दोलखा, माघ १५ गते । दोलखाको शैलुङ गाउँपालिकास्थित धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय महत्त्व बोकेको सुन्दर शैलुङ क्षेत्र जनचासो कम हुँदा तथा सम्बन्धित निकायको उपेक्षाका कारण ओझेलमा परेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा रहेको यो स्थानको महत्त्व र प्रसिद्धि हुँदाहुँदै पनि यसतर्फ कसैको खासै ध्यान नपुग्दा ओझेलमा परेको हो ।
जैविक विविधताले समेत भरिपूर्ण शैलुङलाई पर्यटन क्षेत्र घोषणा गर्नुपर्ने चासो स्थानीय बासिन्दामा रहेको भए पनि विकासका पूर्वाधार खासै बन्न सकेको छैन । शैलुङको थुम्काभन्दा करिब एक घण्टा पैदल तल रहेको कालापानीमा सामान्य पूर्वाधार बनेका छन् । स्थानीय झिल्के तामाङले भन्नुभयो, “यो क्षेत्र लालीगुराँस हेर्ने पर्यटकका लागि महत्त्वपूर्ण हुन सक्छ । त्यसतर्फ कसैको पनि ध्यान जान सकेको देखिँदैन ।”
त्यस्तै स्थानीय गणेश श्रेष्ठ सुविधासम्पन्न होटल तथा लज बनाएर पर्यटकलाई स्वागत गर्ने उद्देश्य लिएर बस्नुभएको छ तर पनि भने जस्तो हुन नसक्दा उहाँको सोचाइले ठाउँ पाउन सकेको छैन । सरकारले यसलाई पर्यटन क्षेत्र घोषणा गरी विकास गरेमा दोलखा मात्र नभई सिङ्गो नेपाललाई फाइदा हुने उहाँको दाबी छ ।
तल्लो भागमा धानखेती, त्यसभन्दा माथि आलु र सोभन्दा माथि हिउँ थुप्रेको सौन्दर्य यहाँ देख्न पाइन्छ । यहाँ सांस्कृतिक विविधता पनि त्यत्तिकै छ । स्थानको हिसाबले यो ठाउँ मनमोहक पनि रहेको छ । पौराणिक किंवदन्तीअनुसार पहिले यहाँ सय जना तपस्वीले तपस्या गर्थे । कलियुग प्रारम्भ भएपछि कलियुगको मुख नहेर्ने भनी उनीहरू सय थुम्कामै विलीन भएपछि शिलाका रूपमा रहेको स्थानीय एक ज्येष्ठजनको भनाइ रहेको छ ।
त्यस्तै रामायणको लडाइँमा मुर्छित भएका लक्ष्मणलाई ब्युँताउन हनुमानले औषधिका लागि सुमेरु पर्वत बोकेर ल्याउँदा झरेको माटाको डल्लोबाट यो सय थुम्का बनेको किंवदन्ती पनि प्रचलित रहेको छ ।
त्यस्तै महायान समुदायका लामा बौद्ध धर्मको उप–सम्प्रदाय निङमायाको किंवदन्तीअनुसार गुरु पद्म सम्भव (रिपोन्छे)ले नेपालका उच्च तथा हिमाली शृङ्खलाका साथै तिब्बतका बोन (झाँक्री) धर्म गुरुहरूलाई परास्त गरी बौद्ध धर्मको स्थापना गरेका थिए । त्यसपछि त्यहाँ धर्मचक्र राजाकी छोरीसँग विवाह गरी बस्दा स्वदेश (ग्यासार)का जजमानहरूको संस्कार साधनासमेत तान्त्रिक शक्तिद्वारा आकाश मार्गबाट पठाउँदा मानेखोर अथवा ल्याहो (माने) शैलुङमा बसेका थिए भन्ने विश्वास गरिन्छ ।
यस्तै कारणले यहाँ हिन्दु धर्मावलम्बी मात्र होइन, बौद्ध धर्मावलम्बीसमेत ठूलो आस्थाका साथ पूजाआजा गर्छन् । यहाँ रहेको प्रसिद्ध शैलुङ्गेश्वर महादेवको मन्दिरमा हरेक वर्ष जनैपूर्णिमा र बालाचतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । यहाँ रहेको एउटा ओडारमा धर्मढोका रहेको छ । यो ढोकाबाट पापी छिर्न सक्दैन भन्ने विश्वास पनि रहिआएको छ । कहिलेकाहीँ पातलो मानिस पनि छिर्न नसक्ने यो ढोकाबाट मोटो मानिस पनि छिर्न सक्ने स्थानीय पूर्णबहादुर खडकाले बताउनुभयो ।
प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी मेला पनि शैलुङको विशेषता हो । यो ओडारमा १२ वर्षमा गोदावरी फूल फुल्ने गर्छ । त्यही वर्ष नै गोदावरीको ठूलो मेला लाग्ने गर्छ । यसरी फूल फुल्दा यो ओडारमा दूधजस्तो तरल पदार्थ चुहिने गर्छ । यसमा मानिसले नुहाएमा रोग नलाग्ने विश्वास गरिन्छ ।
वर्षको चार महिना फागुन, चैत, वैशाख र असोजमा स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन् । यहाँका सय थुम्कामध्ये सबैभन्दा ठूलो थुम्कालाई बाघदुर्गा भन्ने गरिन्छ । धार्मिकस्थल कालिञ्चोकबाट डाँफे चराको बथान आई बाघदुर्गामा बस्ने गर्थे । धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न जनचासो बढ्दै गए पनि सोचेअनुसार संरचना बन्न सकेको छैन र प्रचारप्रसारको अभाव रहेको छ ।