असार ६ गते । रुपन्देहीको तराई भूभागमा लामो समय खडेरी परेपछि सर्वसाधारणले खानेपानीको सास्ती पाएका छन् । तराईका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानीको स्रोतका लागि अझै पनि चापाकलको भर पर्दै आएका छन् तर चापाकलमा पानी आउन छोडेपछि खानेपानी जोहो गर्ने चुनौती थपिएको छ । रुपन्देहीमा एक महिनायता पानी परेको छैन । गर्मी बढेसँगै जमिनमुनिको पानीको स्रोतसमेत सुकेपछि स्थानीयलाई झनै सास्ती भएको छ । अहिले किसानले रोपाइँका लागि ब्याड राख्ने काम गरिरहेका छन् । पानी नआउँदा किसानले डिप ट्युबवेलबाट ब्याड राखेका छन् । मोटर तथा पम्पिङ सेटबाट जमिनमुनिको तानेर ब्याड राख्दा चापाकल सुकेका हुन् । वातावरणविज्ञ युवराज कँडेल पश्चिम तराईमा दुई महिनायता पानी नपरेका कारण जमिनमुनिको पानी सुक्दै गएको र पछिल्लो समय किसानले रोपाइँका लागि ब्याड राख्न जमिनमुनिको पानीमा भर पर्नुपरे पछि चापाकल सुकेको बताउनुहुन्छ ।
रुपन्देहीको गैडहवा–४ कि मनकुमारी थारू विगत एक सातायता चापाकलमा पानी आउन छोडेपछि पानीकै लागि निकै सास्ती भोग्नु परेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “लामो समयसम्म पानी नआएका कारण जमिनमुनिको पानीसमेत सुकेको छ । चापाकल सुक्दै गएकाले पानीकै लागि अर्को गाउँ जानुपर्ने अवस्था आयो ।”
चापाकल सुक्दा छिमेकी शुद्धोधन गाउँपालिका–१, सिसैका स्थानीयसमेत निकै मर्कामा परेका छन् । सिसैमा चापाकलमा पानी आउन छाडेको दुई साता पुगेको स्थानीय बताउँछन् । शुद्धोधन–१ की सरस्वती पौडेलले बढ्दो गर्मीका कारण चापाकल सुक्दै गएकाले खाना पकाउन, कपडा धुन तथा गर्मीमा सरसफाइमा समेत बाधा पुगेको बताउनुभयो ।
रुपन्देहीका १६ स्थानीय तहमध्ये आठ वटा पालिकाका सर्वसाधारण खानेपानीका लागि चापाकलको पानीमै भर परेका छन् ।