
नेपाली कांग्रेसको देउवा समूहले पार्टीको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ ।
देउवा समूहको ‘१५औं नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनीत गरेका हुन् ।
प्रधानलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको संयोजक कोइरालाको सचिवालयले जनाएको छ ।
कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा समेत सक्रिय छन् । संघको महासचिव रहिसकेका प्रधान देउवा समूहबाट कांग्रेसका महासमिति सदस्य रहेका छन् ।देउवा समूहले यसअघि भ्रातृ संगठनहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको थियो ।


















