काठमाडौँ– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मंगलबार शुरू गरिँँदै छ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा यस दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ। देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीत पनि गाइन्छ।
पञ्चायती व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यंग्यसहित गाईजात्रा फेरि मनाउन थालेको हो।
जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्। गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगतिसमेत उजागर गर्ने चलन छ। सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यंग्यात्मक कार्यक्रम आयोजना हुने गरेको छ।
गाईजात्रा पर्व काठमाडौँ उपत्यकासहित बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, ताप्लेजुङ, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायतमा नेवार समुदायका मानिसको उपस्थिति रहेका शहरमा धूमधामका साथ मनाइन्छ। यस अवसरमा सरकारले मंगलबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।