पुस १ गते । नेपाल–बेलायत शान्ति तथा मैत्री सन्धिको शतवार्षिकी शनिबार नेपालमा मनाइएको छ । नेपाल र बेलायतबिच विसं १९८० मा मैत्री सन्धि भएको थियो । यो सन्धिले दुई देशबिच बराबरीको सार्वभौमिक अखण्डताको पुष्टि गर्दै थप साझेदारी र सहकार्यको बाटो खोलेको थियो । यसअघि दुई देशबिच कूटनीतिक सम्बन्ध रहे पनि साझेदारीयुक्त आदानप्रदानको सम्बन्धले औपचारिकता पाएको थिएन ।
मदन पुरस्कार पुस्तकालय र बेलायत नेपाल बौद्धिक परिषद्ले संयुक्त रूपमा आयोजना गरेको शतवार्षिकी सम्मेलनमा सन्धिको आजपर्यन्त उत्तिकै महत्व रहेकोमा सहभागीहरूले जोड दिनुभयो । निवर्तमान परराष्ट्र सचिव भरतराज पौड्यालले बेलायतसँको दुई सय वर्ष लामो सम्बन्धमा मैत्री सन्धि दुई देशबिचको कोशेढुङ्गा रहेको औँल्याउनुभयो । सन्धिले दुई देशबिचको पारम्परिक सम्बन्धलाई आधुनिक कसीमा बाँधेको उहाँले प्रस्ट पार्नुभयो । नेपालका लागि बेलायतका राजदूत रोव फेनले नेपाल–बेलायतको सम्बन्धलाई मैत्री सन्धिले नयाँ आयाम दिएको बताउनुभयो ।
नेपाल कहिले पनि कसैको उपनिवेश नरहेको सवालमा बेलायतले त्यो बेला र अहिले पनि सार्वभौम मुलुकका नेपाललाई उच्च सम्मान दिएको उहाँको भनाइ थियो । दुई देशबिच सरकार र जनसम्बन्ध दवबै नै उच्चकोटीको रहेको र पछिल्लो समय नेपालको विकास साझेदारका रूपमा बेलायत रहेको राजदूत फेनले जानकारी गराउनुभयो ।
आयोजकका तर्फबट पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले दुई देशको सम्बन्ध र सन्धिबारे दर्शाउने फोटो प्रदर्शनीका साथै सन्धिको औचित्य र महत्व दर्शाउन शनिबार र आइतबार दुई दिन बौद्धिक बहस गरिने जानकारी दिनुभयो ।
पहिलो दिन औपचारिक कार्यक्रममा सन्धिका अध्यता टीकाप्रसाद ढकालले सन्धिको ऐतिहासिक पक्ष, तथा वर्तमानमा यसको औचित्यसहित सन्धिका बहुआयामिक पक्षबारे जानकारी दिनुभयो ।
दोस्रो सत्रमा नेपाल–बेलायत सम्बन्धबारे बौद्धिक बहस भयो । जसमा सन्धिका प्रणेता चन्द्रशमशेर जबरा र त्यो बेलाका ऐतिहासित तथ्यमाथि उहाँले विश्लेषण गर्नुभयो । जैविक विविधता विज्ञ डा. हेमसागर बरालले नेपालमा बेलायतको औपचारिक प्रतिनिधित्व र त्यसपछिका खोज अनुसन्धानको पाटो केलाउनुभयो ।