
काठमाडौँ, वैशाख ३० गते । पाशुपत क्षेत्रको आसपासका ६४ उपलिङ्ग तथा ज्योतिर्लिङ्गको परिक्रमा गर्ने उद्देश्यले थालिएको ४२ दिने बृहत् पाशुपत पदयात्रा समापन भएको छ ।
महेश संस्कृत गुरुकुल, देवघाटधामका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको सङ्कल्पमा गत चैत १७ गते सिन्धुलीको आदिलिङ्ग कुशेश्वरको पूजा गरी सुरु भएको पदयात्रा पशुपति क्षेत्रस्थित सिद्धलिङ्ग रुद्रगारेश्वरको पूजा तथा रुद्राभिषेकपछि वैशाख २८ गते समापन गरिएको हो ।
४२ दिनको पदयात्रामा दैनिक करिब ५०-६० जना पदयात्रीले सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, मकवानपुर र काठमाडौँ जिल्लास्थित ज्योतिर्लिङ्गका पूजा आराधना गरेका थिए ।
पशुपतिका ६४ उपलिङ्ग तथा ज्योतिर्लिङ्गको प्रचारप्रसार गर्ने, बागमती (वाग्वती) को शुद्धीकरणका लागि राज्यलाई दबाब दिने, नेपाली समाजमा आध्यात्मिक जागरण ल्याई नेपाललाई गुरुराष्ट्रका रूपमा पुनःस्थापित गर्ने, किराँत, बौद्ध र हिन्दुधर्म तथा सनातन संस्कृतिबिच समन्वयको सन्देश प्रवाह गर्ने र ज्ञात–अज्ञातरूपमा राष्ट्र र राष्ट्रवासीबाट भएका देवापराध तथा शिवद्रोहप्रति क्षमायाचना गर्ने पदयात्राको लक्ष्य रहेको थियो ।
















