अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाच सुरु भएको छ। नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म नाचिन्छ।
यो नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा प्रचलित छ। यसमा काल भैरव मुख्य मानिन्छन् भने श्वेत भैरव र रातो भैरव सहायक हुन्छ। साथमा डंकिनी पनि हुन्छ। भैरवको स्वरूपमा हुने यस नाचका नर्तकलाई भगवान्को प्रतीकका रूपमा पूजा गरिन्छ। डंकिनीलाई नारी स्वरूपको रूपमा पूजा गरिन्छ।
तीनवटै भैरव आफ्नो भूमिका अनुसारका रङमा खप्पर, कपडा, चौंरी गाईको पुच्छर, मालासहित शृंगार गरी भगवान्को आकृतिमा सजिएका हुन्छन्। पुरुष नर्तक महिलाको भेषमा शृंगार गरेको हुन्छ, जसलाई डंकिनी भनिन्छ। डंकिनीको भूमिका नखुले पनि भैरव नाचको अभिन्न अंगका रूपमा रहँदै आएको छ।
भैरव नाच सात तालसम्म नाचिन्छ। सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ। सातवटै ताल (पटक) को लय फरकफरक हुन्छ। नाचलाई थप रोचक बनाउन लाठी नाच, घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाच, भालु नाच, भुच्याङलगायत हास्यव्यङय विधा मिसाएर नाचलाई थप रोचक र रमाइलो बनाइएको हुन्छ।
भूमिकास्थान नगरपालिका ८ हटियाको संरक्षणमा रहेको नुवाकोट भैरव समाजको भैरव नाच हटिया बजारबाट शुभारम्भ गरिएको समाजका अध्यक्ष रामचन्द्र श्रेष्ठले बताए। ‘श्रीकृष्ण जन्माष्टमीको दिनदेखि सुरु हुन्छ,’ उनले भने, ‘तिहारको मादल बज्नुअघि यसलाई विसर्जन गर्नुपर्छ।’
रातमा मात्र नाचिने यो नाँच हेर्न हजारौं दर्शकको उपस्थिति रहेको थियो। भैरव नाच नेवार समुदायमा मात्र नभई अन्य समुदायमा पनि लोकप्रिय छ। अर्घाखाँचीको भैरव नाँच छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रूपन्देहीलगायत काठमाडौंमा समेत लोकप्रिय छ। विभिन्न सम्पर्क समाजको आयोजनामा बाहिरी जिल्लामा पनि भैरव नाच देखाउने गरिएको छ।
अर्घाखाँचीको डिभर्ना, पटुवाथुम, लात्तेबाज र नुवाकोटबाट यो नाच निकालिँदै आएको छ। युवा पुस्ताको अभावमा यो नाँच विस्तार हुन सकेको छैन। परम्परागत रूपमा देखाउने गरिए पनि यसको संरक्षण र विस्तारमा चुनौती देखिएको छ।