नेभिगेसन मेनु

रासायनिक मल अभाव नहुने
सम्पादक:南亚网络电视
समय:2024-06-20 12:10

2223

असार ६ गते  । विगतका वर्षमा जस्तो यस वर्षको बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ । 

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा अहिले पनि रासायनिक मल (डिएपी र युरिया) करिब १२ हजार मेट्रिक टन मौज्दात छ । त्यस्तै गरी फरक फरक कन्साइन्मेन्टको ७५ हजार मेट्रिक टन आउँदै गरेकाले विगतका वर्षमा जस्तो यस वर्ष बर्खे धान बालीका लागि रासायनिक मलको अभाव नहुने कम्पनीको मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकारी पुरुषोत्तमकुमार सिंहका अनुसार एक लाख ९० हजार बोरा डिएपी मल वीरगन्ज सुक्खा बन्दरगाह भन्सारमा आइसकेको र भरेभोलिसम्म थप ५० हजार बोरा डिएपी मल आइपुग्ने छ । 

भारतसँग ‘जिटुजी’ प्रक्रियाबाट खरिद गरिएको २५ हजार मेट्रिक टन डिएपी मल भित्रिन थालिसकेको र ग्लोबल टेन्डरबाट भारतको इन्डियन पोटास लिमिटेड (आइपिएल) ले पाएको दुई वटा कन्साइन्मेन्टको ५० हजार मेट्रिक टन डिएपी मलसमेत भित्रिनका लागि बाटोमा रहेकाले चाँडै भित्रिने कम्पनीका सूचना अधिकारी सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार टन युरिया पनि भित्रिने तयारीमा रहेकाले यस वर्ष बर्खे बालीका लागि रासायनिक मल (डिएपी तथा युरिया) को अभाव नहुने भएको हो । 

हाल कम्पनीको मधेश प्रादेशिक कार्यालय वीरगन्जमा डिएपी चार हजार ९६७ टन, युरिया आठ हजार ६९ टन र पोटास एक हजार ४६३ टन मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०८०/८१ को जेठसम्म कम्पनीको मधेश प्रादेशिक कार्यालय वीरगन्जमा २६ हजार ४६३ मेट्रिक टन डिएपी, ६० हजार ६८२ मेट्रिक टन युरिया र चार हजार ९५५ मेट्रिक टन पोटास प्राप्त भएकोमा वीरगन्ज कार्यालयबाट अन्य १५ कार्यालयमा २१ हजार २२५ मेट्रिक टन डिएपी, ५३ हजार ३२१ मेट्रिक टन युरिया र तीन हजार ५५९ मेट्रिक टन पोटास पठाएको उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशका कलैया, चपुर, ढल्केबर, नवलपुर, त्यस्तै गरी बागमती प्रदेशका सिन्धुली, काठमाडौँ, धुलिखेल, त्रिशूली, गजुरी, हेटौँडा, भरतपुर र गण्डकी प्रदेशका पर्वत, पोखरा र दमौली कार्यालयमा वीरगन्ज कार्यालयबाटै रासायनिक मल जाने गरेको पाण्डेयले बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर