नेभिगेसन मेनु

सुजाताले पाइन् त दिल दुखेको दवाई ?
सम्पादक:南亚网络电视
समय:2023-03-23 14:33

 

sharethis sharing button

डाक्टरलाई सोधे मैले दिल दुखेको दवाई

डाक्टरले भन्छन् दिलमा पीर गडेको छ भाई  

पाइएन ओखती दिल दुखेको, 

त्यसैले हो, मेरो ज्यान सुकेको  

पछिल्लो समय युवा पुस्ताको प्रिय गीत हो यो । सामाजिक सञ्जाल टिकटकमा पनि यो गीतमा थुप्रै भिडियो बनेका छन् । विवाह, पार्टी, पिकनिकमा समेत गीत प्राथमिकतामा परेको छ  । रोमान्टिक लोकशैलीको यो दोहोरी शैलीमा तयार यस गीतकी गायिका हुन् सुजाता केसी । उनलाई हरि गिरी ‘विर्मसी’ले गायनमा साथ दिएका छन् । 

गायिका केसीका अनुसार करिब २ महिना अगाडि आएको यो गीत सार्वजनिक भएकै बेला युट्युवको ट्रेन्डिङमा समेत परेको थियो । उनले यो गीत आफ्नै आधिकारिक युट्युव च्यानल ‘सुजाता केसी’ बाट ल्याएकी छन् । नयाँ च्यानलबाट पनि गीतले दुई करोड भ्यूज पाउनुलाई यसको लोकप्रियता अड्कल गर्न सकिन्छ । 

गीतको भिडियोमा काजिश श्रेष्ठ, लोमस शर्मा, करिष्मा ढकाल र आभा थापाको अभिनय छ । ‘गीतको टिकटक मात्र ८० हजार बढी बनेको छ’ उनले थपिन् । गीतले भनेझै के गायिका केसीले पाइन् त ओखती दिल दुखेको ? ‘गायकको लागि सबैभन्दा ठूलो ओखती दर्शक, श्रोताको माया हो । त्यो यही गीतबाट मैले पाएँ,’ उनले भनिन् ।

दशकदेखि गायनमा

सुजाता २०६६ सालदेखि गायनमा आएकी हुन् । उनले पहिलो गीतको रुपमा तीज गीत ‘छमछम पाउजु’ ल्याएकी थिइन् । त्यसपछि ‘आज कोही किन मलाई मन परेको छ’ बोलको आधुनिक गीत ल्याइन् । ठाकुरप्रसाद दुलालको शब्द, संगीत रहेको यो गीत उनको ‘काकाकुल’ एल्बममा समावेश छ । 

‘अहिले फाट्टफुट्ट गीत गर्ने चलन छ,’ उनी विगतमा फर्किइन्, ‘त्यो समय एल्बम निकाल्ने चलन थियो । त्यही भएर एल्बम ल्याएँ ।’ ७ वटा गीत समेटिएको पहिलो एल्बमका सबै गीत हिट नभएपनि उनी सन्टुष्ट थिइन् । सानैदेखि गायनमा रुचि भएकी उनी स्कुल, कलेजका सांगीतिक कार्यक्रम गाउँदै आफूलाई निखार्दै आइन् । उनी हरेक वर्षको तीजमा अनिवार्य तीज गीत ल्याउँछिन् । 

300816752_626187919122055_2710234367253026485_n

‘तीज हाम्रो संस्कृति हो । त्यसको संरक्षणका लागि वर्षमा एउटा गीत अनिवार्य ल्याउँछु,’ उनले अगाडि भनिन्, ‘वर्षमा अन्य गीत ३/४ वटा पनि आउँछ ।’ ‘पाइएन ओखती दिल दुखेको’ उनको धेरै चर्चित गीत भएपनि युट्युवको करोड क्लबमा पुग्न सफल पहिलो गीत भने ‘बाजा बजाउँदै’ बोलको थियो । पहिलो लकडाउनको एक दिन अगाडि सार्वजनिक यो गीतमा संगीतकार अर्जुन पोखरेलको संगीत र लोकराज अधिकारीको शब्दछ । 

गायनमा उनले संगीतकार पोखरेलसँग पहिले पनि सहकार्य गरेकी थिइन् । युट्युवमा करोड क्लबमा पुग्न सफल आफ्नो पहिलो गीत भएकोले उनले यसको खुसीमा केक काट्दै धुमधामसँग साथीभाईमाझ सेलिब्रेसन गरेकी थिइन् ।

‘बाजा बजाउँदै’पछि अहिलेसम्म उनले थुप्रै गीत सार्वजनिक गरिसकेकी छन् । ‘जाल बुन्यो’, ‘कुरा सिधा छ’, ‘बतास बनी छुन आई देउ न’ लगायत गीत दशक–श्रोताले अत्याधिक रुचाएको उनी बताउँछिन् ।

गायनको सुरुवात 

उनी सानैदेखि स्कुल कलेजका कार्यक्रममा भाग लिन्थिन् । त्यो क्रममा सबैले स्वर राम्रो छ, गायिका बन्नुपर्छ भनेर हौस्याउँथे । त्यो समय न उनले गायन बुझेकी थिइन्, न गीत । तैपनि गीत गाउन रमाइलो लाग्थ्यो उनलाई । यसरी शौखको रुपमा गाउँदै अगाडि बढिन् । भविष्यमा यस्तो बन्छु भन्ने दिमागमा आउनु पहिले नै आफूले गायन सुरु गरिसकेको उनले सुनाइन् ।

केसी ललितपुरको विकट गाउँ टुठादुर्लुङमा जन्मिएकी हुन् । उनी पढ्ने स्कुलका प्रिन्सिपल रहेका बुबाले पनि गायनमा लाग्न प्रेरणा दिन्थे । स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा निरन्तर भाग लिदै गएपछि उनको सानैदेखि प्रतिभा निखारिदै आयो ।

‘मेरो स्कुलमा त्यो समय म्युजिक सिस्टमको सुविधा थिएन,’ उनी स्कुले जीवनमा फर्किइन्, ‘त्यो समय बुबाले आफैले गीत लेखी कम्पोजसमेत गर्नुहुन्थ्यो । हामी बिना म्युजिकै गाउँथ्यौ ।’ त्यसरी गीत गाउँदा उनलाई ठुलो भएर संगीत सहितको गीत गाउने रहर जाग्यो । भनिन्, ‘त्यही समय मैले ठूलो भएर गायिका बन्छु भन्ने अठोट लिएँ ।’

गायनबाट आत्मसन्तुष्टि

एक दशक बढी समय बितिसक्यो उनले गायन क्षेत्र अंगालेको । गायन उनलाई यसकारण फापेको छ कि यसैबाट नाम र दाम दुबै कमाइरहेकी छन् । ‘घरमा आफ्ना लागि पकेट खर्च माग्नुपर्दैन । सबै पुगेको छ । त्यसमै सन्तुष्टी छ,’ उनी खुसी देखिइन् । त्यसो त गायनबाट अधिक कमाउने चाहना पनि छैन उनमा । आफ्नो युट्युव च्यानल, अडियो र टिकटकबाट पनि आम्दानी हुने गरेको उनी सुनाउँछिन् । राम्रो कन्टेन्ट दिन सकियो भने अहिले गायक गायिकालाई बाँच्न गाह्रो नभएको उनको जिकिर छ ।

हिट भयो भने राम्रो आम्दानी हुन्छ । तर नयाँलाई गाह्रै छ । ‘गायक गायिकाको धेरै गीत चल्नु पर्दैन । एउटै गीत चलेपनि पुग्छ’, उनले अगाडि भनिन् ‘जब गीत चल्छ, तब स्टेज कार्यक्रमले भ्याइ नभ्याइ हुन्छ । आम्दिानी पनि त्यहीअनुसार बढ्ने नै भयो ।’ 

केही अगाडिसम्म उनलाई पनि स्टेज कार्यक्रमले भ्याइ नभ्याइ थियो । अहिले भने उनलाई कामको चाप छैन । ‘ब्यस्तताको समयमन विवाह गरें, सन्तान जन्माएँ । केही समयको अन्तरालपछि गायनमा फर्किएकोले अहिलेस्टेज कार्यक्रम थोरै गरिरहेकी छु’, उनले कारण खोलिन्, ‘ग्याप भएपछि फर्किदा फेरि करियर सुरुदेखि अगाडि बढाउनु पर्दाे रहेछ ।’

गायनसँगै अभिनय पनि

पछिल्लो समय गायक/गायिकामा आफ्नो म्युजिक भिडियोमा आफै अभिनय गर्ने चलन बढ्दो छ । उनले पनि पहिले आफ्नो गीतको भिडियोमा आफै अभिनय गर्दै आएकी थिइन् । तर पछिल्लो समय भने अरुलाई चान्स दिएकी छिन् । ‘बच्चा भएपछि महिलाको शरीर बिग्रदो रहेछ’, उनले सुनाइन् ‘शरीर राम्रो नभएपछि पहिले जस्तो अभिनयमा कम्फर्टेवल फिल पनि नहुँदो रहेछ ।’ 

294531049_604427907964723_674695994460510718_n

पहिले झै आफ्नो शरीर मेन्टन गर्ने कोसिसमा लागेकी उनको अगामी दिनमा भिडियो अभिनय गर्ने सोच भने यथावत छ । भन्छिन्, ‘अरुको भिडियो पाउँछु पाउँदिन थाहा छैन, आफ्नो गीतमा भने अभिनय गर्छु ।’ विशेष गरी लोकपप गायन रुचाउने बजारमा आएका उनको गीत यही शैलीका बढी छन् । जुन गीत दर्शकले रुचाएको पनि छन् । त्यसैले उनी आफूलाई लोकपप गायिका भनेर चिनाउँछिन् । 

केही पहिले सरोज लामिछानेसँग एउटा काठेभाकाको लोकदोहारी गाएकी थिइन् यनले । त्यो ठिकठिकै भयो । अहिले फेरि अमृत खातीसँग ‘आलु तामाले’ बोलको लोकदोहोरी गीत ल्याउँदै गरेको उनले जनाइन् । त्यसो त उनलाई आधुनिक, त्यो पनि सेन्टिमेन्टल शैलीको गीतमा बढी मोह छ । अहिले टिकटकको जमाना भएको र अभिनय गर्न र नाच्न पनि सजिलो भएकोले यस्तो गीत ठिक भएको उनी बताउँछिन् । 

‘अहिले मेलोडियस गीत भयो भने टिकटकमा धेरै जान्छ भन्ने सबैको दिमागमा सेट छ’, उनले थपिन्, ‘कुन बेला कुन गीत चल्छ भन्ने थाहा छैन । टिकटकमा जुन गीत चल्यो, त्यही हिट हुन्छ ।’ थुप्रै अवार्ड हात पारेकी उनले यसलाई कर्मको फल मान्छिन् ।

केही अगाडि उनले ‘बतास बनी छुन आइ देउ न’ हल्का रोमान्टिक गीत ल्याएकी थिइन् । त्यो गीत दर्शक श्रोताले रुचाएको र टिकटकमा समेत भाइरल भएकोले रोमान्टिक नम्बर, लभ सङको चाहना आफूमा बढेको खुलाउँछिन् । सोही अनुरुप अर्जुन पोखरेलको शब्द संगीतमा एउटा रोमान्टिक गीत रेकर्ड गरेर भिडियो समेत बनाएकी छन् । गीतको बोल भने सार्वजनिक गर्नु अगाडि बाहिर नल्याउने बताउँछिन् ।

अब आफ्नै स्टुडियो  

एक लभ सङको अलवा अहिले उनी हिट गीत ‘बाजा बजाउँदै’ को दोस्रो भाग ‘बाजा बजाउँदै–२’ ल्याउने तयारीमा जुटेकी छन् । केसी गीतको अलावा एप्लस रेकर्ड स्टुडियो समेत सुरु गरेकी छन् । संगीतकार अर्जुन पोखरेल, टिकाराम लगायतसँगको सहकार्यमा गत असोजबाट स्टुडियो थालेकी हुन् । 

गायकलाई आफ्नै स्टुडियो चाहिन्छ र ? प्रश्न राख्न नपाउँदै उनले जवाफ दिइन्, ‘विगत १४/१५ वर्षदेखि सांगीतिक फिल्डमा छु । नयाँ गीत संगीत ल्याइरहेकी छु । गीत संगीतमा अझ धेरै नजिक हुन सकिन्छ कि भनेर स्टुडियो सुरु गरेको हो ।’ गीतसंगीतमा जानकार रहेको, आफ्नै क्षेत्र भएकोले पनि यसमै ब्यवसाय गरेको उनले स्पष्ट पारिन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर