घोडाघोडी (कैलाली), कात्तिक ३ गते । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–४, जनकपुरका ७५ वर्षीय हरिकृष्ण न्यौपाने शव कहिले आउँछ भन्दै बारम्बार सोधिरहनुहुन्छ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी उहाँका छोरा नारायणको मृत्यु भएको दुई हप्ता बितिसकेको छ ।
छोराको शव आउने खबर सुनेदेखि आफूलाई न त दिनमा भोक, न रातमा निन्द्रा लाग्ने गरेको पीडा उहाँ सुनाउनुहुन्छ । घरमा सान्त्वना दिन आउने आफन्त तथा इष्टमित्रलाई उहाँले प्रश्न गर्नुहुन्छ, मेरो छोराको शव कहिले आउँछ । त्यहाँ पुग्ने जो कोहीले अब शव आउँछ, सरकारले जसरी नि ल्याउने भनेको छ भन्दै न्यौपाने परिवारलाई सान्त्वना दिने र सम्झाउने गर्छन् । नारायणका बुबा मन थाम्न नसकेर भक्कानिनुहुन्छ ।
आमा सीता न्यौपानेको अवस्था पनि त्यस्तै छ । कमाएर सुख दिने बेला छोरा गुमाउनु पर्दाका पीडा उहाँहरू व्यक्त गर्न सकिरहनुभएको छैन । छोराको मृत्युको खबर सुनेदेखि भोक, निद्रा केही नभएको भनाइ उहाँको छ । आफ्नै कोखबाट जन्म नदिए पनि आमा सीताले गर्ने माया नारायणका लागि कहिल्यै पनि दुईबाट एक भएन । इजरायलमा छोराको मृत्यु भएको खबर पाएकी सीतालाई त्यो खबर सत्य नभइदिए हुन्थ्यो भन्ने लागिरहेको छ तर पत्याउनुपर्ने नै हुन्छ ।
असोज २० गते शनिबार प्यालेस्टाइनी विद्रोही समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । तीमध्ये घोडाघोडी नगरपालिका–४ का नारायण न्यौपाने एक हुन् । मृतक नारायणका बुवा हरिकृष्ण पीडाकै कारण कोही कसैसँग त्यति बोल्ने मन पनि गर्नुहुन्न । आमा सीता भने मन दरो बनाएर वृद्ध श्रीमान्लाई बेला बेला सम्झाउने गर्नुहुन्छ । सीताले मृत्यु भएको यतिका दिनसम्म छोराको शव नआउँदा दुःख लागेको बताउनुहुन्छ ।
दसैँको मुखमा गाउँबाहिर गएका छिमेकीका छोराहरू घर फर्किंदै गर्दा न्यौपाने परिवारमा भने शोक छाएको छ । कृषि पढेर सिप सिक्न गएको छोरा विदेशको भूमिमा अस्ताएको घटनाले ठुलो चोट परेको भनाइ आमा सीताको छ । छोराको मृत्यु भएको पीडा एकातर्फ त छँदै छ, शव समयमा नआउँदा परिवारमा थप पीडा भएको छिमेकी यशोदा बमले बताउनुभयो ।
धान खेती भित्र्याउने कामको चटारो छ, गाउँका सबै मानिस काममा व्यस्त हुन थालेका छन् तर न्यौपाने परिवारमा कुनै चहलपहल नभएको बमले बताउनुभयो । पढ्दै कमाउँदै गर्न इजरायल गएको एक महिना नपुग्दै नारायणको मृत्यु भएको हो । नारायणकी काकीआमा दुर्गा न्यौपानेले भन्नुभयो, “समयमा शव नआउँदा पनि दुःख लागेको छ । छ वर्षको उमेरमा जन्म दिने आमा गुमाएका नारायण दुःख गरेरै हुर्किएको आफन्तहरू बताउँछन् । स्थानीय छिमेकीले पनि शव समयमा नै आइदिएको भए केही सहज हुने बताएका छन् ।