एस् ए टी भी २९ फाल्गुन,काठमाडौँः हिन्दुहरूको महान् मध्यको एक रङ्गहरूको पर्व होली आज देशै भरि एक अर्कालाई रङ तथा अबिर दलेर मनाईंदैछ। दैवी शक्तिले असुर प्रति विजय प्राप्त गरेको सुखद खुसीयालीमा मनाइने गरिएको यस रङ्गिन चाड नेपालमा निकै चर्चित छ।
नेपालमा पहाड र तराईमा दुई दिन मनाइने यस चाडको महिमा पौराणिक कथाहरूमा उल्लेख भएको देख्न सकिन्छ।
दानवराज हिरण्यकशिपुका छोरा प्रह्लाद जो भगवान् विष्णुका निकै ठुला भक्त मानिन्छन्। उनको भगवान् विष्णु प्रतिको भक्ति देखेर उनका पिताले उनलाई अनेक दुख दिन्छन् र होलिका जसलाई आगोले जलाउन सक्दैन उनको सहाराले आगोमा जलाइदिन खोज्छन् तर प्रह्लादको त्याग र भक्तिको प्रभावले होलिका नै जल्छिन् तर प्रह्लादलाई कुनै किसिमको क्षति हुँदैन। यसरी असुर तथा दानवीय शक्तिलाई दैवी शक्तिले विजय प्राप्त गरेको उत्सव स्वरूप यस पर्व मनाउन थालिएको प्रचलन छ।
हिउँद ऋतुको उजाडता सकिएर वसन्त ऋतुको हरियाली र नयाँपन छाउने, रुख बिरुवामा नयाँ पालुवा पलाउन सुरु हुने जस्ता नव सुरुवातको प्रतिकात्मकता बोकेको यस पर्वको अत्यन्तै महत्त्व छ।
यसै बिच चीन बाट नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ 'लेन्स अन नेपालः नेपालको संस्कृति,सम्पदा र पर्यटन दृश्याङ्कन' कार्यक्रम सहित आमन्त्रण गरिएका चिनियाँ फोटोपत्रकार तथा फोटोग्राफरहरुले आज बिहानै वसन्तपुरमा होलि खेल्दै तस्विर खिचेका छन् भने काठमाडौँ ,भक्तपुर तथा ललितपुरका विभिन्न ठाउँमा तस्विर खिचिरहेका छन्।
मानिसहरू एक अर्काकोमा गएर रङ्ग सङ्ग सङ्गै, खुसी तथा प्रेम साटासाट गरेर होली पर्व मनाउने गरेको पाइन्छ। काठमाडौँका वसन्तपुर, पाटन ढोका लगायतका क्षेत्रहरूमा मानिसहरू जम्मा भएर नाचगान गर्दै होली खेल्ने प्रचलन छ। यस रङ्गको पर्वले एक आपसमा आत्मीयता, भाइचारा र सद्भाव छर्ने गर्दछ।