नेभिगेसन मेनु

हनुमान नाच : भक्तपुरमा लोप, बागलुङमा संरक्षण
सम्पादक:南亚网络电视
समय:2026-03-29 11:39

 

 Hunuman-Naach-Photo-1

बागलुङ, चैत १५ गते । यहाँका नेवार समुदायले दुई सय ८० वर्ष पुरानो हनुमान नाच संरक्षण गरेका छन् । एक वर्ष बिराएर भदौ तेस्रो साता सुरु गरेर ६ देखि ८ महिनासम्म नाचिने हनुमान नाच बागलुङमा मात्र संरक्षण भएको पूर्व प्राज्ञ प्रेम छोटा बताउनुहुन्छ । नौ वर्षदेखि रोकिएको नाच गत असोज ९ गतेदेखि पुनः नाच्न सुरु गरिएको थियो ।

कला संस्कृतिप्रति चासो राख्नुहुने अधिवक्ता काजीगाउँले श्रेष्ठका अनुसार, भक्तपुर इकु छेका शिवशंकर श्रेष्ठ चौधरी १८४३ पछि बागलुङमा आउनुभएको थियो । टक्सारको काम र नुनको कारोबार गर्ने उहाँले छहरा पधेंरा खोल्छाको पूर्व भिर पहरा मुनि हनुमानको मूर्ति ढुंगामा बनाउन लगाउनुभएको थियो । त्यस ठाउँमा एउटा पाटी पनि बनाउनुभएको थियो । हनुमान नाच बागलुङ बजारमा उहाँले प्रचलनमा ल्याउनुभएको हो ।

‘‘पहिले हनुमान नाचमा शिवशंकरका सन्तान पूर्णबहादुर श्रेष्ठ पुजारी हुनुहुन्थ्यो । उहाँपछि शिवशंकरकै वंशजका कर्णबहादुर श्रेष्ठ पुजारी बन्नुभयो, त्यसपछि लखने, पुजारी, मूल कजीहरू फेरिँदै आएका छन्’’ श्रेष्ठले भन्नुभयो ।

पछिल्लो समय हनुमान नाचको प्रवर्धन गर्न मेला महोत्सव र चाडपर्वमा प्रदर्शन गर्न थालिएको छ । चैत्राष्टमीको अवसरमा कालिका मन्दिरमा हनुमान नाच प्रदर्शनी गरियो । बागलुङको पहिचान झल्काउने हनुमान नाच चाडपर्वदेखि मेला महोत्सवमा आकर्षणको केन्द्र बन्दै गएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

कम्तिमा १३ र बढीमा १५ जोडी हनुमान बनेर बागलुङ बजार नजिकैको छहरा पधेंराबाट हनुमान नाचको थालनी गरिन्छ । ‘‘अष्टचिरञ्जिवीको रुपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वास छ’’ छोटाले भन्नुभयो, ‘‘भक्तपुरमा मनाइने यो नाँच अहिले त्यहाँ लोप भयो, बागलुङमा संरक्षण गरिएको छ ।’’

रामका सेवक भएकोले हनुमान नाच देखाउँदा धर्म मिल्ने, हनुमानको झैं शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र काम गर्ने जाँगर पलाउने विश्वास गरिने छोटाको भनाई छ । हनुमान नाचले युवाहरुलाई ब्रम्हचर्यमा रहन पनि सिकाउने छोटा बताउनुहुन्छ ।

१६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरुले ब्रम्हचर्यमा बस्नुपर्छ । रामायणको कथामा आधारित नाच भएकाले हिन्दुधर्म मान्ने सबैले संस्कृति संरक्षणमा भाग लिने गरेको संस्कृतिविद् समेत रहनुभएका छोटाले बताउनुभयो । हनुमान नाच संरक्षण गर्न २०४६ सालमा परिषद् समेत गठन गरिएको छ । ‘‘लोपोन्मुख कला संस्कृतिको संरक्षण गर्न सामूहिक प्रयासको खाँचो छ’’ छोटाले भन्नुभयो ।

ध्योला तालमा नाँच्नका लागि मृदंगा बाजा, धिमे र झ्याली बजाउनका लागि कलाकारहरु आवस्यक पर्छ । त्यस्ता कलाकारलाई अगुवाइ गर्ने प्रधान कजी रहने व्यवस्था छ । मुख्य सञ्चालकको रुपमा चिनिने प्रधान कजीले नाँचको संयोजन गर्छन् । नाँचमा भजन मण्डलीको व्यवस्था गर्न अन्य सहायक कजीको पनि व्यवस्था गर्नुपर्ने छोटा बताउनुहुन्छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर