नेभिगेसन मेनु

ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाइयो
सम्पादक:南亚网络电视
समय:2023-09-30 18:54

 

0

खोटाङ, असोज १३ गते । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा कटाएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि ज्येष्ठ नागरिकलाई दिइँदै आएको निःशुल्क यातायात सेवा यस वर्षबाट कटाइएको हो ।

गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क यात्राका लागि आर्थिक वर्ष २०७४/०७५ देखि कार्यक्रम सुरु गरिएको थियो । तर ज्येष्ठ नागरिकको नाममा अन्य व्यक्तिले सेवाको दुरुपयोग गरेपछि उक्त सेवा कटाइएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो । प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेकाले  सेवा कटाइएको उहाँको भनाइ छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालिबिचमा भएको सम्झौता अनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र त्यही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो । तत्कालीन गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई नेतृत्वको स्थानीय सरकारले उक्त ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा सुरु गरेका थिए । तर ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको वर्तमान अध्यक्ष राइको भनाइ छ ।

यातायात प्रालि र गाउँपालिकाबिचमा पालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको टिकटको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको त्यही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर त्यही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सम्झौता भएको थियो ।

यसैबिच, खोटाङकै अर्को स्थानीय तह साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ ।

साकेला गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्ष अर्जुन खड्का र उपाध्यक्ष सरिता खड्काको पालामा आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने व्यवस्था मिलाइएको थियो ।

चालु आर्थिक वर्षमा भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनुभयो । प्रालिले सम्झौता नवीकरणका लागि २०७९ चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई साकेला गाउँपालिका पठाएको थियो ।

साकेला गाउँपालिका र खोटाङ यातायात प्रालिबिच साकेला गाउँपालिका–रसुवाघाट–गाईघाट सडक तथा साकेला गाउँपालिका–दिक्तेल–काठमाडौँ सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई भाडामा शतप्रतिशत छुट दिने सम्झौता भएको थियो । साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदैआएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राईका अनुसार अहिले वडा–वडामा टोकन वितरण भइरहेको छ । साकेला गाउँपालिकामा पनि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि उपलब्ध गराइएको टोकन प्रयोग गरेर अन्य व्यक्तिले निःशुल्क यातायात सेवा लिएको पाइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर