नेभिगेसन मेनु

जहाँ पुगेर पहिलोपल्ट हिउँ साँधेर खाइयो!
सम्पादक:南亚网络电视
समय:2023-06-15 13:25

hiu1686391535

कालीकोट आएसँगै यहाँका सम्पूर्ण गाउँ र बस्तीलाई आफ्नै आँखाले हेर्ने चाहना थियो।

सुन्दर दृश्य कैद गरी फर्किने रहर समेत बोकेको थिएँ। 'एक पन्थ दो काम' भनेझैं कामको सिलसिलामा जाँदा समेत आन्तरिक पर्यटक बन्न थालें।

सायद आफ्नो चाहनाकै कारण होला छोटो बसाइमा समेत निकै ठाउँमा पुग्न सकें। धेरै गाउँ र बस्तीलाई आफ्नै आँखाले नियाल्न पाएँ। 

यहाँका बस्ती, पाटन तथा धार्मिक स्थलहरूले मेरो परिवार, मातृभूमि र साथी 'सर्कल' समेत भुलाउँदै लग्यो। कार्य व्यस्तता कम हुने बित्तिकै अर्को गन्तव्यबारे सोचिहाल्थें। एकपछि अर्को गर्दै गन्तव्य बदलिँदै गयो। कालीकोट बसाइका सुगन्धहरू थपिँदै गए। मन रमाउँदै गयो। 

यसैबीच चैत १३ गते साँझ पुगमालिकाको प्रसंग चल्यो। छिटो हिँड्नेका लागि 'वान डे ट्रेक' रहेको जानकारी पाएँ। भगवानको मन्दिर जाने चाहना भइसकेपछि किन नजाने भन्ने सोच भयो।  ट्रेकिङ टिम तयार गरें। 

मेरो टिममा पहिलो रोजाइ बने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्र.जि.अ. सरोज अधिकारी। अत्यन्तै सरल स्वभावका धनी उनले से-फोक्सुण्डोको ट्रेकिङमा समेत साथ दिएका थिए। सेवाकै दौरान कर्णाली प्रदेश घुम्नका लागि सरूवा मागेर आएका उनलाई छाड्न पो कहाँ सक्थें र ! 

मान्मदेखि फोई गाउँसम्मको यात्रा गाडीबाट र त्यसपछि पुगमालिकासम्म पैदल जानुपर्थ्यो। फोईदेखि पुगसम्मको पैदलमार्ग हाम्रा लागि अपरिचित थियो। वर्षमा एक पटक (जनै पूर्णिमाको दिन) मात्र मेला लाग्ने र अरू बेला मानिसहरूको आवातजावत नियमित नहुने भएकोले पैदलमार्ग स्पष्ट थिएन। मौसमले छिनछिनमा रङ फेर्ने र प्रतिकूल मौसममा बाटो खुट्याउन कठिन हुने जानकारी थियो। विगतका वर्षहरूमा मेला भर्न गएकाहरू बाटो भुलेर अलपत्र परेका कहानी  समेत सुनिएको थियो। 

यस्तै, अनिश्चितताका बाबजुद हामी पुगमालिका मन्दिर जान तम्सिएका थियौं। फोईबाट हामीलाई साथ दिने कोही होओस् भन्ने चाहना थियो। त्यसैले मान्मबाट निस्किने बेलामा फोईका स्थानीय बासिन्दा नवीन हमाललाई टेलिफोन गरी साथ दिन अनुरोध गरें। मनकारी उनले मेरो प्रस्ताव सहर्ष स्वीकारे। निकै सहजताको महसुस भयो। अनि तय भयो हाम्रो धार्मिक यात्राका सहयात्रीहरू । सरोज, नवीन, म र मेरा सहकर्मीसहित जम्मा ७ जना।

१४ गते साँझ १७:०० बजे कालीकोट सदरमुकाम मान्मदेखि सुरू भएको हाम्रो यात्रा त्यसदिन फोई गाउँसम्म मात्रै थियो। साँझ २०:०५ बजे नवीनजीको घरमा पुगियो। नवीनजी र भाउजूको आत्मीय स्वागतले मन पगाल्यो। छोरीको व्यवहार र पाहुनालाई गरेको सत्कारले उहाँहरूले दिएको असल संस्कार प्रतिबिम्वित गरेको थियो। आतिथ्यता मुक्तकण्ठले प्रशंसा गर्दै त्यस रात उनकै घरमा सुतियो।  

निकै थोरै मानिस जाने स्थानमा जाँदै थियौं। परम्परागत मेला भर्न जानेबाहेक कालीकोटकै बासिन्दा पनि नजाने ठाउँ थियो यो। उत्सुकता र कौतुहलताले घेरेको थियो। कालीकोटको शिर मानिने पुगमा पुग्ने चाहनाले भने मलाई बेचैन बनाइरह्यो। बिहान उठेर गुगल गरें। पुगमालिकाको उचाइ भेटिएन। नवीनजीलाई सोधें। उनले मुस्कुराउँदै एउटा गीतको अंश सुनाए।

'चुलिँदै मालिका अग्लो, हुँदै अग्लो पुग'। 

'भनेपछि बडिमालिका, चुलिमालिका भन्दा पनि अग्लो हो पुगमालिका ?', मैले सोधें।  

मेरो प्रश्नलाई तल झर्नै नपाई टप्प टिपे जसरी भने, 'अनि त !' हाँसोको फोहोरा छुट्यो दुबैको। उनले पुगमालिकाको उचाइ समुद्री सतहबाट अं. ४२०० मिटर रहेको जानकारी समेत दिए।

पहाडी बाटोमा खासै नहिँडेका र लामो समयसम्म हाइकिङ/ट्रेकिङ नगरेका साथीहरू पनि साथमा थिए। समुद्री सतहबाट २५०२ मिटर उचाइमा रहेको फोई गाउँबाट १७०० मिटर उकालो चढ्दै ४२०० मिटरको उचाइमा पुगी पुन: फोईमा फर्किनु थियो सोही दिन। एकैदिनमा यति लामो उकालो र ओरालोको यात्रा जोखिमपूर्ण थियो। तर सबैमा हिम्मत देखियो। 

अघिल्लो रात पानी परेकोले मौसम शितल थियो। यात्रा केही सहज हुने अनुमान गरियो। १५ गते बिहानको ५:५३ बजे फोई गाउँबाट पुगको यात्रा सुरू भयो। ठाडो उकालो बाटोमा अवस्थित विशाल 'ढाकी' ढुंगा गाउँलेको लागि चिन्ताको विषय बनेको रहेछ।

धराप बनेर बसेको ढाकी खसेमा फोईको एउटा टोल नै सखाप हुने त्रासले उनीहरूले त्राहिमाम हुनु स्वाभाविक नै देखियो। 

फोईलाई पछाडि छाडी उकालो चढ्दा गाउँको सुन्दर दृश्य भने आँखामा नाचिरह्यो। उच्च पहाडी भू-भागमा रहेको फोई गाउँ चिलखायापछि कालीकोटकै सुन्दर भूमि रहेको अनुभूत भयो। नाकै ठोक्किने नौ घुम्तीको साँघुरो बाटो ४० मिनेटमा पार गर्दै सानो मैदानी इलाका, नौफेरीमा पुगियो। नौफेरीबाट फोईको दृश्य कम्ता सुन्दर देखिएन। सुन्दर गाउँ र बस्ती दृश्यहरू क्यामेरामा कैद गर्दै अगाडि बढ्यौं। 

नौफेरीबाट केही अगाडि बढेपछि मुङ्ग्राया पाटा पुगियो। सर्पको टाउको जस्तो देखिने एउटा अनौठो ढुङ्गाले मेरो आँखा तान्यो। उक्त ढुङ्गामा आफ्नो पदचाप छाड्दै पाइला अगाडि बढाउन लाग्दा भुइँभरि काफल देखियो। फरक परिवेश, फरक भूगोल, फरक दृश्य! मनसँगै आँखा रमायो। आखिर पदयात्राको सुगन्ध भनेकै दृश्यावलोकन न हो! यात्राका सुगन्धहरू बढ्दै जान थाले। मन हर्षित हुँदै गयो। 

वर्षौंअघि खाएको भुइँकाफलको स्वाद ताजा भएर आयो। नखाइकन मन थाम्न सकिएन। कति साथीहरूले भने देखेकै रहेनछन्। पहिलोपटक चाख्ने मौका पाए। करिब १ घण्टा हिँडाइको थकाइ र प्यास दुबै मेटायो।

केही बेर अगाडि बढेपछि जङ्गलको बीचमा खेतीयोग्य खाली जमिन भेटियो। निकै ठूलो क्षेत्रफल रहेछ। पहिले फोईका बासिन्दाहरूले फापर, जौ र गहुँ लगाउने गरेका। मलिलो माटो भएकोले उब्जनी पनि राम्रो हुने। तर आजकाल कसले गर्ने खेती! सबैलाई सुख नै चाहिने। यसैले होला देशैभरि धेरै उर्वर जमिनहरू बाझा छन्। विदेशी खाद्यान्नको आयात बढ्दै गएको छ। आवश्यकता, प्राथमिकता र प्रविधिको संयोजन हुन नसकेको र परनिर्भरता बढेकोमा चिन्ता व्यक्त गर्दै अगाडि बढ्यौं। 

उत्सुकता, कौतुहलता र बेचैनीमा बाटो कट्दै गयो। काफलको स्वादमा जिब्रो पड्काउँदै यात्रा जारी थियो। भुइँकाफलको स्वाद जिब्रोबाट हराइसकेको थिएन। नवीनजीको पाइला अकस्मात रोकियो। मसँग ट्रेकिङ स्टिक मागेर जमिनमा खोतल्न थाल्नुभयो। खुसी हुँदै प्याकुडे (स्थानीय भाषामा) नामको बोझोजस्तै देखिने जडिबुटी निकाल्नु भयो। यसलाई पखालेर मुखमा राखी यात्रालाई निरन्तरता दियौं। यसले झण्डै १ घण्टाको यात्रामा मुख सुक्न दिएन। यात्रामा ऊर्जा थपियो। यसबीच बिरलै भेटिने किसिम किसिमका सुगन्धित फूलहरूले आँखाको नानी फुलाउँदै लगे। स्थानीय भाषामा “मेग्ये” भनिने फूलले यात्रामा खुसी थप्यो। 

बाटो जङ्गलको बीचमा पस्यो। बिस्तारै मानिसहरू पैदल हिँडेको निशानी समेत देखिन छोड्यो। बीचबीचमा फुलेका गुराँससँगै आफ्नो मन फुलाउँदै गोब्रेसिम भन्ने स्थानमा पुग्यौं। गुराँसकै छेउबाट उडेको डाँफे (राष्ट्रिय पंक्षी) ले आफूसँगै मेरो मन निकै परसम्म उडाइरह्यो। गर्वले छाती चौडा भयो। खुसीको सीमा नै रहेन।

करिब आधा बाटो तय गरेपछि झुलौना महादेव मन्दिर पुगियो। यात्रा सफलता र सहजताको कामना गर्दै मन्दिरको दर्शन गरियो। नवीनजीले मन्दिरमा ध्वजा चढाउनुभयो।  एकछिन थकाइ मार्दै साथमा लिइ गएको ड्राइ फुड खायौं र पाइला अगाडि बढायौं। 

विशाल जंगलको बीचैबीच हिँड्दै गर्दा अत्तिसी पाटीमा पुगेपछि एउटा घृणित मानव व्यवहारको निशानी देखियो। आवेग, उत्तेजना र क्षणिक स्वार्थ पूर्तिका लागि सयौं वर्ष लागेर हुर्किएका वनस्पतिहरू छेदविच्छेद गरी लडाइएको रहेछ। प्रकृतिको यस प्रकारको छेदन अस्वीकार्य मात्रै नभएर दण्डनीय थियो। छेदन भएका विशाल रूखहरू प्रयोगविहीन थिए। यस्तो अवस्थाले हामीलाई निकैबेर चिन्तित बनायो। दु:खी हुँदै गन्तव्यतर्फ लम्कियौं।  

