नेभिगेसन मेनु

चार दिनदेखि सडकमा यात्रुको बास
सम्पादक:南亚网络电视
समय:2023-08-09 12:49

Untitled-2

बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका कारण सडकमाथिबाट पहिरो खसिरहेको छ। 

सडकमाथिबाट खसेको पहिरोका कारण रघुगङ्गा गाउँपालिका–२, बैसरी खण्डमा शनिबारदेखि सडक पूर्ण रूपमा बन्द भएको छ । सडकमाथिबाट पहिरो खस्ने क्रम नरोकिएका कारण सडक खुलाउन सकिएको छैन। सडकमा सवारीसाधनको लामो लाइन छ। 

तीन दिनसम्म सडक खुलाउने प्रयास गरे पनि खुलाउन नसकिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो। उहाँले भन्नुभयो, “सडक खुलाउने प्रयास गरे पनि माथिबाट पहिरो खसिरहेको छ। सडकमाथिबाट पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरो नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव छैन।” 

सडकमाथिको पाखोमा भूमिगत पानी र पहिरोले जमिन चिराचिरा भएर सडकमा पहिरो खसिरहेको उहाँले बताउनुभयो। वर्षा नरोकिएका कारण पहिरो खसिरहेको छ। सडक नखुल्दा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजनको सडकमै बास भएको बसका चालक प्रकाश सुनारले बताउनुभयो। उहाँले भन्नुभयो, “तीन दिनदेखि सडकमा बसेका छौँ। बसमा मुक्तिनाथ दर्शन गरेर फर्किएका भक्तजन छन्। बाटोमा खाना र बास बस्ने होटल पनि छैनन्। सडक खुल्ने आशामा कुरेर बसेका छौँ। आज पनि सडक खुल्ने सम्भावना देखिँदैन। कतिदिन सडकमै बास हुने हो पत्तो छैन।” 

सडक अवरुद्ध हुँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका यात्रु र मुक्तिनाथ र जोमसोमबाट फर्किएका यात्रु बैसरीमा अलपत्र परेका छन्। बैसरीखण्डमा दुवैतर्फ करिब पाँच सय सवारीसाधन अलपत्र परेका छन्। यात्रु बिच सडकमै सुतेका छन्। बैसरीमा पर्याप्त होटल नहुँदा यात्रुलाई खानाको समस्या भएको छ। 

सडक अवरुद्ध हुँदा बिचबाटोमा अलपत्र परेको भारतको हैदरावादबाट मुक्तिनाथ दर्शनका लागि आउनुभएका रमेश जलानले भन्नुभयो, “सडक अवरुद्ध भएको सूचना नपाउँदा बिच बाटोमा अलपत्र परेका छौँ। हामी मुक्तिनाथ दर्शनका लागि आएका हौँ। सडकमाथिदेखि पहिरो खसिरहेको छ। खाना खाने र बस्ने होटल पनि यहाँ वरपर छैनन्। सडक खुलाउन यहाँको सरकारले पहल गरे हाम्रो उद्धार हुने थियो।” सडक खुलाउन प्रहरी तथा बेनी–जोमसोम–कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक खुलाउन सम्भव नभएकाले यात्रुलाई सुरक्षित स्थलमा जान सूचना गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताउनुभयो। 

बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातमा सवारी आवागमन बन्द गरिएको छ यस खण्डको बैसरीलगायतका क्षेत्रमा पहिरो गई बारम्बार यातायात अवरुद्ध हुन थालेपछि रातको समयमा सवारी आवागमन बन्द गरिएको हो। 

सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तले पहिरो खसेर सडक अवरुद्ध हुँदा धेरै सर्वसाधारण र यात्रु अलपत्र पर्ने समस्या आउन थालेपछि रातको समयमा सवारी आवागमनलाई रोक्ने निर्णय गरिएको जानकारी दिनुभयो। जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय समन्वय बैठकमा रघुगङ्गा गाउँपालिका–२, बैसरीको अँधेरीखोलामा निरन्तर पहिरो खस्ने क्रम नरोकिएको उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो। आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णयसमेत भएको थापाको भनाइ छ। 

ठाउँ ठाउँमा भासियो पृथ्वी राजमार्ग 

तनहुँ समाचारदाताका अनुसार, जिल्ला प्रशासन कार्यालय तनहुँले ठुला सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्वारा मङ्गलबार जारी विज्ञप्तिमा सो आग्रह गरिएको हो। मङ्गलबार बिहानदेखि मुसलधारे वर्षाले तनहुँ जिल्ला भएर बग्ने नदीमा पानीको बहाव ह्वात्तै बढेको र पानी पर्ने क्रम दिनभर पनि नरोकिएकाले यस्तो आग्रह गरिएको हो। पृथ्वी राजमार्गको आँबुखैरेनी–कोत्रे सडकखण्डको स्तरोन्नतिका लागि भएको कटिङले गर्दा ठाउँ ठाउँमा ससाना पहिरो जानुको साथै कतिपय स्थान भासिएर सडक अवरुद्ध हुने र खुलाउने क्रम पनि जारी छ। पृथ्वीराजमार्गको दमौली–डुम्रे सडकखण्डमा ठुला सवारीसाधन रोकिएका छन्। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार बिहान ११:३० बजे सडकखण्ड भासिन गई सडक अवरुद्ध भएको जानकारी दिनुभयो। दुवैतर्फी अवरुद्ध भएकोमा हाल एकतर्फी रूपमा नियमित भएको तर ठुला सवारीसाधन पास हुन नसक्ने उहाँले बताउनुभयो। 

सडक विस्तारका क्रममा सडकको दुवैतर्फ खनिएको स्थानमा खाल्डो परेको र अविरल वर्षाका कारण सडक भासिएको प्रजिअ रिजालको भनाइ छ। पानी परिरहेकाले दुवैतर्फ सडक नियमित गर्न कठिन भएको प्रशासनले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर