पछिल्ला महिनामा रेमिट्यान्स अप्रवाहमा वृद्धि भएसँगै अर्थतन्त्रका बाह्य सूचकहरू सबल बन्दै गएको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत चैत महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेपछि शोधनान्तर बचत र विदेशी मुद्रा सञ्चिति पनि थप बलियो अवस्थामा पुगेको देखाएको हो ।
निर्यात, पर्यटन, विदेशी सहयोग, अनुदान, ऋणलगायत विदेशी मुद्राका अन्य स्रोतहरू प्रभावकारी बन्न नसकिरहेको अवस्थामा लगातार रूपमा रेमिट्यान्समा वृद्धि हुँदा अर्थतन्त्रका बाह्य सूचकमा भने सुधार भएको प्रतिवेदनले औंल्याएको हो ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिना (गत चैत) सम्ममा रेमिट्यान्समार्फत ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मुलुक भित्रिएको रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको नौ महिनासम्म रेमिट्यान्स वृद्धिदर ०.२ प्रतिशतले ऋणात्मक रहेको थियो । यसो त चालु आर्थिक वर्षको सुरुदेखि नै रेमिट्यान्स वृद्धिदर उच्च बन्दै आएको छ । मासिक रूपमा हेर्दा गएका नौ महिनामध्ये गत मंसिरदेखि चैतसम्म (पाँच महिना) हरेक महिना १ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ ।
गत चैतमा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै सबैभन्दा बढी हो । जसअनुसार गत चैतमा रेमिट्यान्समार्फत १ खर्ब ९ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । राष्ट्र बैंकका अनुसार गत साउनमा ९२.२ अर्ब, भदौमा ९४.८ अर्ब, असोजमा ९४ अर्ब, कात्तिकमा ९७, मंसिरमा १ खर्ब २ अर्ब ५० करोड, पुसमा १ खर्ब ४ अर्ब ६० करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, फागुनमा १ खर्ब ४ अर्ब ४० करोड र चैतमा १ खर्ब ९ अर्ब १० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।’
चालु आर्थिक वर्षको नौ महिनासम्ममा ३ लाख ८७ हजार ३ सय ३९ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन् । गत आर्थिक वर्षको नौ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिको तुलनामा श्रम स्वीकृति लिनेको संख्या करिब साढे ५१ प्रतिशतले बढेको हो । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख १७ हजार ९ सय ५९ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ५.५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या करिब दुई सय प्रतिशतले बढेको थियो । यसरी वैदेशीक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स आप्रवाहमा पनि सुधार भइरहेको तथ्यांकले देखाएको छ ।
विदेशी मुद्रा सञ्चितिमा भएको सुधारले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै संकटमा जान्छ भन्ने सम्भावना अब नरहे पनि अर्थतन्त्रको जोखिम कायमै रहेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । ‘पछिल्ला महिनामा वस्तु तथा सेवा दुबैको आयात बढेको छ । यद्यपि बाह्य क्षेत्र चिन्ता गर्नुपर्ने छैन,’ उनले भने, ‘मूल्यवृद्धि बढ्दो क्रममा देखिएको छ । आन्तरिक आर्थिक गतिविधिमा सुधार ल्याउनुपर्नेछ ।’
अब आन्तरिक अर्थतन्त्रको सुधारका लागि राजस्व संकलनमा वृद्धि, चालु खर्चमा कटौती र पुँजीगत खर्च बढाउनुपर्ने श्रेष्ठले बताए । ‘ब्याजदर घट्दो दरमा छ । वैशाखदेखि कर्जाको ब्याजदर पनि घट्दै छ । यसले कर्जाको माग बढाउँछ । समग्रमा अर्थतन्त्र सुधारोन्मुख छ,’ उनले भने, ‘तर ब्याजदर घट्दा कर्जा अनुत्पादक क्षेत्रमा जाने सम्भावना रहने भएकाले त्यसलाई नियन्त्रण गरेर उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्नुपर्छ ।’
मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने सूचक शोधनान्तर गत चैतसम्ममा १ खर्ब ८० अर्ब रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ । रेमिट्यान्समा सुधार, आयातमा कमी र विदेशी सहायतामा वृद्धि भएकै कारण १४ महिनापछि गत असोजमा पहिलो पटक शोधनान्तर स्थिति बचतमा गएको थियो । त्यसयता हरेक महिना शोधनान्तर बचतको रकम बढ्दै गएको छ ।
शोधनान्तर बचतमा रहे पनि चालु खाता भने अझै घाटाकै स्थितिमा छ । तर, घाटा पनि घटीरहेको देखिन्छ । जसअनुसार गत चैतसम्म चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा छ । २०७८ चैतमा यो खाता ५ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा थियो । यसरी शोधनान्तर स्थितिमा सुधार भएसँगै वित्तीय प्रणालीमा तरलताको अवस्थामा पनि सुधार हुँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
गत चैतसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १४ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा चैतसम्ममा यस्तो सञ्चिति करिब १८ प्रतिशतले बढेको हो । यो हालसम्मकै उच्च भने होइन । यसअघि आव ०७७/७८ कात्तिकमा विदेशी मुद्रा सञ्चिति १५ खर्ब ६१ अर्ब थियो भने गत असारमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । गत आवको नौ महिनामा कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ६७ अर्ब रुपैयाँ थियो । यस्तै, गत चैतसम्म अमेरिकी डलरमा पनि विदेशी मुद्रा सञ्चिति १४.८ प्रतिशतले बढेको छ । ‘अमेरिकी डलरमा कुल विदेशी मुद्रा सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा गत चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ,’ प्रतिवेदनमा भनिएको छ । गत माघ यता विदेशी मुद्रा सञ्चिति बढे पनि उक्त अवधिमा आयात पनि बढेकाले विदेशी मुद्रा सञ्चितिले वस्तु तथा सेवाको आयात धान्ने अवधि नबढेको राष्ट्र बैंकले जनाएको छ ।
विगतमा विदेशी मुद्रा सञ्चितिमा कमी आएकै कारण सरकार र राष्ट्र बैंकले आयात नियन्त्रणका लागि नीतिगत व्यवस्था गरेका थिए । सोही कारण आयातमा कमी आएको र रेमिट्यान्समा सुधार भएकाले पछिल्ला महिनामा विदेशी मुद्रा सञ्चितिमा लगातार सुधार भइरहेको थियो । यद्यपि पछिल्ला महिनाहरूमा आयात बढ्दो क्रममा रहेको तथ्यांकहरूले देखाएका छन् ।