
काठमाडौँ, जेठ २८ गते । चिनियाँ राष्ट्रपति सी जिनपिङको प्योङयाङ भ्रमणपछि उत्तर कोरिया र चीनले द्विपक्षीय सम्बन्धलाई थप रणनीतिक र दीर्घकालीन स्तरमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्था केसिएनएका अनुसार दुवै देशका नेताहरूले सम्बन्धको भविष्यका लागि ‘दूरगामी खाका’ तयार पार्दै परम्परागत मित्रतालाई अझ सुदृढ बनाउने सहमति जनाउनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्व नेताहरूसँग बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेलगत्तै सीले सोमबार उत्तर कोरियाको दुर्लभ भ्रमण गर्नुभएको थियो । उत्तर कोरिया र रुसबिच पछिल्लो समय असाधारण रूपमा नजिकिएको सम्बन्धका बिच भएको यो भ्रमणलाई क्षेत्रीय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।
केसिएनएका अनुसार सी जिनपिङ र किम जोङ उनले दुई देशबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विषयमा सन्तुष्टि व्यक्त गर्नुभएको छ । दुई दिने भ्रमणका क्रममा दुवै पक्षले क्रान्तिकारी मित्रता, राजनीतिक विश्वास र रणनीतिक सहकार्यलाई थप मजबुत बनाउने दृढता दोहोर्याएका छन् ।
भ्रमणका क्रममा सी र किमले वर्कर्स पार्टीको केन्द्रीय क्याडर प्रशिक्षण विद्यालयको संयुक्त अवलोकन गर्नुभएको थियो । त्यहाँ उहाँहरूले पार्टी नेतृत्व विकास र राजनीतिक प्रशिक्षणबारे छलफल गर्नुभएको केसिएनएले जनाएको छ । त्यसपछि दुवै नेताले कोरियाली युद्धमा ज्यान गुमाएका चिनियाँ सैनिकहरूको सम्मानमा निर्माण गरिएको मैत्री स्मारक परिसरमा वृक्षरोपण गर्नुभएको थियो ।
सीलाई प्योङयाङमा विशेष सम्मानसहित स्वागत गरिएको थियो । उहाँ आफ्नी पत्नी तथा वरिष्ठ सरकारी प्रतिनिधिमण्डलसहित उत्तर कोरिया पुग्नुभएको थियो । भ्रमण सम्पन्न भएपछि किमलाई पठाएको सन्देशमा सीले दुवै पक्षले साझा चासोका विषयमा गहन विचार आदानप्रदान गरी महत्त्वपूर्ण समझदारी हासिल गरेको उल्लेख गर्नुभएको छ ।
सीका अनुसार यो सहमतिले परम्परागत मित्रतालाई नयाँ ऊर्जा दिने, साझा विकास र समृद्धिलाई प्रोत्साहन गर्ने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताको संरक्षण गर्ने दुवै देशको प्रतिबद्धता झल्काउँछ ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले पनि सी र किमबिच नयाँ युग अनुसार चीन–उत्तर कोरिया सम्बन्ध विकास गर्ने विषयमा महत्त्वपूर्ण सहमति भएको जनाएको छ । बेइजिङका सरकारी सञ्चारमाध्यमका अनुसार सीले कूटनीतिक, सुरक्षा, कानून कार्यान्वयन तथा सैन्य सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
विश्लेषकहरूका अनुसार सैन्य सहकार्यलाई प्राथमिकता दिनुको उद्देश्य उत्तर कोरियाली सेनाभित्र भइरहेका प्राविधिक परिवर्तन तथा रुससँगको बढ्दो सैन्य सम्बन्धको प्रत्यक्ष मूल्याङ्कन गर्नु पनि हुन सक्छ । दक्षिण कोरियास्थित कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका विश्लेषक होङ मिनले चीनले उत्तर कोरियाभित्र रुससमर्थक र चीनसमर्थक प्रभावको अवस्थाबारे थप जानकारी सङ्कलन गर्न खोजेको हुन सक्ने बताउनुभएको छ ।
यस भ्रमणको अर्को महत्त्वपूर्ण पक्ष भने उत्तर कोरियाको आणविक कार्यक्रमबारे सार्वजनिक मौनता रह्यो । गत महिना ट्रम्पसँगको वार्तापछि ह्वाइट हाउसले उत्तर कोरियाको आणविक निशस्त्रीकरण दुवै पक्षको साझा लक्ष्य भएको जनाएको थियो । तर सी–किम शिखर वार्ताबारे चीन र उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेका विवरणमा आणविक निशस्त्रीकरणको कुनै उल्लेख गरिएको छैन ।
विश्लेषकहरूले यसलाई बेइजिङले उत्तर कोरियाको आणविक हैसियतलाई व्यावहारिक रूपमा स्वीकार गरिरहेको सङ्केतका रूपमा व्याख्या गरेका छन् । किम जोङ उनले पटक–पटक उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रम नत्याग्ने बताउँदै आउनुभएको छ । भ्रमणअघि उहाँकी बहिनी किम यो जोङले पनि उक्त कार्यक्रम उत्तर कोरियाको ‘कुनै सम्झौता नहुने सीमा’ भएको बताउनुभएको थियो ।
यद्यपि पछिल्ला वर्षहरूमा उत्तर कोरिया रुसतर्फ बढी झुकेको देखिए पनि चीन अझै पनि उसको सबैभन्दा ठुलो आर्थिक साझेदार बनेको छ । युक्रेन युद्धमा सहयोगस्वरूप सैनिक र हतियार पठाएर प्योङयाङले मस्कोसँगको सम्बन्ध बलियो बनाएको छ । तर अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण दबाबमा रहेको उत्तर कोरियाली अर्थतन्त्रका लागि चीन मुख्य आर्थिक आधारका रूपमा कायम छ ।
दक्षिण कोरियाको अर्थ तथा वित्त मन्त्रालयका अनुसार सन् २०२४ मा उत्तर कोरियाको कुल वैदेशिक व्यापारको करिब ९८ प्रतिशत अर्थात् दुई अर्ब ६० करोड अमेरिकी डलर बराबरको व्यापार चीनसँग भएको थियो । यसले उत्तर कोरियामाथि चीनको आर्थिक प्रभाव अझै निर्णायक रहेको देखाउँछ । (रासस/एएफपी)


















