अर्जुनचौपारी गाँउपालिकाले वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो ।
शिविरमा गाउपालिकाका अध्यक्ष प्रकाश तिवारीले स्थानीय रुपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरी आफ्ना पालिकाबासीको स्वास्थ्य, आयआर्जनमा जोड दिने बताउनुभयो ।
स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । अर्जुनचौपारी – १ निवासी का ९६ वर्षका वेदप्रसाद अर्याललाई बिरामी पुर्जा र डा. उत्सव पोैडेलको ‘वीपी सेट’ हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।
शिविरमा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ कविराज निरीक्षक देवेन्द्र आचार्य, डा. उत्सव पौडेल, डा. तुलसी श्रेष्ठ र डा. समीक्षा लामिछानेसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख ललित थापाले जानकारी दिनुभयो ।
शिविरमा पेट, छाती, बाथ तथा अमलपित्त र स्त्री रोग सम्बन्धी बिरामीको संख्या बढिरहेको थापाले बताउनुभयो ।
उपचार गर्दै बृद्ध अर्यालले पालिकाबाट पाउने आर्युवेद औषधिले फाइदा पुगेको र डाक्टरसहितको सेवा पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
एक दिने शिविरमा पुरुष भन्दा महिला बढि र बृद्धबृद्धा पनि लाइनमा बसेर सेवा लिएका थिए ।
पालिकामा दुई वटा आयुर्वेद औषधालय भए पनि नौ स्थानबाट घुम्ति शिविरको रुपमा साप्ताहिक रुपमा टोल टोलमा पुगेर सेवा उपलब्ध गराइँदै आएको छ ।
स्याङ्जामा एक जिल्ला आर्युवेद, सात वटा आर्युवेद औषधालय र चार वटा आरोग्य केन्द्र छन् ।