डोल्पाको दुनैस्थित नन्द बक्स ब्यारेकमा कार्यरत मेजर विमल पण्डित सम्पर्कविहीन भएको दुई साता बितिसक्दा पनि अवस्था अझै अज्ञात छ । गत १० भदौमा सदरमुकाम दुनैबाट ‘इभिनिङ वाक जान्छु’ भन्दै साँझपख गुल्म छोडेका पण्डितको अवस्थाबारे केही तथ्य पत्ता नलागेपछि परिवार चिन्तामा परेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भएका मेजर पण्डितले बेपत्ता हुने दिन साँझ त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट बजारमा २६ हजार साटेका थिए । त्यसपछि उनले नजिकै रहेको पसलमा झोला, चप्पल, रुमाल र अन्डरवेयर किनेका थिए । उनले त्रिपुराकोटमै रहेको फोक्सुण्डो भरणा होटेलमा मोबाइल चार्ज गरेको र कोठाबारे सोधपुछ गरेका थिए ।
‘६ नबज्दै मेजरसाप होटेलमा पुग्नुभएको थियो । सुरुमा मोबाइल चार्ज गर्नुभयो, त्यसपछि कोठा खाली छ–छैन भनेर सोध्नुभयो । त्यसलगत्तै लोकल अल्कोहल पाइन्छ कि पाइँदैनन्, बोतलमा लिन पाइन्छ कि पाइँदैन भनेर पनि सोध्नुभयो,’ होटेल सञ्चालक पूर्णिमा बोहोराले भनिन्, ‘कोठा पनि खाली छ भनेँ । झोला किन्ने पसलबारे सोध्नुभयो । मैले नजिकैको पसल देखाएँ, तर त्यहाँ नकिनेर पुलपारिका पसलमा जानुभएछ । झोला किनेर फर्किसकेपछि मोबाइल हेर्नुभयो, २३ प्रतिशत मात्र चार्ज भएको थियो । त्यसैवेला प्रदेश मन्त्री र प्रहरीहरूको टोली आयो, उहाँ लगत्तै होटेलबाट निस्कनुभयो ।’
मेजर पण्डितलाई दुनैबाट त्रिपुराकोट लैजाने चालक नगेन्द्र बस्नेतले त्रिपुराकोट गाडी जान्छ–जान्न भनेर सोधेको बताए । ‘मेरा केही प्यासेन्जर पनि थिए, आधा टिकटक बनाउन गएका थिए, गाडी नौ सिटको भएकाले पूरै यात्रु पुगेका थिएन, बाँकी यात्रु कुरेर बसेको थिएँ । मेजरसाबले रिजर्भमा जाउँ भन्नुभयो । त्यसपछि त्रिपुराकोट हिँड्यौँ । मैले डिएसपीलाई भनेको छु, गाडी कुनै चेकपोस्टमा रोक्नुपर्दैन पनि भन्नुभयो । उहाँलाई देख्दा लाग्थ्यो हतारमा हुनुहुन्थ्यो, हतार होला भनेर गाडी पनि हुइँकाएको थिएँ,’ उनले भने ।
त्रिपुराकोट बजार पुगेपछि पण्डितले क्यास पैसा नभएकाले मोबाइल बैंकिङमार्फत ६ हजार पाँच सय रुपैयाँ दिएको बस्नेतले बताए । ‘त्यसपछि म दुनैतर्फ फर्केँ, भेत्ती पुगेपछि सेनाको गाडीले रोक्यो, मेजरसापलाई लिने गाडी यो होइन भनेर सोधपुछ गर्यो । मैले हो भनेँ, त्यसपछि जानुस् भन्यो, म हिँडे । मलाई त्यतिवेला मात्र थाहा भयो सेनाको मेजर भनेर । जिल्लाबाहिरको भएकाले मैले कुनै नगरपालिकाको मेयर नै सम्झेको थिएँ,’ उनले भने । मेजर पण्डितले पर्स, एटिएम कार्ड सबै ब्यारेकमै छाडेर हिँडेका थिए ।
बेपत्ता मेजर पण्डितका ६ जनाको परिवार छ । उनका भाइ हाल परिवारसहित पोर्चुगल छन् । पण्डितकी श्रीमती सुदिना पण्डित सिद्धार्थ बैंकमा जागिरे छिन् । ‘के कस्तो छ, खाजा खायौ, अफिस आयौ भनेर फोन गरिरहनुहुन्थ्यो । त्यस्तो मनमुटाव नै हुने गरी कहिल्यै झगडा पनि भएको थिएन,’ सुदिनाले भनिन्, ‘त्यही दिन मलाई बजारतिर छु भनेर भन्नुभएको थियो, अरू त्यस्तो केही कुरा भएन । ड्राइभरले भनेको कुरा सत्य मान्ने कि मिडियाले भनेको कुरा सत्य मान्ने ? यदि अप्ठ्यारो परेजस्तो भए ड्राइभरले पनि नछाड्नुपर्ने हो । जसरी हुन्छ मलाई मेरो श्रीमान् चाहियो ।’
परिवारका अनुसार पण्डितमा कहिलेकाहीँ रातिमा उठ्ने समस्या थियो । केही वर्षअघि घरबाट निद्रामा उठेर हिँड्न खोजेपछि आमाले रोकेको उनकी बहिनी निरु पण्डितले नयाँ पत्रिकालाई बताइन् । ‘त्यसको भोलिपल्टै छाउनीस्थित वीरेन्द्र अस्पताल लगेर चेक पनि गराइयो । डाक्टरले खाने औषधि दिनुभयो । अरू त्यस्तो केही समस्या थिएन,’ उनले भनिन् ।
निरुका अनुसार यसअघि मेजर विमल पण्डित नारायणहिटी दरबारमा कार्यरत थिए । ‘त्यसवेला त्यहाँभित्र लफडा पनि परेको रहेछ । यही भएर दाइलाई डोल्पा पठाइएको हो भनेर आमाले भन्नुभयो । यदि दाइ डोल्पा नगएको भए त्यस्तो हुन्थेन होला,’ उनले भनिन् । अनुसन्धानका क्रममा ब्यारेकमा रहेको उनको कोठाबाट डिप्रेसनको औषधि पत्ता लागेको परिवारले जनाएको छ ।
बेपत्ता मेजर पण्डितको खोजीका लागि कर्णाली प्रदेश सभामा कुरा उठेको छ । डोल्पा प्रदेश (२) बाट निर्वाचित सांसद वीरबहादुर शाहीले सोमबारको प्रदेश सभामा पण्डितको खोजी गर्न माग गर्दै कुरा उठाएका थिए । उनले बेपत्ता मेजरको खोजीका लागि सरकारलाई आग्रहसमेत गरे । नन्द बक्स गुल्म डोल्पा ब्यारेकका मेजर रवि शाहले पण्डितको खोजीकार्य जारी रहेको बताए ।