
काठमाडौँ, जेठ ११ गते । चार पटक म्याद थप हुँदा पनि गुल्मी अस्पताल तम्घासको भवन निर्माणले पूर्णता पाउन सकेको छैन । अस्पताल भवन निर्माणको सम्झौता भएको पाँच वर्ष बितिसकेको छ । २०७८ असार १८ गते अस्पताल भवन निर्माणका लागि स्वच्छन्दरबानियाँ जेभी, मकवानपुरसँग सम्झौता गरिएको थियो । योजनाको लागत भ्याटबाहेक २५ करोड ९४ लाख रुपियाँ रहेको छ ।
सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पाका इन्जिनियर अभिषेक अधिकारीका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ७६ दशमलव ५ प्रतिशत भएको छ । सम्झौताअनुसार निर्माण व्यवसायीले २०८० असार १७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
समयमै काम सम्पन्न नभएपछि २०८० असार १८ गतेदेखि पुस १७ गतेसम्म पहिलो पटक म्याद थप गरिएको थियो । दोस्रो पटक २०८० पुस १८ गतेदेखि २०८१ पुस १७ गतेसम्म म्याद थप गरिए पनि अपेक्षित काम हुन सकेन । त्यसपछि २०८१ पुस १८ गतेदेखि २०८२ कात्तिक ७ गतेसम्म तेस्रो पटक म्याद थप गरिएको इन्जिनियर अधिकारीले बताउनुभयो ।
हाल २०८२ कात्तिक ९ गतेदेखि जेठ १७ गतेसम्म चौथो पटक समयसीमा थप गरिए पनि कामको प्रगति सन्तोषजनक नरहेको उहाँको भनाइ छ । भवनबाहिरको काम, र्याम्प निर्माण, ट्रान्सफर्मर तथा जेनेरेटर जडानको काम बाँकी रहेकाले जनशक्ति वृद्धि र निर्माण सामग्री पर्याप्त उपलब्ध गराए एक महिनाभित्र काम सम्पन्न गर्न सकिने अधिकारीले बताउनुभयो ।
निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा अस्पताल प्रशासनलाई सेवा प्रवाहमा ठुलो समस्या हुँदै आएको छ । ५० शय्यामा स्तरोन्नति भएपछि हालको भवन सेवा प्रवाहका हिसाबले पर्याप्त नरहेको अस्पतालले जनाएको छ । दैनिक औसत २५० सेवाग्राही अस्पताल आउने गरेका छन् । एउटै कोठाबाट धेरै चिकित्सकले सेवा दिनुपर्ने बाध्यता रहेको छ ।
चौतर्फी आलोचना र ताकेता हुँदासमेत निर्माण व्यवसायी अझै रङरोगन, विद्युतीय तथा फिनिसिङका काममै अल्झिएको छ ।
भारत सरकारको पूर्ण आर्थिक सहयोगमा सडक, सहरी तथा भवन निर्माण आयोजना पाल्पामार्फत योजना कार्यान्वयन भइरहेको छ । पछिल्लो समय अस्पतालले सेवा प्रवाहमार्फत कमाएको साख पूर्वाधार अभावका कारण जोगाइराख्न कठिन भएको गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विभव बस्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “काम रोकिएको पनि देखिँदैन, उल्लेख्य प्रगति पनि छैन । नयाँ सेवा विस्तारसँगै चालु सेवा प्रवाहमा पनि ठुलो समस्या सामना गरिरहेका छौँ ।”
भवन अभावकै कारण आइसियु सञ्चालन तथा मिर्गौलाको डायलाइसिस सेवा विस्तार हुन सकेको छैन । भिडियो एक्स–रे गर्न आउने बिरामीका कुरुवाका लागि बस्ने ठाउँसमेत छैन । साथै पुराना संरचना र वायरिङका कारण इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणाली सञ्चालनमा पनि समस्या भइरहेको बस्यालले बताउनुभयो ।
विशेषज्ञ सेवा र उपकरण थपेर सेवा विस्तार गर्न नयाँ भवन अपरिहार्य भए पनि पटक–पटक ताकेता गर्दा समेत निर्माण कार्यले पूर्णता नपाएको उहाँको गुनासो छ ।


















