अमेरिका — अमेरिकाको टेनेसी राज्यमा विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनीमा विस्फोट हुँदा १८ जना बेपत्ता भएका छन् । टेनेसीको मुख्य सहर न्यासभिलबाट करिब एक घण्टा दक्षिण–पश्चिमतर्फ, हिकम्यान र हाम्फ्रिज काउन्टीको सीमामा सञ्चालित एक्युरेट इनर्जेटिक सिस्टम नामक कम्पनीमा स्थानीय समयअनुसार शुक्रबार बिहान ८ बजे १५ माइल टाढासम्म महसुस गर्न सकिने गरी भएको ठूलो विस्फोटमा परी १८ जना बेपत्ता भएका हुन् ।
सैनिक र विध्वंशक प्रयोजनका लागि विस्फोटक पदार्थ उत्पादन गर्ने कम्पनी भएको हुँदो विस्फोटमा परेर बेपत्ता भएकाहरूको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । विस्फोटका कारण सवारी साधन जलेर नष्ट र भवन भग्नावशेष भएको हाम्फ्रिज काउन्टीका शेरिफ क्रिस डेविसले बताए । घटनाबारे एफबीआईलगायत अमेरिकी संघीय निकायहरूले अनुसन्धान गरिरहेका छन् ।
कम्पनीले फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै विस्फोटलाई ‘दुःखद दुर्घटना’ भएको उल्लेख गरेको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।
कम्पनीले अमेरिकी युद्ध मन्त्रालय र औद्योगिक बजारका लागि उच्च स्तरका विस्फोटकहरूसमेत उत्पादनहरु गर्दै आएको छ । २०१९ मा अमेरिकी श्रम सुरक्षा तथा स्वास्थ्य प्रशासनले सुरक्षासम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै कम्पनीलाई ७ हजार २ सय अमेरिकी डलर जरिवाना गरेको थियो ।