'

काठमाडौँ, चैत २१ गते । टेबलटेनिसका स्यान्टु श्रेष्ठ र कराँतेकी एरिका गुरुङले शुक्रबार २० औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड–२०८२ को सर्वोत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआइपिए) ले स्थानीय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिरपरिसरमा आयोजना गरेको कार्यक्रममा दुवैलाई अवार्डसहित जनही एक लाख रुपियाँले पुरस्कृत ग¥यो । प्रतिभाशाली खेलाडीको अवार्ड पुरुषमा तेक्वान्दोका अभिषेक बराल र महिलामा बक्सिङकी स्वस्तिका तिरुवाले हासिल गर्नुभयो । अभिषेक र स्वस्तिकाले ट्रफीसहित जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो ।
गजराज जोशी आदर्श खेल व्यक्तित्व पुरस्कार भलिबल प्रशिक्षक कुमार राईले प्राप्त गर्नुभयो । फोटो पत्रकार उदिप्तसिंह क्षेत्री एनएनआइपिए खेल पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो । दुवैले जनही ३५ हजार नगद पुरस्कार पाए । वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्ड एथलेटिक्सकी प्रभा आङडेम्बेले जित्नुभयो । प्रभाले १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
सो कार्यक्रममा २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी–२०८२ को अवार्ड प्रदान गरिएकोे थियो । अवार्ड पाउनेमा एरिका (कराँते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युतकृष्ण खरेल (साइक्लिङ),, सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक (तेक्वान्दो), स्वस्तिका (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखालमगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलीप यादव (भारोत्तोलन), रविन चेपाङ (¥याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखू –जिम्न्यास्टिक), स्यान्टु (टेबलटेनिस) र लक्ष्मी राई (स्की) हुनुहुन्छ । यी २६ खेलाडीमध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, सुवर्ण श्रेष्ठ र भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी र जगत टमटा, बनेपा नगरपालिकाका मेयर शान्तिरत्न शाक्य र उपमेयर विमला सापकोटा दाहाल, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी सङ्घका मानार्थ अध्यक्ष दीपक विष्टलगायतले विजेतालाई एक कार्यक्रमबिच पुरस्कृत गर्नुभयो । सदस्यसचिव मेहताले विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई एउटै मञ्चमा उपस्थित गराएर पुरस्कृत गर्ने कार्य प्रशंसनीय रहेको बताउनुभयो । काठमाडौँ उपत्यकाबाहिर पहिलो पटक अवार्ड आयोजना गरिएको हो ।





