
काठमाडौँ, चैत १ गते । सिँचाइको अभावमा सुनसरीका किसान समस्यामा पर्न थालेका छन् । देशको सबैभन्दा ठुलो नदी सप्तकोशी भएकै जिल्लाको अधिकांश ठाउँमा सिँचाइ समस्या हुन थालेको हो । सप्तकोशी नदीको पानी किसानका गरामा पु¥याउन सुनसरी–मोरङ सिँचाइ आयोजना सञ्चालन गरिए पनि नियमित पानी नदिँदा किसान मर्कामा परेका हुन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का किसान चुनचुन झाले गाउँको खेतबाटै नहर गएको भए पनि पानी नआएकाले सिँचाइ गर्न समस्या भएको गुनासो गर्नुभयो । “सुनसरी–मोरङ सिँचाइ आयोजनाको सुकसेना (सिसुवा) शाखा नहरमा दुई महिनादेखि पानी आएको छैन,” उहाँले भन्नुभयो ।
अर्का किसान तथा सामाजिक अभियन्ता बेलाल अन्सारीले समेत नहरमा पानी नभएकाले किसानलाई मकै, गहुँ र तरकारीबालीमा सिँचाइ गर्न समस्या भएको गुनासो गर्नुभएको छ । भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान विन्देश्वर मेहताले अहिले जस्तो पानीको अभाव भएमा भविष्यमा खाद्यान्नको परनिर्भरता बढ्ने चिन्ता व्यक्त गर्नुभयो ।
जल उपभोक्ता समितिका पूर्वकेन्द्रीय अध्यक्ष तथा कोशी प्रदेश सामाजिक विकासमन्त्री रामप्रसाद मेहताले ५० वर्षअघि निर्माण भएको नहरको संरचनाको आयु सकिएर जीर्ण हुँदा समस्या भएको बताउनुभयो । यद्यपि सरकारले मर्मतसम्भार गर्दै पानी वितरण गरिरहे पनि कोशीमै पानी कम भएकाले अहिले समस्या देखिएको उहाँले जानकारी दिनुभयो । शङ्करपुर शाखा नहर जनउपभोक्ता समितिका अध्यक्ष बलाराम मेहता पनि हिउँदमा कोशीमै पानीको अभाव भएकाले समस्या भएको बताउनुहुन्छ ।
सन् १९७५ मा भारत सरकार तथा विश्व बैङ्कको ऋणको सहयोगमा निर्माण भएका यो आयोजनामा ११ वटा शाखा नहर र ३६ वटा शाखा नहर निर्माण गरिएको छ । माइनर नहर निर्माण गरी सरकारलाई हस्तान्तरण गरेको थियो । आयोजनाको मूल नहरका संरचना जीर्ण भएको र सप्तकोशी एसियाकै बढी बालुवा फाल्ने दोस्रो नदी भएकाले पनि समस्या भएको आयोजनाले जनाएको छ । नदीमा पानीको सतह घट्ने क्रम र नहर पुरिने क्रम बढेकाले तत्काल सप्तकोशीमा पानी छेक्ने बाँध निर्माण गर्नुपर्ने आवश्यकता रहेको जलउपभोक्ता समितिका तपन दास बताउनुहुन्छ । “पानी उदयपुरतर्फ ढल्केको छ । एकातर्फ सुनकोशी–मरिण डाइभर्सन निर्माण भएपछि सप्तकोशीमा ६७ प्रतिशत पानी स्वतः घट्ने छ,” उहाँले भन्नुभयो, “बाँकी पानी पनि उदयपुरतर्फ गएपछि सुनसरी–मोरङ सिँचाइ आयोजना बन्द गरिदिए हुन्छ ।”





