बारबर्दिया नगरपालिका ११ का ७४ वर्षीय श्रीदास थारु बालुवामा व्यावसायिक खेती गरी वर्षभरको आम्दानी जोहो गर्छन् । तीन दशकअघि बबई नदीमा आएको बाढीले उनको ४ बिघा ५ कठ्ठा जग्गा बगायो । यो खेत अहिले गुलरिया नगरपालिका ४ मा पर्दछ । बगरमा धान, गहुँ, तोरी लगायत खाद्यान्न उत्पादन हुँदैन । तर हिउँदे मौसम भने उनका लागि आम्दानीको स्रोत बनेको छ ।
बगरमा तरकारी र तरबुजा खेती हुन्छ । ‘मंसिरदेखि जेठसम्म बगरमा तरकारी र तरबुजा खेती गर्छौं, त्यहीं बेचेर आएको पैसाले धान, गहुॅ, तोरी लगायत आवश्यक खाद्यान्न खरिद गर्ने गरेका छौं,’ उनले भने ‘यसबाहेक लत्ता कपडा, छोरा, छोरी, नाती, नातिनीको पढाइदेखि स्वास्थ्योपचारमा खर्चिँदै आएका छौं ।’
अहिले बगरमा वास्तविक रुपमै जग्गा छुट्याउन नसकेपनि अनुमानको भरमा छुट्टाएर खेती हुने गरेको यहाँका किसान बताउॅछन् । बारबर्दिया—११ की ४० वर्षीया आशरानी थारुको जग्गा पनि बबईले बगाएको तीन दशक वित्यो । उनले १ बिघा बढी जग्गामा तरबुजा र तरकारी लगाउँदै आएकी छन् । ‘मेहनत अनुसार आम्दानी नभएपनि घर खर्च सहजै टर्छ,’ उनले भनिन् ‘बगरमा हिउॅदे मौसममा तरबुजा, फर्सी, लौका, करेला फल्ने गरेको छ ।’
उत्पादित तरबुजा तथा तरकारी स्थानीय व्यापारीले खरिद गर्छन् । बगरमा तरबुजा प्रतिकिलो २० देखि ३० रुपैयाँमा बिक्री हुने गर्छ । त्यस्तै फर्सी प्रतिकिलो २५ देखि ३० रुपैयाँ र लौका १५ रुपैयाँमा बिक्री हुन्छ । बगाएको खेतको सरकारले क्षतिपूर्ति नदिएपनि बबई नदीको बगरमा मौसमी तरकारी राम्रो उत्पादन भएपछि उनीहरुको जीवनस्तरमा सुधार आएको छ । उत्पादित तरकारीले बजार पाएपछि गुलरिया—ईन्द्रपुरका किसान राम नरेश रायल खुसी छन् । ‘बजार खोज्दै जानु पर्दैन ताजा तरकारी पाइन्छ भन्दै व्यापारी र केही सर्वसाधारण यहीं आइपुग्छन्’ उनले भने । बबई नदीले कटान बगरको ४२ बिघामा तरबुजा र तरकारी खेती हुने गरेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए । उनले बबईको बगरमा यस वर्ष १ सय ८० जना किसानले खेती गरेको जानकारी दिए ।
पाॅच वर्षदेखि बलौटे जग्गामा तरकारी लगाउँदै आएका फुकुराम थारुले मौसमी तरकारी खेतीबाट तीन महिनामा ६० हजार बढीको आम्दानी गरेको बताए । उनी दुई कठ्ठा बगरमा तरकारी खेती गर्छन् । वर्षायाममा बाढी आउने भएकाले अरुको खेतमा मजदुरी गरेर आम्दानी गर्ने गरेको थारु बताउॅछन् । बगरमा खेती गरेका अधिकांश किसानले हिउँदमा प्रतिकठ्ठा ४० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । चार दशकयता बबई नदीले गुलरिया नगरपालिकामा कटान गर्दै करिब सय विघा जमिन कटान गरी बगर बनाएको छ । यस बगरमा किसानले खेती गर्दा निकै सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ । दिनभर उत्पादित तरकारी र तरबुजा बिक्री गर्नुपर्ने र उत्पादित तरकारी चोरबाट जोगाउन रातभर बगरमै जाग्राम बस्नु पर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।