ, प्रदेश सरकारसँग समन्वय गरी कृषि क्षेत्रको प्रवर्धन गर्न हामी लागिपरेका छौँ। 

पर्यटन क्षेत्रको विकासका लागि कसरी काम गरिरहनुभएको छ ? 

पर्यटन क्षेत्रका लागि मानहुँ–पुलिम-याङ म्याराथन, व्यास गुफा–तनहुँसुर महिला हाफ म्याराथन, १०८ फिट मूर्ति निर्माणको काम भइरहेको छ। मानहुँकोट, तनहुँसुर गलकोट, कलुङकोट, व्यास पराशर क्षेत्र विकास होमस्टे प्रवर्धनमा नगरपालिका क्रियाशील छ। मादी नदी एकीकृत विकास परियोजना, नारेश्वर ताल निर्माणलगायतका योजना अघि बढाइएको छ। 

समग्रमा के कसरी काम भइरहेको छ ? 

तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा रहेको व्यास नगरपालिकामा करिब ७९ हजार जनसङ्ख्याको बसोबास छ। नगरपालिकाभित्र विविधता छ। राजनीतिक, सामाजिक, भौगोलिक सन्तुलन कायम गरेर नगरपालिकाको आय वृद्धि गरी नगरवासीको सेवामा इमानदारीपूर्वक लागिपरेका छौँ। प्रदेश र सङ्घ सरकारसँग साझेदारीमा अघि बढ्नुपर्ने हुन्छ। नगरपालिकाको स्रोतसाधनको अधिकतम सदुपयोग गरेका छौँ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर