
काठमाडौँ, कात्तिक ९ गते । हरेक वर्ष दसैँको महानवमीको दिन लिम्बू समुदायले इतिहासको प्रतीकको रुपमा ‘निशान’ प्रदर्शन गर्ने गरेका छन् । इतिहासको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यसहित यसवर्ष पनि दसैँ पर्वको महानवमीको दिन निशान प्रदर्शन गरिएको छ ।
खासगरी नेपाली हिन्दूहरुको प्रमुख चाड दसैँलाई बडादसैँ पनि भन्ने गरिएको छ । नवरात्रिको अन्तिम दिन अर्थात वडा दसैँको महानवमीको दिन लिम्बू समुदायको इतिहास बोकेको ऐतिहासिक ‘निशान’ प्रदर्शन गरिएको छ । सधा झैँ पाँचथरको याङ्वरक गाँउपालिका–४ थर्पुमा महानवमीको दिन निशान भव्य रुपमा प्रदर्शन गरिएको छ ।
पाँचथरको थर्पुसहित तेह्रथुमको छथरथुम र धनकुटा जिल्लामा पनि निशान प्रदर्शन गर्ने अर्थात नचाइने गरिएको बताइन्छ । थर्पूको कालिका भगवती मन्दिर परिसरमा इतिहासको प्रतीक निशान प्रदर्शनसँगै भव्य मेला लाग्ने गरेको छ । निशान मेलामा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुमलगायत पूर्वका विभिन्न स्थानका नागरिकहरु सहभागी हुने गरेका छन् ।
लिम्बूको इतिहासको प्रतीक निशानसँगै नगरा, दमाहा बाजा साथै युद्धकालीन समयमा प्रयोग भएका तरवार, खुँडा, कत्तीसहित विभिन्न किसिमका ऐतिहासिक हातहतियारसमेत प्रदर्शन गर्ने गरिन्छ । राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा भएको युद्धको झल्को दिनेगरी निशान प्रदर्शन गर्ने गरिएको स्थानीय अगुवा बताउँछन् ।
नेपाल एकीकरणको समयमा राजा पृथ्वीनारायण शाहले पल्लो किराँतका लिम्बूहरूलाई उपहार स्वरूप श्रीजङ्ग र कम्फु नामको दुई वटा निशान छाडेको भन्ने भनाइ छ । विक्रम सम्वत् १८८० तिर शासकीय अधिकार हस्तान्तरण गर्ने क्रममा पृथ्वीनारायण शाहले श्री कम्फु र श्री जङ्ग नामको निशान प्रदान गर्नुभएको बताइन्छ । राजाले उपहारस्वरूप छाडेको सोही निशानको प्रतीक पूर्वमा बसोबास गर्दै आएका लिम्बू समुदायले दसैँको नवमीका दिन प्रदर्शन गर्ने गरेका हुन् ।
यता ऐतिहासिकतासँगै धार्मिक दृष्टिले समेत निशानलाई महत्व दिइने गरिएको छ । निशानको दर्शन तथा पूजा र सेवाढोग गरेको शक्ति प्राप्त हुने साथै सोचेको, चिताएको मनोकाङ्क्षा प्राप्त हुने विश्वास रहिआएको छ । सोही विश्वासका कारण लिम्बू मात्र नभई सबै समुदायका नागरिकले निशानको दर्शन गर्ने गर्छन् ।

















