काठमाडौं महानगरले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनमा डोजर चलाइरहेको छ। सरकारी जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगरले खाली गराउन लागेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए।
उनले भने, ‘तीन दिन अगाडि आएर भवनहरु खाली गर्न हामीले सूचना जारी गरिसकेका थियौं। उहाँहरुलाई बुधबारसम्म नहटाए महानगर आएर हटाउने जानकारी दिएका थियौं । आज आएर खाली गर्न लागेका हौं।’
पूर्वसूचना अनुसार नै प्रहरीले भवन खाली गराउन लागेको उनको भनाई छ। भद्रकुमारी घले सेवा सदनमा आश्रय लिएका अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा व्यवस्थापन गरिएको पाण्डेले जानकारी दिए।
तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीसहितको टोलीले अनाधिकृत संरचनामा डोजर चलाएको हो। सदनले झण्डै ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पुस्तकालय, सहकारी संस्थालगायतका कार्य सञ्चालन गर्दै आएको थियो।