डुडुवा खोलामा डेढ दशकअघिसम्म कलकल सफा पानी बग्थ्यो। खोला आसपासका मानिस यही पानी खान्थे। नेपालगन्जलगायत क्षेत्रबाट गर्मी छल्न यहाँ आउने मानिसको घुइँचो नै लाग्थ्यो। यति मात्र होइन, मनमोहक वातावरणसँगै माछा मार्नेहरूको पनि उस्तै भीड हुन्थ्यो। चराचुरुंगी चिरबिराउँथे। छमछम पानी बगेको ध्वनीले यहाँ आउनेको मन मन्त्रमुग्ध बनाउँथ्यो। खोलाछेउमा सिमल र गुलजारका फूल फुल्थे, जसले यहाँको वातावरणलाई थप सुगन्धित बनाउँथे।
यही सुन्दर प्रकृतिसँग साक्षात्कर गरेका एक व्यक्ति हुन्–‘सागर गैरे।’अहिले र पहिलेको डुडुवाको तुलना उनले दुरुस्तै गरे, ‘डुडुवा खोला कोहलपुरको प्राकृतिक खोला हो। सफा, सुन्दर थियो। यसआसपासका मान्छेले यही खोलाको पानी खाएर हुर्किएँ। पौडी खेल्न म मात्र होइन, सयौं मान्छे यहाँ पुग्थे। खोलामा हाँस तैरिन्थे। रमाइलो थियो। तर, अहिले यहाँ पौडी खेल्नु र पानी खानु त परको कुरा हो। दुर्गन्धका कारण खोला नजिक जानै सकिन्न। अहिले त, खोलाको अस्तित्व सकिन थाल्यो,’ उनले त्यतिबेला र अहिलेको अवस्थाको संक्षेपमा चित्रण गरे।
बर्सेनि बाढीको कटान र बजारबाट जाने ढलका कारण डुडुवा खोला दुर्गन्धित हुँदै गएको उनको भनाइ छ। यति मात्र होइन, डुडुवा खोला अतिक्रमणको चपेटामा पर्दा पनि खोला संकटमा परेको उनी बताउँछन्। ‘पहिला खोलाछेउछाउ रुख तथा झाडी थिए,’उनले भने, ‘अहिले त खोला अतिक्रमणको चपेटामा परेको छ।’ डुडुवा खोलामा विभिन्न किसिमका माछा पाइने भए पनि ती माछा संकटमा भएको भन्दै उनले भने, ‘पहिला अचम्मका माछा पाइन्थे। अहिले ती माछा हराए।’ खोलाको तटबन्ध गरिए पनि गुणस्तरीय नहुँदा बर्सेनी बाढीले कटान गरिरहेको उनले जनाए। कोहलपुरको प्रमुख प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने उनको भनाइ छ। यसका लागि गुणस्तरीय तटबन्ध र वृक्षरोपणसँगै यसको सरसफाइमा ध्यान दिनुपर्ने भन्दै उनी भन्छन्, ‘बजारबाट जाने ढललाई शुद्धीकरण गरेर बगाउन सकिन्छ। जसले खोलामा सफा पानी जान्छ।’
पुरानो डुडुवा खोला सम्झँदै कोहलपुर–१० का यम रावत भन्छन्, ‘अहिले त डुडुवा खोलाको अस्तित्व नै सकिन थाल्यो।’उनलाई अहिले पनि ताजै छ, ‘बालापनमा उक्त खोलाको स्वच्छ पानीमा नुहाएको।’२०३५ देखि २०४२ सालतिरसम्म उनी र बालखसा (बाल्यकालका साथी) डुडुवामा घण्टौ ंबिताउँथे। रमाइलो गर्थे। डुडुवाको कञ्चन पानीसँगै बित्यो उनीहरूको बाल्यकाल। त्यतिबेला पिपिरी क्षेत्रको खोलामा नुहाउने गरेको उनले सम्झिए। पिपिरी क्षेत्रबाट चटारसम्म आएर नुहाउने गरेको रावतको भनाइ छ। ‘त्यतिबेला डुडुवा स्वच्छ र कञ्चन थियो। यही क्षेत्रमा लडीबुडी गर्दै बाल्यकाल बित्यो,’ उनी भन्छन्, ‘२०५० देखि ०६० सम्म डुडुवाको अवस्था ठिकै थियो। अहिलेसम्म आइपुग्दा डुडुवा खोलाको पहिचान नै दुर्गन्धित भएको छ। डुडुवा दुर्गन्धित खोलाको रूपमा परिणत भएको छ।’
डुडुवामा फैलिँदो दुर्गन्धप्रति उनी चिन्तित छन्। डुडुवा खोलाको कोहलपुरको पहिचान रहेको भन्दै यसको उचित संरक्षण हुनुपर्ने उनले बताए। डुडुवा खोला चुरे क्षेत्र हुँदै समथल तराईसम्म बग्छ। चुरे पर्वत क्षेत्रको आम्बासा क्षेत्र हुँदै कोहलपुरको खड्कवार, निबुवा, चटार, पिपिरी, राँझा हुँदै हिरनिमियासम्म पनि बग्ने गरेको स्थानीय बताउँछन्।
तर, पछिल्लो समय खोलाको पानी सुक्दै जान थालेको छ। बढ्दो जनसंख्या र बस्तीका कारण डुडुवा दुर्गन्धित बन्दै छ। खोलानजिक क्षेत्रमा मानिसले बस्ती बसाउन थालेका छन्। डुडुवासँगै रोहिणी खोलासमेत जोडिएको छ। डुडुवा र रोहिणी खोलाको बीचमा समथर फाँट थियो। वरिपरि खोला र झाडी जंगलबीचमा फाँट थियो। थारूहरूको पहिलो बस्ती बस्दा यो फाँट कम उब्जाउ तर पशुचरनका लागि योग्य ठाउँ थियो।
डुडुवा खोलानजिकै अहिले पनि रैथाने थारू बस्ती छ। अन्य बस्तीसमेत क्रमिक रूपमा फैलिरहेको छ। जतिजति बस्ती फैलिँदो अवस्थामा छ, डुडुवाले आफ्नो पहिचान गुमाउँदै छ। खोला क्षेत्रमा पहिले जंगल थियो। अहिले जंगल क्षेत्र अतिक्रमणमा परेको छ।
कोहलपुरमा मुख्य दुई खोला छन्। ती हुन्, रोहिणी र डुडुवा खोला। यी खोलामा हरेक वर्ष वर्षायाममा डुबान र कटानको उच्च जोखिम छ। कटानले कोहलपुर नगरपालिकाका विभिन्न बस्ती जोखिममा पर्छन्। कोहलपुर नगरपालिका हुँदै बग्ने रोहिणी र डुडुवा खोलाको कटानका कारण सबैभन्दा बढी जानकी टोल, एकतानगर, चटारलगायत टोल जोखिममा छन्।
डुडुवा खोलाको बाढीका कारण कोहलपुर ७, ८, १०, ११, १२ र १३ नम्बर वडा प्रभावित हुँदै आएका छन्। खोलामा आएको बाढीले तीव्र रूपमा कटान गर्छ। बाढी खेतबारी बगाउँदै बस्तीतिर सोझिन्छ बर्सेनि डुडुवा खोलाको डुबान र कटानका कारण समस्या हुने गरेको स्थानीय खेमराज शर्मा बताउँछन्।