असार ३१ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका विभिन्न वडामा पुग्ने भित्री सडक वर्षायाम लागेपछि अवरुद्ध भएका छन् । गाउँपालिका वडा नं. १ को धनरास–बेनीघाट, वडा नं. २ को लगाम–गोला, वडा नं. ३ को हुलाकी डाँडादेखि सिमलगैरा, सालडाँडादेखि चौभानचौर, वडा नं. ५ को मायाताल–रेक्चा, वडा नं. ६ को साल्म–कोइरालाबास र वडा नं. १० को घाटगाउँदेखि बिजौरा सडक अवरुद्ध भएका छन् ।
पालिकाको केन्द्र र वडाहरू जोड्ने सडकमा ठाउँ ठाउँमा पहिरो खसेको छ । वडा कार्यालयहरूमा पुग्ने सबै जसो नाका ठप्प छन् । वातावरण अध्ययन पूरा नगरी प्राविधिकबिना डोजरका चालकद्वारा खनिएका सडकमा जहाँतहीँ ठाउँ ठाउँमा पहिरो गएका छन् । नयाँ खनेका सडकमा वर्षाले माटो बगाएपछि सडक हो कि खोला चिन्नै नसकिने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो ।
यहाँका बासिन्दाले बर्सेनि सडकका कारण सास्ती खेपिरहनुपरेको छ । पालिका अध्यक्ष विकले गाउँपालिकादेखि सदरमुकाम पुग्ने बेलासम्म यहाँका बासिन्दाले जति अरूले सास्ती खेप्नु नपरेको बताउनुभयो । सडक हिलाम्मे भएकाले यहाँका बासिन्दालाई सदरमुकाम वीरेन्द्रनगर आउजाउ गर्नमा झनै समस्या हुने गरेको उहाँको भनाइ छ । पश्चिम सुर्खेतमै रहेको पञ्चपुरी नगरपालिकाका प्रत्येक वडामा सडक पुुगेको छ तर ती सडकमा हिउँदमा सवारीसाधन चल्छन् । ट्र्याक खुलेदेखि स्तरोन्नति नभएका सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छन् । यहाँका ग्रामीण सडक हरेक वर्ष बर्खाको समयमा बारम्बार अवरुद्ध भइरहन्छन् ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिबिच वडामा कसले पहिले सडक पु¥याउने भन्ने प्रतिस्पर्धा चल्यो । वातावरणीय प्रभाव मूल्याङ्कन र प्राविधिक लगतबिना धमाधम खनिएका सडकले अहिले यहाँका बासिन्दालाई सुविधाभन्दा पीडा दिन थालेका छन् । नगरपालिकाको वडा नंं. ५, ९, १० र ११ बाढीपहिरोको उच्च जोखिमा छन् । नगरपालिकाभर २०७१ को बाढीले ४२ जनाको मृत्यु भएको थियो भने धेरै बासिन्दा घरविहीन बनेका छन् । अहिले नगरपालिकाका विभिन्न वडामा बाटो अवरुद्ध हुने र नगरपालिकाले पहिरो पन्छाएर सवारीसाधन केही मात्रामा चल्ने गरेका छन् । लेकाली भेगमा सडक खनिएकाले पहिरोको जोखिम बढेको नगरप्रमुख लालवीर भण्डारीले बताउनुभयो ।
यसै गरी पूर्वी सुर्खेतको लेकबँेसी नगरपालिकाले नयाँ निर्माण गरेका सडकखण्ड अवरुद्ध छन् । जथाभाबी सडक खन्दा आसपासका बस्तीहरूमा पहिरोको उच्च जोखिम छ । त्यहाँका सबैजसो सडकमा पहिरो जाने गरेको हो । नगरप्रमुख उमेशकुमार पौडेलका अनुसार हचुवाका भरमा निर्माण गरिएका सडकले पहिरोको जोखिम झनै बढेको छ । प्राविधिक पक्षको ख्यालै नगरी सडक निर्माण गर्दा वडा नम्बर २ र ८ मा पहिरोको जोखिम बढेको उहाँले जानकारी दिनुभयो ।
यी केही प्रतिनिधिमूलक ग्रामीण सडकका उदाहरण हुन् । कर्णाली प्रदेशका बस्ती बस्तीमा सडक लैजाने होडबाजीका कारण सुविधाभन्दा धेरै विपत् निम्तने गरेको छ । लामो समयदेखि सडक पूर्वाधारका क्षेत्रमा काम गर्दै आउनुभएका इन्जिनियर हरि केसीले स्थानीय सरकार गठन भएयता गाउँमा सडक पु¥याउने होडबाजी चलेको बताउनुभयो । उहाँका अनुसार त्यसरी निर्माण गरिएका धेरै जसो सडकको प्राविधिक पक्षलाई बेवास्ता गरिएको छ । सङ्घीय र प्रदेश सरकार जस्तै पालिकाको प्राथमिकतामा पनि सडक पूर्वाधार पर्ने गरेको छ । बजेटको ठुलो हिस्सा सडक निर्माणमा खर्च गरिए पनि त्यसले सुविधाभन्दा बढी सास्ती हुने गरेको छ । प्रदेशका १० वटै जिल्ला पहाडी र हिमाली भूभागमा अवस्थित छन् । भौगोलिक अवस्थाका कारण पनि प्रदेशभर पहिरो जस्ता प्राकृतिक विपत्को खतरा छ । यहाँको अधिकांश जमिन भिरालो हुँदा बर्खामा होस् वा खडेरीमा पहिरो गइरहन्छ । छरिएर रहेका बस्तीमा मनपरि सडक बनाइँदा पहिरोको जोखिम उच्च हुने गरेको प्राविधिकहरूले बताएका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पहिरोबाट कर्णालीमा ठुलो मानवीय क्षति हुने गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा पहिरोमा परेर ५१ जनाको मृत्यु भयो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा १७, आर्थिक वर्ष २०७९/८० मा ४० जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको हालसम्म छ जनाको पहिरोमा परी ज्यान गएको छ ।