काठमाडौँ । चलचित्र सेन्सर बोर्डले नेपालमा प्रदर्शन हुने फिल्मलाई ती वर्गमा वर्गीकरण गरी सर्टिफिकेट दिने गर्छ । सोही सर्टिफिकेटका आधारमा ती चलचित्रका लागि दर्शकको दायरा निर्धारण हुन्छ ।
चलचित्र सेन्सर बोर्डको तथ्याङ्क अनुसार वर्षमा प्रदर्शन हुने कुल नेपाली फिल्मको ६५ प्रतिशतले युनिभर्सल (यु) सर्टिफिकेट प्राप्त गरेका छन् । यस्ता चलचित्र बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका दर्शकले हेर्न मिल्छ ।
आर्थिक वर्ष २०८०/०८१को तथ्याङ्क अनुसार यो वर्ष कुल ८१ नेपाली फिल्म सेन्सर भएको देखिन्छ । तीमध्ये ५२ वटाले ‘यु’ (युनिभर्सल) सर्टिफिकेट पाएका छन् । त्यस्तै २६ वटाले ‘पीजी’ अर्थात् ‘प्यारेन्ट्स गाइड’ र तीन वटाले ‘ए’ अर्थात् ‘एडल्ट’ वर्गको सर्टिफिकेट पाएका छन् ।
नेपालमा फिल्म रिलिज अगाडि अनिवार्य सेन्सर पासको नियम छ । जसका लागि ८ सदस्यीय केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) छ । बोर्डको अध्यक्ष र सदस्यसचिव सञ्चार मन्त्रालयका कर्मचारी हुन्छन् भने अन्य ३ सदस्य सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट नियुक्त विज्ञ छन् । बाँकी तीन सदस्यमा गृह मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र चलचित्र विकास बोर्डका प्रतिनिधि छन् ।
सेन्सर बोर्डले फिल्म हेरेर आवश्यक काटछाट सहित ‘यु’, ‘पीजी’ र ‘ए’ गरी तीन वर्गमा फिल्मको वर्गीकरण गर्दै आएको छ । केही फिल्म त यी तीन वर्गमा पनि नपर्ने समेत आउने गरेको सेन्सर बोर्डका सदस्य भुपेन्द्र.के खड्काले बताए ।
‘केही फिल्म हाम्रो प्रावधानभन्दा पनि बाहिरको आउँछन्’, खड्काले भने, ‘त्यस्ता निर्माता निर्देशकलाई हामी यसो गर्दा यो वर्गमा पर्छ भनेर सुझाव दिन्छौँ ।’ त्यस्ता कतिपय फिल्म केही काटछाँट गर्छु भनेर फिर्ता लान्छन् तर फेरि नआउने गरेको उनले सुनाए ।
‘यु’को फाइदा के ?
प्रदर्शन अनुमतिका लागि सेन्सर पुगेका सामान्य फिल्मले मात्र युनिभर्सल ‘यु’ सर्टिफिकेट पाउने गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा हात्तीछाप, चारदाम, दिमाग खराब, कौसिद, नाङ्गो गाउँ, पूजार सार्की, झुपडी, महानगर, उपहार, रातो सुटकेस, महाजात्रा, एक्टर, पसले, हिँड्दा हिँड्दै, जय हो, सतीदेवी लगायत ५२ चलचित्रले ‘यु’ (युनिभर्सल) सर्टिफिकेट पाएका छन् ।
‘यु’ सर्टिफिकेट पाएका फिल्म पारिवारिक तथा सामाजिक दृष्टिले राम्रो रहेको सन्देश जाने ‘पूजार सार्की’मा निर्माता सुवास भुसाल बताउछन् । ‘यु’ सर्टिफिकेट पाएका फिल्म बालकदेखि वृद्धसम्म सबैले हेर्न मिल्ने भन्नेसमेत बुझाउँछ’, उनले भने, ‘फिल्मको व्यवसायमा समेत यसले मद्दत गर्छ ।’