केही अघि बढेपछि एउटा भोजपत्रको रूख देखियो। नवीनजीले रूख नजिकै गएर भोजपत्रका पत्रहरू निकाल्दै ऋषिमुनिहरूले गर्ने प्रयोगबारे संक्षिप्त जानकारी दिनुभयो। हामी भने उक्त पत्रहरू हातमा खेलाउँदै अगाडि बढिरहँदा जङ्गलको बाटो सकियो र पाटन क्षेत्र सुरू भयो। जतौरुको भात खाने स्थान भनेर चिनिने यस पाटन क्षेत्र तीर्थारुहरूको विश्रामस्थल रहेछ। 

अन्दाजी ३६०० मिटर उचाइमा रहेको यस स्थानमा पुग्दा केही साथीहरूलाई हल्का टाउको दुख्न सुरू भएको थियो। शरीरलाई एक्लमटाइज गर्दै जानु थियो। एकछिन विश्राम लिई नवीनजीले लिएर जानुभएको रोटी र साग खायौं। सुस्तरी हिँड्ने, एकछिन आराम गर्ने, खानेकुराहरू खाने अनि फेरि हिँड्ने गर्दै बाटो कटाउँदै गर्यौं। 

जता हेरे पनि उस्तै लाग्ने पाटन क्षेत्रमा पैदल मार्ग कतै भेटिएन। अबको यात्रा सबै पाटनै पाटन थियो। निकै माथि देखिएको पहाडको टुप्पो (पुगमालिका) लाई एम गर्दै अन्दाजमा उकालो लाग्दै थियौं। घरपालुवा जनावरहरूको एउटा हुल हामीतर्फ आउँदै गरेको देखियो।

ग्वाला निकै अगाडि थियो, पछाडि करिब १०० वटा जति भेडा, बाख्रा र घोडाहरूको समूह। यात्राका सबै रङ्गहरू क्यामेरामा कैद गर्न सिपालु सरोज सरले तिनै जनावरतिर क्यामेरा फर्काए र नजिक लम्किए। यसक्रममा एउटा अचम्मको दृश्य देखा पर्यो। 

एउटा ठूलो कालो कुकुर (स्थानीय भाषामा भोटे कुकुर) दौडदै भेडाहरूको बथानको अगाडि आएर ठिंग उभियो र सबै जनावरहरूलाई रोक्यो। उनीहरू आज्ञाकारी भई आदेश पालना गरे। शिकारीले सिकारको लागि तयार भए जसरी कुकुरले पोजिसन लियो र सरोज सर माथि जाइलाग्न लाग्यो। उसले हामीबाट भेडा असुरक्षित ठानेको आभाष भयो। नवीनजीले पछाडितर्फ विस्तारै पाइला चाल्दै उनीहरूबाट टाढा भई आक्रमणबाट जोगिन सुझाउनुभयो। सरोजजीले त्यसै गर्नुभयो। एउटा पशुको यो तहको सचेतना र नेतृत्वको प्रशंसा गर्दै पुन: यात्रालाई निरन्तरता दियौं। 

पाटन क्षेत्र प्रवेश गरेपछि मौसमले भने हामीलाई निकै चिन्तित बनायो। कहिले बादलले पूरै ढाक्ने अनि निकै चिसो बढाउने त कहिले घाम लाग्ने भइरह्यो। मौसम उघ्रिने बित्तिकै क्यामेरा निकालेर तस्वीर लिन खोज्यो उत्ति नै बेला बादलले ढाकिहाल्थे। बादल र क्यामेराले लुकामारी खेलेजस्तो भयो। पानी परिहाल्यो भने ओत लाग्ने ठाउँ समेत देखिँदैनथ्यो। कतै माथि पुग्न नसकिने हो कि आशंकाका बाबजुद पाइला बढाइरह्यौं। 

केहीबेरको हिँडाइमा हुम्दिना पाटन पुगियो। भुइँभरि एकै किसिम र एकै रङका फूलहरू फुलेका थिए। फूलहरूको जीवनमा समेत हिउँको निकै ठूलो प्रभाव रहेको आभाष हुन्थ्यो। हिउँले छिट्टै छाडेका स्थानमा फूलहरू फुलिसकेका थिए भने पछि छाडेका स्थानमा फक्रिँदै गरेका। यसैले कतै कोपिला, कतै फक्रिँदै गरेका त कतै जवान भइसकेका फूलहरू देखिन्थे। जवानी भरिएको फूल समेत दुई इन्च भन्दा अग्ला थिएनन्। 

यी फूलहरूले सुख्खा पाटनलाई रंगीन बनाउनुका साथै हाम्रो थकानलाई निकै टाढा भगाएका थिए।  

उकालो चढ्दै गर्दा बाटोमा फरक-फरक रङका फूलहरू देखिन्थे। उचाइ, मौसम र माटो अनुसार प्रकृतिका उपज पनि फरक नै हुने।  यिनै फूलहरूसँगै हाम्रो यात्रा निरन्तर रह्यो। 

झण्डै ३९०० मिटरको उचाइमा पुगेपछि दाहिनेतर्फ एउटा बाटोको ट्र्याक देखियो। यति लामो यात्रामा पैदलमार्गको निशानी समेत भेटिएको थिएन। उक्त ट्र्याकले हाम्रो आँखा तान्यो। अलिक नजिक गएर हेर्यौं। ढाँडखर्क भनिने त्यस स्थानमा मेला भर्न आएका तीर्थारुले राती ओत लाग्ने गरेको ओडार रहेछ। नजिकै दुइटा धर्मशाला पनि बनाइएको थियो। धर्मशाला र ओडारमा गरी झण्डै ७/८ सय जना तीर्थारुले प्रतिकूल मौसममा आफूलाई सुरक्षित राख्न सक्ने रहेछन्। 

पुगमालिका मन्दिरदेखि २०० मिटर तल पुगेपछि मन रोमाञ्चित भयो। ज्येठको मध्यसम्म पनि त्यहाँ हिउँ छपक्कै देखियो। जीवनमा पहिलोपल्ट हिउँ साँधेर खाइयो। नवीनजीले सफा हिउँमा चुक, चिनी, जीरा राखी साँधेर हामीलाई चखाउनुभयो। हिउँ खाँदै र खेल्दै हामी गन्तव्यमा पुग्यौं। समग्रमा हाम्रो ७ घन्टाको यस यात्रा निकै रोमाञ्चकारी रह्यो।

एकैदिन त्यसमा पनि ६/७ घण्टाको बीचमा उच्च पहाडी भूभागको १७०० मिटर उकालो यात्रा हासिल गरी कालीकोटकै शिर पुगमालिकामा पुगेका थियौं। मन प्रफुल्लित भयो। नेपाल टेलिकमको फोर जी सेवा पुगमालिकासम्म नै टिप्ने रहेछ। एकछिन परिवारसँग भिडिओ कल गरेर त्यहाँको सुन्दरताबारे सबैलाई जानकारी दिन पाउँदा निकै खुसी लाग्यो।

धार्मिक यात्रा थियो, सबै जना सनातन हिन्दु धर्म मान्ने भएकोले पहिले मन्दिर दर्शन गर्न लाग्यौं। पुगमालिकाबाट वरिपरिको दृश्य असाध्यै सुन्दर देखिने जानकारी थियो। मौसमको प्रतिकूलताले गर्दा सुनेजस्तो दृश्य देख्न भने पाइएन। एकछिन भए पनि मौसममा सुधार आउने हाम्रो चाहना अधुरै रह्यो। अपेक्षाकृत नभए पनि त्यहाँको सुन्दरतालाई आँखाले अवलोकन गर्दै केही दृश्यहरु क्यामेरामा समेत कैद गरियो। 

आजकाल हाइकिङ र ट्रेकिङ युवा पुस्ताको आकर्षण बनेको छ। शरीर स्वस्थ राख्नुको साथै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम हितकार छ। एउटा ट्रेकिङ रूट तय गरी न्यूनतम सुविधा उपलब्ध गराउने हो भने दुई दिनको ट्रेकिङको लागि पुगमालिका मन्दिर उत्तम गन्तव्य हुनेछ। यसतर्फ तिलागुफा नगरपालिकाले ध्यान पुर्‍याउनु आवश्यक देखिन्छ।

आय आर्जनको अन्य स्रोत नभएका यस्ता स्थानलाई पर्यटकीय गन्तव्यमा परिणत गर्न सके कालीकोटको विकासमा टेवा पुग्नेछ। धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरूको पहिचान स्थापित गराउँदै आन्तरिक पर्यटनलाई बढावा दिन सम्बन्धित सबैमा अनुरोध गर्दछु। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर