
काठमाडौँ, जेठ २८ गते । दाङमा यो वर्ष विभिन्न सामुदायिक वनबाट करिब पाँच लाख क्युफिट काठ कटान हुने भएको छ ।
वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाका ११२ वटा सामुदायिक वनबाट चार लाख ९० हजार ६४७.१८ क्युफिट काठ कटान गर्न थालिएको हो ।
डिभिजन वन कार्यालय घोराही अन्तर्गत ४८ वटा सामुदायिक वनबाट एक लाख ९० हजार ६४७.२१ क्युफिट र डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत ६४ वटा सामुदायिक वन उपभोक्ता समूहबाट तीन लाख क्युफिट काठ कटान गरी सङ्कलन गर्न थालिएको छ ।
डिभिजन वन कार्यालय घोराहीका सूचना अधिकारी भक्तबहादुर चौधरीले वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रममा डिभिजन वन कार्यालय घोराही अन्तर्गत ४८ वटा सामुदायिक वनबाट एक लाख ९० हजार ६४७ क्युफिट काठ र ४७२.५० चट्टा दाउरा कटानका लागि अनुमति लिएको जानकारी दिनुभयो ।
चौधरीका अनुसार अनुमति लिएका वन समूहले हालसम्म ९३ हजार ८८९.३८ क्युफिट काठ र ३४०.४० चट्टा दाउरा कटानसँगै सङ्कलन गरी घाटगद्दी गरिसकेका छन् । डिभिजन वन कार्यालयले कटान आदेश जारी गरेका सामुदायिक वनमा पर्ने रुखलाई विभिन्न चरणमा अनुगमन गरी कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई व्यवस्थापनका लागि कटान अनुमति दिने गरेको छ ।
कटानका लागि अनुमतिप्राप्त वन समूहले जेठ मसान्तभित्र रुख कटान गरिसक्नुपर्ने प्रावधान अनुसार अधिकांश वन समूहले अहिले कटान गरेको काठ घाटगद्दी गर्ने काम गरिरहेका छन् । उहाँका अनुसार वनमा तयार भएका साल, सिसौ, जामुनलगायतका रुखलाई कटान आदेश दिइएको छ । वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत जङ्गलमा तयार भएका रुख व्यवस्थापन गर्ने उद्देश्य अनुसार कटान अनुमति दिने गरेको भन्दै सूचना अधिकारी चौधरीले भन्नुभयो, “वन समूहको कार्ययोजना अनुसार तयार भएका र साना रुखलाई बढ्न समस्या गर्ने रुख पहिचान गरी कटानका लागि आदेश दिने गरिएको छ ।”
त्यसै गरी डिभिजन वन कार्यालय देउखुरी अन्तर्गत ६४ वटा सामुदायिक वन समूहबाट तीन लाख क्युफिट काठ कटानका लागि अनुमतिप्राप्त गरेको सूचना अधिकारी दीपक दहितले बताउनुभयो । उहाँका अनुसार कटान अनुमति दिएका वनक्षेत्रमा डिभिजन वन कार्यालयका कर्मचारीले विभिन्न चरणमा अनुगमन गरी तयार भएका कटान गर्न योग्य र मापदण्ड पूरा भएका रुखलाई मात्रै कटानका लागि अनुमति दिने गरेको छ ।
कटान आदेश अनुसार रुख कटान भए/नभएकोसमेत अनुगमन गर्ने गरिएको सूचना अधिकारी दहितले बताउनुभयो । गत वर्ष दाङमा डिभिजन वन कार्यालय घोराही अन्तर्गत २९ वटा सामुदायिक वनबाट एक लाख ७६ हजार क्युफिट र देउखुरी अन्तर्गत ५१ वटा वन समूहबाट दुई लाख ५० हजार क्युफिट काठ कटान गरी सङ्कलन गरिएको थियो ।
यसरी कटान गरिएको काठ बिक्रीबाट सङ्कलन हुने आम्दानीको २५ प्रतिशत रकम प्रदेश सञ्चित कोषमा जाने र बाँकी ७५ प्रतिशत वन समूहले वन संरक्षण तथा व्यवस्थापनको कार्यमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ ।


