निर्माता/निर्देशक लक्ष्मण सुवेदी ‘यु’ सर्टिफिकेटले फिल्मको विषयमा राम्रो सन्देश दिने बताउँछन् । ‘यो फिल्म परिवारले नै एकसाथ बसेर हेर्न मिल्छ । राम्रो बनेको सन्देश पनि जान्छ’, सुवेदीले थपे, ‘पछिल्लो समय विश्वमै फेमिली कल्चर हराउँदै गएको छ । यसले त्यसमा पनि जोड दिन्छ ।’
आफैँ माग्छन् ‘पीजी’
नेपालमा प्रदर्शन हुने कतिपय चलचित्र हिंसात्मक दृश्य समेटिएका, बालबालिकालाई नकारात्मक सन्देश दिने खालका पनि हुने गरेका छन् । त्यस्तालाई सेन्सर बोर्डले ‘पीजी’ सर्टिफिकेट दिने गरेको छ । अर्थात् त्यस्ता चलचित्र बालबालिका स्वतन्त्रपूर्वक हेर्न पाउँदैनन् । बालबालिकाले त्यस्ता चलचित्र हेर्न चाहेमा अनिवार्य रूपमा अभिभावकसँगै हेर्न पाउँछन् ।
आर्थिक वर्ष २०८०/०८१को सेन्सर तथ्याङ्क अनुसार ‘पीजी’ (प्यारेन्ट्स गाइड) पाउने फिल्म २६ वटा छन् । तीमध्ये दुस्प्रयास, अदृश्य, फिरौती, गोर्खा वारिअर, रंगेली, चिठ्ठी, दान्भी लगायत छन् । कतिपयले फिल्म एक्सनका दृश्य भयङ्कर राख्दा ‘पीजी’ सर्टिफिकेट पाउने गरेका छन् । कतिपयले जानाजान ‘पीजी’ सर्टिफिकेटका विभिन्न दृश्य राख्ने गरेको सेन्सर बोर्डका सदस्य भुपेन्द्र खड्का बताउँछन् ।
‘हामी कतिपय फिल्मलाई यो–यो दृश्य मिलाउँदा युनिभर्सल सर्टिफिकेट दिन सकिन्छ भनेर सुझाव पनि दिन्छौँ’, खड्काले भने, ‘कतिपयले हामीलाई पीजी सर्टिफिकेट नै नै दिनुस्, पीजी भयो भने छोराले अभिभावकलाई समेत हलसम्म ल्याउँछ भन्छन् ।’
फिल्म ‘चिट्ठी’का निर्देशक माधवराज खरेल भने ‘पीजी’ले दर्शकको दायरा घटाउने बताउँछन् । ‘पीजी’ भनेको प्यारेन्ट्स गाइड हो । एक किसिमले भन्ने हो भने यो निर्मातालाई घाटा हो’, खरेलले भने, ‘अहिले जे हेर्न हुँदैन भनिन्छ, त्यो हेर्छन् ।’ यस्तो चलचित्र निर्माण गर्दा बालबालिकाको फुर्सदमा अभिभावकले भ्याएन भने अलिअलि हुने दर्शक पनि घट्ने उनी सुनाउँछन् । उनले भने, ‘युनिभर्सल भनेको सबैका लागि हो भने पीजी र एडल्ट फिल्म सबैका लागि होइन ।’
एडल्ट फिल्म कति ?
‘यु’ र ‘पीजी’को तुलनामा नेपालमा थोरै एडल्ट फिल्म बन्ने गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को सेन्सर तथ्याङ्क अनुसार यो वर्ष सेन्सर भएका ८१ नेपाली फिल्ममा ३ वटाले ‘ए’ अर्थात् ‘एडल्ट’ सर्टिफिकेट पाएका छन् । ती हुन् बाटो, जुलेबी, दि एक्पेन्डेवल ४ । एडल्ट भन्ने बित्तिक्कै १८ वर्ष माथिकाले मात्र हेर्न पाउने भन्ने बुझाउँछ । फिल्मको व्यवसायका लागि यो घाटा हो । तै पनि निर्माता यस्तो फिल्म बनाउन अगाडि सर्छन् ।
‘बाटो’ फिल्मका निर्माता चन्दन झाले मेकरको हिसाबले एडल्टलाई घाटा र नाफाको रूपमा हेर्न नमिल्ने बताए । ‘फिल्म कस्तो बनायो । त्यो किसिमले एउटा नाम पनि हुन्छ’, झाले भने । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पनि एडल्ट वर्गको फिल्म बनाउनुपर्ने उनको धारणा छ ।