एस् ए टी भी २७ फाल्गुन, काठमाडौँः हिन्दुहरूको महान् मध्येको एउटा चाड होलीको अवसर पारेर नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल चीन मित्रता फोरम र राष्ट्रिय फोटो पत्रकार समूहको सहायतामा नेपालमा क्यामेराको लेन्सः १०० चिनियाँ फोटोग्राफर नेपाली संस्कृति, सम्पदा र पर्यटन क्यामेरामा कैद गर्दै नामक कार्यक्रमकालागि हिजो काठमाडौँमा आमन्त्रित चिनियाँ फोटोग्राफरहरूलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ।
नेपाल चीन मित्रताको ७० औँ वार्षिकोत्सव तथा चीनमा नेपाल भ्रमण वर्ष २०२५ मनाउने तथा नेपालको सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई विश्व सामु देखाउने साथै नेपाल चीन सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई अझ सबल बनाउने उद्देश्य राखेर चीनका विभिन्न प्रान्तबाट आमन्त्रित चर्चित फोटोग्राफरहरूको स्वागतमा २६ फाल्गुनको साँझ उक्त कार्यक्रम आयोजना गरिएको थियो।
स्वागत कार्यक्रममा नेपाल चीन मित्रता फोरमका अध्यक्ष कल्यान राज शर्मा, राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राज ओन्त, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलिया, प्रतिनिधि सभा सांसद उर्मिला माझी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। नेपाल चीन मिडिया फोरमका अध्यक्ष डा. कल्यान राज शर्माले यस कार्यक्रमले नेपालको पर्यटन प्रवर्धनमा ठुलो भूमिका खेल्ने बताउँदै नेपाल चीन मित्रतामा पनि प्रगाढता आउने विश्वास व्यक्त गरे।
चीनबाट आमन्त्रित वरिष्ठ फोटोग्राफरहरूको मनोरञ्जनका निम्ति सितार वादक डा. दुर्बेस चन्द्र रेग्मी र उनको ब्यान्ड 'सुकर्म'ले निकै सुन्दर प्रस्तुति दिएका थिए।
कार्यक्रममा बोल्दै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राज ओन्तले केही समय अगाडी नेपाली पत्रकारको समूह चीन गएर फोटो प्रदर्शनी गर्ने मौका पाएको बताउँदै चिनियाँ फोटोग्राफरहरूलाई पनि नेपालमा स्वागत गर्न पाउँदा निकै उत्साहित रहेको बताए। यो आदान प्रदानले दुवै देशका फोटोग्राफरहरूलाई केही सिक्ने महत्त्वपूर्ण अवसर हुनेमा पनि उनी आशावादी रहँदै चिनियाँ फोटोग्राफरको नेपाल बसाइँ सुखद हुने बताए।
नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले चिनियाँ फोटोग्राफरले खिचेर लगेका तस्बिरहरूले अरू चिनियाँ पर्यटकलाई नेपाल घुम्न प्रेरित गर्ने आशा रहेको बताए। चीन नेपालको पर्यटनमा दोस्रो ठुलो पर्यटक आवागमन हुने देश रहेको र अन्तर्राष्ट्रिय मानचित्रमा ठुला देशहरू मध्ये एक रहेको बताउँदै आफ्नो छिमेकीको यस भव्यताको फाइदा उठाउनु पर्नेमा उनले जोड दिए।
प्रतिनिधि सभा सदस्य उर्मिला माझिले फोटो पत्रकार तथा फोटोको महत्त्व आफ्नो संघर्षकालमै बुझेको बताउँदै अब देशको चौतर्फी विकासमा फोटो पत्रकारको अझै ठुलो हात रहने बताइन्।
नेपालको पर्यटन प्रवर्धनमा चिनियाँ फोटोग्राफरको यो टोलीले खिचेका तस्बिरहरूले उल्लेख्य भूमिका खेल्नेमा सम्पूर्ण आयोजकको विश्वास रहेको छ भने यस्ता कार्यक्रमले नेपाल चीन मित्रताको गाँठो अझै बलियो भएर जाने विश्वास पनि छ।