राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर पौने २ प्रतिशत रहने प्रारम्भिक अनुमान गरेको छ ।
यस अवधिमा म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुनुका साथै अन्य क्षेत्रको वृद्धिदरमा पनि कमी आएकाले समग्र अर्थतन्त्रको वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सीमित हुने कार्यालयको प्रक्षेपण छ ।
सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य तय गरेको छ । कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक लेखा तथ्यांकसम्बन्धी प्रतिवेदनले नेपालको अर्थतन्त्रको विस्तार खुम्चिने प्रक्षेपण गरेको छ । तर उक्त अवधिमा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आधारभूत मूल्यमा कर र अनुदान समावेश नगरिने भएकाले उपभोक्ता मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदरलाई वास्तविक मानिन्छ ।
यसअघिका सबै वर्षमा आधारभूत मूल्यको तुलनामा उपभोक्ता मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर बढी हुँदै आएको थियो । तर लक्ष्यको तुलनामा राजस्व संकलन झन्डै १८ प्रतिशतले घटेकाले यो वर्ष आधारभूत मूल्यमा गणना गरिएको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा गणना गरिएको भन्दा बढी देखिएको तथ्यांक कार्यालयले प्रस्ट्याएको छ । गत आर्थिक वर्षमा कार्यालयले मुलुकको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने प्रक्षेपण गरेकामा अहिले ६.६१ प्रतिशतको संशोधित अनुमान गरेको छ । चालु आर्थिक वर्षको ९ महिना (गत चैत) सम्मको वास्तविक तथ्यांक र आगामी तीन महिना (वैशाखदेखि असारसम्म) को अनुमानित तथ्यांकका आधारमा कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको हो ।
तथ्यांक कार्यालयले गरेको आर्थिक वृद्धिदरको अनुमान एसियाली विकास बैंक र विश्व बैंकले स्न २०२३ का लागि गरेकोभन्दा कम हो । एसियाली विकास बैंक र विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरिसकेका छन् । चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान छ । यसअनुसार गत वर्षको तुलनामा यस वर्ष जीडीपीको आकार ५ खर्ब ३० अर्ब रुपैयाँले बढ्ने देखिएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा नेपालको जीडीपीको आकार उपभोक्ता मूल्यमा ४९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको संशोधित अनुमान छ । चालु आर्थिक वर्षको अन्त्यसम्म जीडीपीको आकार ५३ खर्ब ८१ अर्ब ३३ करोड पुग्ने कार्यालयको प्रक्षेपण छ ।
हालका दिनमा नेपालमा कोभिडको प्रभावको अवस्था नरहे पनि विश्वका अन्य देशमा भएका घटनाले विश्वव्यापी रुपमा आपूर्ति शृंखला खलबलिएको तथा पेट्रोलियम पदार्थलगायत वस्तुमा भएको मूल्यवृद्धिको असर हाम्रो अर्थतन्त्रमा पनि परेकाले अर्थतन्त्रको विस्तार खुम्चिने अनुमान गरिएको तथ्यांक कार्यालयले जनाएको छ । यस वर्ष म्यानुफ्याक्चरिङ, निर्माण, व्यापारलगायत क्षेत्रको वृद्धिदर धेरै ऋणात्मक र अरु केही क्षेत्रको वृद्धिदर पनि अपेक्षित रुपमा बढ्न नसकेकाले अर्थतन्त्रको विस्तारमा संकुचन देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए । ‘व्यापार कृषि पछि सबैभन्दा धेरै भार भएको क्षेत्र हो । व्यापारसँगै म्यानुफ्याक्चरिङ र निर्माण क्षेत्रको वृद्धिदर पनि ऋणात्मक रह्यो । अरु केही क्षेत्रको वृद्धिदरमा पनि कमी आयो । सबै जोड्दा जीडीजीमा करिब २७ प्रतिशत भार भएका क्षेत्रको वृद्धिदर ऋणात्मक भयो,’ उनले भने, ‘यसकारण समग्र अर्थतन्त्रको वृद्धिदरमा कमी भएको हो ।’
यस वर्ष विद्युत् र होटेल क्षेत्रको वृद्धिदर निकै राम्रो भए पनि कुल जीडीपीमा यस क्षेत्रको भार निकै कम रहेकाले समग्र जीडीपीमा खासै असर नपरेको रेग्मीले जनाए ।
चालु आर्थिक वर्षमा अर्थतन्त्रमा करिब २ खर्ब २० अर्ब रुपैयाँले स्रोत अभाव रहेको पनि तथ्यांक कार्यालयको भनाइ छ । चालु आर्थिक वर्षमा मुलुकको राष्ट्रिय पुँजी निर्माण र अन्तिभ उपभोग गरी कुल ६८ खर्ब ३६ अर्ब रुपैयाँ छ । सोही अवधिमा मुलुकको कुल राष्ट्रिय आय ६६ खर्ब १६ अर्ब रुपैयाँ छ । यसरी हेर्दा कुल व्ययभन्दा आय २ खर्ब २० अर्ब रुपैयाँले कमी छ । यो कुल जीडीपीको करिब ४ प्रतिशत रहेको कार्यालयले बताएको छ ।
यस्तो अवस्थामा साधन स्रोतको अभाव पूर्ति गर्न सरकारले स्रोतको उपयोगमा मितव्ययिता र पुँजीगत खर्चमा बढोत्तरी गर्नुपर्ने कार्यालयका प्रमुख तथ्यांक अधिकारी रामप्रसाद थपलियाले जनाए । ‘तथ्यांकले अर्थतन्त्रको अवस्था कमजोर देखाएकाले अब सबै मिलेर यसको उत्थानमा लाग्नुपर्ने अपरिहार्य भएको छ,’ उनले भने, ‘अब कुनै पनि हालतमा अर्थतन्त्रको अवस्था योभन्दा बिग्रने दिने छुट हामीलाई छैन ।’
चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो । कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो । तर गत वर्षको प्रतिव्यक्ति आयको वास्तविक अनुमान पनि १ हजार ३ सय ९९ अमेरिकी डलर नै पुगेको छ । गत वर्षको तुलनामा यस वर्ष जीडीपीको आकार बढेकाले प्रतिव्यक्ति आय पनि सोही दरले बढेको छ । गत वर्ष नेपाली प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ । डलरको विनिमय दर बढ्दा नेपाली रुपैयाँ अवमूल्यन भएकाले चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रक्तिव्यक्ति आय १ हजार ३ सय ९९ नै देखिएको कार्यालयले प्रस्ट्याएको छ ।
चालु आर्थिक वर्षमा कुल जीडीपीमा सेवा क्षेत्रको योगदान केही बढेको देखिन्छ भने प्राथमिक र द्वितीय क्षेत्रको योगदानमा गत आर्थिक वर्षको भन्दा केही कमी आएको प्रतिवेदनले जनाएको छ । कृषि क्षेत्रअन्तर्गत वन तथा मत्स्य र खानी तथा उत्खनन पर्छन् । चालु आर्थिक वर्षको जीडीपीमा कृषि क्षेत्रको योगदान २४.६ प्रतिशत हुने अनुमान छ । चालु आर्थिक वर्षमा कृषि क्षेत्रको योगदान २.६९ प्रतिशत हुने देखिएको छ । उक्त अवधिमा धान लगायतका वर्षे बालीको उत्पादनमा वृद्धि भए तापनि हिउँदे बालीको साथै दूध, अन्डा तथा मासुको उत्पादनमा कमी आएकाले कृषि क्षेत्रको वृद्धि अपेक्षित हुन नसकेको बताइएको छ । चालु आर्थिक वर्षमा द्वितीय क्षेत्रको वृद्धिदर ०.५६ प्रतिशत हुने अनुमान छ । यस क्षेत्रअन्तर्गत उद्योग, विद्युत् ग्यास, आपूर्ति सेवालगायत क्षेत्र पर्छन् । जीडीपीमा यस क्षेत्रको योगदान १२.९ प्रतिशत छ । खासगरी उद्योग क्षेत्रमा आएको गिरावटले यस क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षको भन्दा कम देखिएको हो ।
चालु आर्थिक वर्षमा सेवा क्षेत्रको वृद्धिदर २.३३ प्रतिशत रहने कार्यालयको प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा थोक तथा खुद्रा व्यापार, आवास तगा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, वित्तीय तथा बिमा, भरजग्गा कारोबार, शिक्षा, स्वास्थ्यलगायत पर्छन् । ‘आयात तथा आन्तरिक औद्योगिक उत्पादनमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धिदर छ,’ प्रतिवेदनमा भनिएको छ, ‘उक्त अवधिमा यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिका कारण यस क्षेत्रको वृद्धिदरमा गत आर्थिक वर्षको भन्दा कमी आएको हो ।’ जीडीपी गणनामा समावेश २१ औद्योगिक क्रियाकलापमध्ये ४ वटालाई अन्य सेवामा वर्गीकरण गरिएको छ । बाँकी १८ क्षेत्रमध्ये ७ वटाको आर्थिक वृद्धिदर बढेको छ भने ९ वटाको घटेको छ । बाँकी २ वटाको वृद्धिदर स्थिर रहेको कार्यालयले जनाएको छ । कार्यालयले गत आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको जीडीपीको प्रतिवेदनले अर्थतन्त्र मन्दीमा गएको औंल्याएको छ । विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्स आप्रवाहलगायत बाह्य सूचक सकारात्मक रहे पनि समग्र अर्थतन्त्रको विस्तार ऋणात्मक भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार पछिल्लो तीन त्रैमासमा लगातार मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक छ । पछिल्ला त्रैमासहरूमा खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदामलगायत क्षेत्रमाको वृद्धिदर ऋणात्मक हुँदा मुलुकको आर्थिक विस्तार पनि ऋणात्मक देखिएको प्रतिवेदनमा उल्लेख छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण केन्द्रीय तथ्यांक कार्यालयले गरेको छ । प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ०.३४ प्रतिशत र गत आर्थिक वर्षको चौथो त्रैमासमा ०.२४ प्रतिशत ऋणात्मक थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आर्थिक वृद्धिदर १.७ प्रतिशतले सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख छ । तर गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा भने चालु आर्थिक वर्षको सोही अवधिमा यस्तो वृद्धिदर १.१ प्रतिशतले ऋणात्मक हुने कार्यालयको प्रक्षेपण छ । यस्तो अवस्थामा सरकारले समग्र निजी क्षेत्रको मनोबल उकास्ने काम गर्नु पर्ने अर्थविद्हरू बताउँछन् । यस्तो अवस्थामा अर्थतन्त्रलाई उकास्न सरकारले विशेष खालको ‘स्टिमुलस’ का कार्यक्रम ल्याउनुपर्ने उनीहरूको भनाइ छ ।