इटहरी, चैत ९ गते । धरानमा प्रहरीले दुई व्यक्तिलाई ६२ केजी गाँजासहित पक्राउ गरेको छ । धरान वडा नं २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजासहित धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ९ आहालेका २५ वर्षीय जितेन राईलाई पक्राउ गरेको हो ।
त्यसैगरी धरान वडा नं ११ सुनौलो बस्तीको घरमा लुकाई राखेको अर्को ३१ केजी गाँजासहित सुनौलो बस्तीकी ४७ वर्षीया विष्णुमाया राईलाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
इप्रकाका अनुसार धरान २० सिरिसेमा जितेन राईले प्रयोग गरेको प्र.१.०२.०५१ प.२३०५ नम्बरको मोटरसाइकल शङ्का लागि चेकजाँच गर्दा ३१ केजी गाँजा बरामद गरिएको हो । त्यही क्रममा विष्णुमाया राईको घरमा खान तलास गर्दा घर कोठामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ३१ केजी फेला पारेको थियो । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको बताइएको छ ।